बेवारिसे मोबाइल भ्यान आजबाट सञ्चालनमा

काठमाडौं– वर्षाैंदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चौरमा बेवारिसे बनेका मोबाइल भ्यान बुधबारबाट सञ्चालनमा आउने भएको छ । लामो समयदेखि विभागको चौरमा थन्क्याइएका मोबाइल भ्यान मर्मत गरी सञ्चालन गर्न लागिएको हो । खाद्य स्वच्छताका लागि बजार अनुगमन गर्न करोडौँ रुपैयाँमा खरिद गरेका मोबाइल भ्यान सञ्चालन गर्न कृषि मन्त्रालयले दिएको पटक पटकको निर्देशन अटेर गरेपछि मतिना जोशी वैद्य मन्त्रालयमा काजमा तानिएकी थिइन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले करिब एक महिनाअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकबाट हटाएर मन्त्रालयमा तानेका थिए । उक्त जिम्मेवारीमा सहसचिव सञ्जिवकुमार कर्णलाई पठाएपछि विभागको चौरमा बेवारिसे बनेका भ्यान मर्मत गरी बजारमा अनुगमनका लिने तयारी विभागले गरेको हो ।
विभागका महानिर्देशक कर्णले पहिलो चरणमा दुई वटा भ्यान मर्मत गरी बुधबारबाट काठमाडौं उपत्यकाको अनुगमनका लागि लगिने जानकारी दिए । दोस्रो चरणमा अर्काे दुई वटा भ्यानलाई पनि मर्मत गरी छिटै सञ्चालनमा ल्याउने उनले बताए । असोज १६ गते बिहान ११ बजेबाट विभागले मोबाइल भ्यान बजारमा अनुगमनमा लिने कार्यक्रम रहेको उनले जानकारी दिए । ल्याबसहितका भ्यानले बजारमा अनुगमन गर्दा खाद्य वस्तु खान्न योग्य छ छैन तत्काल जानकारी दिन सकिने उनले बताए ।
व्यवसायीले उपभोक्तालाई बिक्री वितरण गर्दै आएको खाद्य वस्तु खाद्य योग्य छ वा छैन भनेर अनुगमन स्थलमै सबै जानकारी लिने सकिने महानिर्देश कर्णले जानकारी दिए । ल्याबसहितमा मोबाइल भ्यानसहित अनुगमन गर्दा बजारमा बिक्री हुने अखाद्य वस्तु नियन्त्रण गर्ने धेरै सहयोग पुग्ने महानिर्देशक कर्णको भनाइ छ । यसअघि विभागको जिम्मेवारीमा वैद्यमा हुँदा मोबाइल भ्यान सञ्चालनमा ल्याउन मन्त्री र सचिवले दिएको निर्देशन दिएका थिए ।
तत्कालीन कृषिमन्त्री ज्वालाकुमारी साह र बेदुराम भुसालले मौखिक रूपमा पटक–पटक भ्यान चलाउन निर्देशन दिएका थिए । मन्त्रालयले मोबाइल भ्यान सञ्चालन गर्न गत जेठ १८ मा लिखित निर्देशनसमेत दिएको थियो । दुई वर्षदेखि पटक पटक मौखिक र लिखित निर्देशन दिँदा पनि वैद्यले अटेर गर्दै आएकी थिइन् । वैद्यले भने भ्यान खरिदको विषय अदालतमा पुगेकाले सञ्चालनमा ल्याउन नसकिने बताउँदै आएकी थिइन् ।
सरकारले बजार अनुगमन प्रभावकारी बनाउन २०७५ वैशाखमा चार मोबाइल भ्यान खरिद गरेको थियो । प्रतिभ्यान करिब ७ करोडका दरले २८ करोड रुपैयाँमा खरिद गरिएको थियो । विभागले दुई र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २ वटा भ्यान खरिद गरेका हुन् । भ्यान खरिदमा आपूर्तिकर्ता र विभागका केही कर्मचारीको मिलेमतो भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दा दायरपछि विभागले मोबाइल भ्यानमार्फत बजारमा अनुगमन नगरी बेवारिसे रूपमा फालेको हो । यसअघि विशेष अदालतले मोबाइल भ्यान सञ्चालन गर्न विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २०७९ वैशाख २५ मा नै आदेश दिएको थियो । सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमन प्रभावकारी बनाउने नाममा २८ करोड खर्चेर ४ वटा मोबाइल भ्यान खरिद गरेको पाँच वर्ष भइसकेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि दैनिक रूपमा बजारमा घुम्नु पर्ने यी मोबाइल भ्यान पाँच वर्षदेखि विभाग परिसरमा थन्किएका थिए ।