११ पुलसहित ४३ राजमार्ग अवरुद्ध
दशैंअघि पुलबाहेक सडक मर्मत गरेर यातायात सुचारु गर्छौं: सडक विभाग
काठमाडौं– गएको शुक्रबार र शनिबार निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले सडक सञ्जालमा व्यापक क्षति पु¥याएको छ । अधिकांश सडक अवरुद्ध छन् ।
नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन १० दिनमात्र बाँकी भएको अवस्थामा सडक सुचारु हुने–नहुनेमा सबै अन्योल बनेका छन् । सरकारी अधिकारीहरुले भने दशैंअघि नै सबै सडक सुचारु गर्ने गरी युद्धस्तरमा काम गरिरहेको बताएका छन् ।
काठमाडौंबाट दशैंका लागि थातथलो जाने सर्वसाधारणका लागि सहज बनाउन सडक विभाग लागिपरेको विभागका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुलबाहेक अवरुद्ध सडक मर्मत गरेर यातायात सुचारु गर्न विभागले दिनरात काम गरिरहेको छ ।
पछिल्लो दुई दिनको वर्षाले मात्र आइतबार रातिसम्म ४७ स्थानमा यातायात अवरुद्ध भएको थियो । हाल त्यो संख्या ३३ मा झरेको उनले बताए । यातायात अवरुद्ध भएका ११ वटा राजमार्ग छन् । ‘विभागले घटस्थापनाको दिनसम्म मुलुकभरका सबै सडक सुचारु गर्ने योजना बनाएको थियो । तर, बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डको दुम्जा प्रहरी चौकी नजिक रोशी खोलाले बगाएको सडक पुनर्निर्माण गर्न समय लाग्ने देखिएको छ । यो खण्डमा करिब २ किलोमिटर नै सडक बगाएको छ । रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर ट्रयाक बनाउने काम भने भइरहेको छ,’ उपमहानिर्देशक श्रेष्ठले भने ।
सडकमा पहिरो तथा ठाउँठाउँमा अवरोध र सडक नै बगाएकाले यो खण्डको सडकमा ट्रयाक खोल्न विभाग लागिपरेको छ । नेपालथोक सहितको सो सडक खण्डमा आधा दर्जन स्थानमा रोशीको बाढीले पूर्ण क्षति गरेको उपमहानिर्देशक श्रेष्ठले बताए । उनले भने, ‘यो खण्डमा पुनः यातायात सञ्चालन गर्न लागिपरेका छौं । दशैंमा तराईको यात्रा गर्ने यात्रुको सहजताका लागि ट्रयाक बनाएर भए पनि यातायात सुचारु गर्ने विभागको तयारी छ ।’ नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर र रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना क्षेत्रमा ५ सय मिटर हाराहारी सडक पूर्ण रूपमा क्षति भएको विभागले जनाएको छ । बीपी राजमार्गका नेपालथोक–खुर्कोट, खुर्कोट–सिन्धुलीमाडी र सिन्धुलीमाडी–बर्दिवास सडक खण्ड भने नदीले कटान गरेका र सडक भासिएका स्थानमा डाइभर्सन गरेर यातायात सुचारु गरिएको विभागले जनाएको छ ।
हाल ३३ स्थानमध्ये चतरा–मूलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक (तमोर करीडोर) मोरङको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने १७ नम्बरमा पहिरो गएका कारण सडक अवरुद्व छ ।
यसैगरी हेटौंडा–बागमती–टिकाभैरव–भैंसेपाटी–एकान्तकुना (कान्ति राजपथ), बर्दवास–सिन्धुली–खुर्कोट–धुलिखेल (बीपी राजमार्ग) बन्द हुँदा छोटो दूरीमा काठमाडौं जोड्ने सडकको सञ्जाल बन्द भएको छ । त्यस्तै केचना–चन्द्रगढी जोड्ने ताप्लेजुङ–ओलाङ्चुङ्गोला अन्तर्गतको मेची राजमार्ग, काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) र भेडेटार–रवि–राँके सडक पनि अवरुद्व छन् ।
गल्छी–त्रिशुली–रसुवागढी सडक, जलेश्वर–बर्दिवास, खुर्कोट–मन्थली सडक अवरुद्व छ । पुष्पलाल (मध्य पहाडी) राजमार्ग र सालझण्डी–सन्धीखर्क–देवीस्थान, वुर्तीवाङ–ढोरपाटन अवरुद्व छ । मदन भण्डारी राजमार्गको ठाउँठाउँमा र कक्रहवा (भारत सीमा)–रुद्रपुर, सालझण्डी–सन्धीखर्क–देवीस्थान, वुर्तीवाङ–ढोरपाटन सडक खण्ड पनि अवरुद्व छ । उपमहानिर्देशक श्रेष्ठका अनुसार सडक बगाएको ठाउँमा विभागको टोली खटिरहेको भए पनि स–साना पहिरोका कारण अवरोध रहेको स्थानसम्म टोली पुग्न सकेको छैन ।
दुई अर्ब ५२ करोड रुपैयाँको क्षति
सडक विभागका अनुसार गत वैशाख एकदेखि र पछिल्लो वर्षाका कारण पुल र सडकमा गरेर २ अर्ब ५२ करोड रुपैयाँको क्षति पुगेको छ । यो विवरण प्रारम्भिक हो । सडकमा डेढ अर्ब र पुलमा १ अर्ब रुपैयाँको क्षति भएको हो । क्षति भएको सडकलाई पूर्ववत् अवस्थामा फिर्ता ल्याएर यातायात सुचारु गर्न तीन अर्ब रुपैयाँ हाराहारी लगानी आवश्यक पर्न सक्ने प्रारम्भिक आँकलन छ ।