Logo

कालिगण्डकी जलाशययुक्त आयोजनाको ईआईए प्रतिवेदन अन्तिम चरणमा

पर्वत– ६४० मेगावाट क्षमताको बहुचर्चित कालिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढेको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंँचाइ विकास मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले आयोजनाको काम अघि बढाएको हो । नेपालकै ठूलो जलविद्युत आयोजनाको रूपमा प्रस्ताव गरिएको आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्न थालिएको छ ।

प्रतिवेदन तयारीका लागि प्रभावित क्षेत्रका वासिन्दाहरुसँग सार्वजनिक सुनुवाइ गरी रायसुझाव लिन थालिएको छ । बागलुङ, पर्वत, स्याङ्जा र गुल्मी जिल्लाबाट बग्ने कलिगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्यका साथ प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्ट अन्तिम चरणमा पुगेको छ ।

पर्वतको कुश्मा नगरपालिकाका ११ वटा वडा, फलेवास नगरपालिकाका ६ वटा वडा, विहादी गाउँपालिकाका २, जलजला गाउँपालिकाको वडा नं. ८, बागलुङ जिल्लाको बागलुङ नगरपालिकाका ६ वटा वडा, जैमिनि नगरपालिकाका चारवटा वडा र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ६ र स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. ५ र ६ का बासिन्दाबीच सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ ।

आगामी कात्तिक ७ गतेदेखि १३ गतेसम्म सात स्थानमा सार्वजनिक सुनुवाइमार्फत् स्थानीय नागरिकको सुझाव संकलन गरेर रिपोर्टलाई अन्तिम रूप दिने तयारी भइरहेको विद्युत विकास विभागले जनाएको छ । विद्युत विकास विभागले चार वर्ष अघिदेखि सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत् परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेसनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएको थियो ।

ती दुई संस्थाले वातावरणीय प्रभाव मूल्यांकनका साथै क्षेत्र निर्धारणको काम टुंगो लगाएका हुन् । विद्युत विकास विभाग प्रस्तावक रहेको यस आयोजनाको प्रभावित क्षेत्र, डुबान क्षेत्र, बाँध र विद्युतगृह निर्माण गर्ने क्षेत्र निर्धारण भइरहेको छ । आयोजना अबको सातदेखि १० वर्षमा सम्पन्न गर्ने गरी अध्ययन भइरहेको छ ।

नेपालकै अन्य जलाशययुक्त जलविद्युत आयोजनाभन्दा ठूलो, सस्तो र कम क्षति पुर्‍याउने उक्त आयोजना देशकै नमुना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिइएको फलेवास नगरपालिकाका पूर्वप्रमुख पदमपाणि शर्माले बताए । आफू फलेवास नगरपालिकाको प्रमुख निर्वाचित भएपछि दीर्घकालीन योजनाको रूपमा प्रस्ताव गरेको योजनाले मूर्तरुप लिएको उनको भनाइ छ ।

उनका अनुसार यो परियोजना निर्माणपछि दुई सय मिटर गहिराइ र ३६ किलोमिटर लामो जलाशय बन्ने भएको छ । जलाशयमा जलयातायत सञ्चालनको राम्रो सम्भावना रहेको छ भने व्यावसायिक माछा पालन, नेपालकै पर्यटको मुख्य केन्द्र बन्नुका साथै रोजगारीको अवसरसमेत वृद्धि गर्ने भएको छ ।

अहिले अध्ययन भइरहेको उक्त आयोजना निर्माण गर्न पर्वत जिल्लाको बिहादी गाउँपालिका–६ र गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकामा बाँध बनाइनेछ भने बिहादीकै वडा नं ६ मा बाँधभन्दा झण्डै चार किलोमिटर तल विद्युतगृह निर्माण गरिने प्रारम्भिक अध्ययनमा उल्लेख गरिएको छ ।

बिहादीमा दुई सय मिटर अग्लो बाँध बनाएर कालिगण्डकी नदी थुन्दा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ नयाँपुलसम्म पानी जम्मा हुनेछ । उक्त आयोजना निर्माणका लागि पर्वत, बागलुङ, गुल्मी र स्याङ्जाका संघीय सांसदले दबाब दिँदै आएका थिए । कालिगण्डकी नदीमा जलपर्यटन, विद्युत उत्पादन तथा सिँचाइलगायत बहुउद्देश्यीय दृष्टिकोणले आयोजना सञ्चालन गर्न सम्भव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्