डिम्याट नहुनेले पनि अपर तामाकोसीमा सेयर भर्न पाउने

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर हाल्न चाहने स्थानीयवासी (दोलखाली)ले डिम्याट खाता नभए पनि सेयर भर्न पाउने भएका छन् । आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको सेयरमा स्थानीयका लागि तत्काल यस्तो सुविधा दिन लागेको हो ।
धितोपत्र ऐन २०७३ मा सेयरमा लगानी गर्नका लागि डिम्याट खाता अनिवार्य भए पनि आयोजना प्रभावितका लागि अनिवार्य नभएको अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि सेयर आव्हानपत्र प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएकाले चैतभित्रै सेयर संकलन हुने जानकारी दिए ।
माथिल्लो तामाकोसीमा आयोजना प्रभावित दोलखा जिल्लावासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधारणबाट १ अर्ब ५८ करोड ८५ लाख उठाउनु पर्छ । तर अहिलेसम्म आयोजनाका लागि यो रकम उठेको छैन । “बाहिर विभिन्न समाचार आए पनि त्यसको पछि नलाग्न आग्रह गर्छु,” आयोजना प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, “डिम्याट खोल्दा पछि आफैंलाई सजिलो हुन्छ, तर डिम्याट नभएर सेयर लगानी नै गर्न पाइँदैन भन्ने कुरामा कुनै सत्यता छैन ।”
पछिल्लो समय डिम्याट नहुँदा माथिल्लो तामाकोसीमा लगानी गर्न नपाउने हो कि भन्नेमा स्थानीय अन्योलमा परेका छन् । डिम्याट खाता र बैंक खाताका लागि विभिन्न बैक तथा ब्रोकर कम्पनीले गाउँगाउँमा सेवा पुराउन थालेका छन् । दोलखामा २०७१ सालमा गरेको सर्वेक्षणअनुसार २ लाख ८५ हजार सेयर लगानीका लागि योग्य नागरिक रहेका छन् ।
दोलखाको सर्वपक्षीय समन्वय समितिले सबैलाई बैंक खाता भने अनिवार्य गरेको छ । प्रमुुख कार्यकारी अधिकृत श्रेष्ठले न्यूनतम सेयर लगानीकर्ताका लागि बैंक खाता पनि नभए पनि हुने गरी कम्पनीले पहल गरी रहेको बताए । आयोजनामा लगानी गर्नका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा कम्पनी रहेको छ ।
आयोजनाका लागि प्रभावित क्षेत्र दोलखावासीका लागि २०७१ फागुनदेखि नै सेयर संकलन गर्नका लागि आव्हानपत्र समेत निष्काशन भएको थियो । तर आयोजना प्रभावित क्षेत्र र मजदुरले समेत थप सेयरको माग राख्दै काम बन्द गरेपछि सेयर संकलन प्रक्रिया स्थगित भएको थियो । पछि २०७२ वैशाख १२ गते भूकम्प गएपछि यो प्रक्रिया पूरै रोकियो ।
“त्यसबेला आयोजनाका लागि २०७२ वैशाखसम्म दोलखावासीको र असारसम्म सर्वसाधारणका लागि छुट्याएको सेयर संकलन गर्ने योजना थियो,” कम्पनी सचिव रामसुन्दर श्रेष्ठले भने, “त्यसपछि अहिलेसम्म त्यो रकम उठाउन सकेका छैनौं ।” जिल्लावासीको सेयर संकलन नगरेसम्म सर्वसाधारणको सेयर संकलन गर्न पाइँदैन । जिल्लावासीको सेयर संकलन गर्नका लागि विभिन्न कारणले सेयर संकलन ढिला भएर गत कात्तिक ३० गतेमात्र कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नागरिक लगानी कोष र सनराइज क्यापिलटललाई नियुक्त गरेको छ ।
आयोजना प्रभावितहरूलाई ३ वर्गमा विभाजन गरेर सेयर लगानी गर्न पाउने व्यवस्था गरेको छ । आयोजना अतिप्रभावित जहाँ आयोजनाको मुहान र सम्पूर्ण संरचना बन्छ त्यहाँ क वर्गमा राखेको छ । क वर्गमा साविकको लामाबगर र गौरीशंकर गाविस पर्छ । प्रवेश मार्ग र प्रसारणलाइनले छोएका गाविसलाई ख र बाँकीलाई ग वर्गमा विभाजन गरेको छ ।
आयोजनाको सेयर संरचनाअनुसार नेपाल विद्युत् प्राधिकरण ४१%, नेपाल टेलिकम ६%, नागरिक लगानी कोष २%, राष्ट्रिय विमा संस्थान २%, कर्मचारी सञ्चय कोष १७.२८%, सर्वसाधारण १५%, कर्मचारी सञ्चयकोषका कर्मचारी २.८८%, कम्पनी र विद्युत् प्राधिकरण कर्मचारी ३.८४% र स्थानीय दोलखा जिल्लावासीको १० प्रतिशत शेयर रहेको छ ।
आयोजनामा दोलखावासी र सर्वसाधारणको २५ प्रतिशतबाहेक सबैले लगानी गरेका छन् । कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकर्ताहरू, टेलिकम, बिमा संस्थान, नागरिक लगानी कोष, विद्युत् प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी २०७१ फागुनसम्म नै सेयर संकलन भइसकेको छ ।
आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर पुँजी ११ अर्ब ५९ करोड रहेको छ । बैंकको व्याजबाहेक ३५ अर्ब २९ करोड लागत अनुमान गरेको आयोजनामा लागत बढेर ४६ अर्बसम्म पुग्ने प्रक्ष्येपण गरिएको छ । आयोजनाको हालसम्म ९४ प्रतिशत काम पूरा भएको छ भने ३९ अर्ब जति खर्च भइसकेको छ ।