उत्पादन घटेपछि अलैँचीको मूल्य वृद्धि

लमजुङ– लमजुङमा अलैँची उत्पादन घटेपछि मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षमा मात्रै प्रतिकिलो पाँच सयको हाराहारीमा रहेको अलैँचीको मूल्य यसवर्ष प्रतिकिलो दुई हजारसम्म पुगेको हो । दशकअघि प्रतिकिलो दुई हजारभन्दा बढी रुपैयाँ मूल्य रहेको अलैँची गत वर्षसम्म आइपुग्दा प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री भएको थियो । तर, यसवर्ष अलैँचीको मूल्यमा भारी वृद्धि भएको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।
उच्च लेकमा लगाइएको अलैँची बिक्री वितरण हुने समय अझै बाँकी रहेकोले मूल्यमा अझै वृद्धि हुनसक्ने अलैँची व्यवसायी महासंघ लमजुङका पूर्व अध्यक्ष एवं अलैँची व्यवसायी अजय तामाङले बताए । अलैँची व्यवसायी महासंघका अनुसार विगत वर्षको तुलनामा पछिल्ला वर्षमा जिल्लामै अलैँची उत्पादनमा भारी गिरावट हुन थालेको छ । अलैँचीका लागि आवश्यक मौसम अनुकूल नहुँदा विभिन्न प्रकोपले उत्पादनमा भारी गिरावट हुन थालेको कृषकहरूले बताएका छन् ।
यो बाहेक गत वर्षहरूमा अलैँचीको मूल्यमा समेत गिरावट आएपछि कृषकहरू आँफै पनि अलैँची खेतीतर्फ कम आकर्षित भएका हुन् । हाल अलैँचीको मूल्यमा भारी वृद्धि भएपछि कृषकहरू पुन: अलैँचीतर्फ आकर्षित हुने सम्भावना बढेको छ । जिल्लाबाट गत आर्थिक वर्षमा मात्रै दुई सय ५१ टन अलैँची बिक्री भएको थियो । जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको भए पनि तीन सय ७५ हेक्टर क्षेत्रफलमा लगाइएको अलैँचीबाट मात्रै उत्पादन र बिक्री भएको थियो ।
यसैवीच अलैँची टिप्ने सिजन सुरु भएसँगै लमजुङका लेकाली क्षेत्रका किसानहरू अलैंची टिप्न व्यस्त बनेका छन् । किसानहरूले भदौ लागेसँगै सात सयदेखि १२ सय मिटर उचाइसम्मको जमिनमा लगाइएको अलैँची टिप्ने गर्छन् । सोही बमोजिम यसवर्ष पनि अलैँची टिप्न सुरु भएको अलैँची व्यवसायी महासँघ लमजुङले जनाएको हो । उचाइ अनुसार फरक–फरक समयमा अलैँची पाक्ने हुँदा सोभन्दा माथिल्लो क्षेत्रमा लगाइएको अलैँची असोज दोस्रो साता लागेपछि मात्रै टिप्न सुरु गरिन्छ । भदौबाट सुरु भएको अलैँची काट्ने कार्य माथिल्लो भेगसम्म पुग्दा कात्तिक महिनासम्म लाग्ने व्यवसायीहरूले बताएका छन् ।
नेपालका ३० भन्दा बढी जिल्लामा उत्पादन हुने अलैँचीमध्ये लमजुङमा उत्पादित अलैँची स्वादिष्ट, गुणस्तरयुक्त र आकर्षक भएको भेटिएको थियो । हावापानीको दृष्टिकोणले लमजुङमा अलैँचीको सम्भावना निकै राम्रो र उपयुक्त मानिए पनि गत वर्षहरूमा मौसम प्रतिकूल हुँदा अपेक्षित उत्पादन हुन सकेको छैन । व्यावसायिक रूपमा अलैँची खेती गरेका कृषकहरूले चाडपर्व मनाउन छोडेर अलैँची टिप्ने र सुकाउने गर्छन् । जिल्लाको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यावसायिक अलैँची खेती हुने गरेको छ ।