नेपाल एएसी कम्पनीलाई आईएसओ मान्यता

भैरहवा– रुपन्देहीमा रहेको नेपाल एएसी कम्पनीलाई आईएसओ मान्यता दिइएको छ । उद्योग सञ्चालनको अढाई महिनामै उक्त उद्योगले आईएसओ ९००१:२०१५ प्राप्त गरेको हो । जिल्लाको तिलोत्तमा नगरपालिका–६ मा गत साउदेखि सञ्चालनमा आएको उद्योगलाई भैरहवामा आयोजित कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिलले आईएसओ मान्यता प्राप्त गरेको घोषणासहित लोगो हस्तान्तरण गरेको हो ।
गत साउनदेखि उच्च गुणस्तरको नेपाल एएसी ब्लक उत्पादन गर्दै आएको उद्योगका अध्यक्ष प्रमोद कुमार यादव र प्रबन्ध निर्देशक धिरज मल्लिकलाई ग्लोबल क्वालिटी काउन्सिलका नेपाल प्रतिनिधि नारायणप्रसाद दवाडीले आईएसओ चिन्ह हस्तान्तरण गरेका थिए । बलियो गुणस्तर कायम गर्ने कम्पनीलाई अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त लोगो ‘गुण चिन्ह’ प्रदान गर्दै आएको छ । उद्योग अथवा संस्थाले प्राप्त गर्ने यो चिन्ह एक विश्वव्यापी मानक हो ।
दवाडीले गुणस्तरका सूचक पूरा गरेपछि कम्पनीलाई आईएसओको लोगो प्रदान गरेको बताए । ‘आईएसओ लोगोले उद्योगको उत्पादनलाई आमजनतामा अझै विश्वास बढाउँदै लैजाने छ’, उनले भने, ‘अहिलेको गुणस्तरलाई उद्योगले निरन्तरता दिन सक्नुपर्छ ।’ उद्योगले आईएसओ लोगो प्राप्त गरेपछि आफूहरु हर्षित भएको अध्यक्ष यादवले बताए । गुण चिन्ह प्राप्तपछि व्यावसायिक प्रवर्द्धनमा थप सहयोग मिल्ने यादवको अपेक्षा छ ।
जर्मन प्रविधिबाट सञ्चालित यो उद्योग पूर्ण रूपमा स्वचालित रहेको छ । उद्योगको दैनिक २० हजार विभिन्न साइजका ब्लक उत्पादन गर्ने क्षमता रहेकोमा भर्खरै उद्योग सुरु गरिएकाले अहिले दैनिक साढे आठ हजार ब्लक उत्पादन गरिरहेको छ । अबको चार महिनामा पूर्ण क्षमतामा उद्योग सञ्चालन हुने कम्पनीका अध्यक्ष प्रमोदकुमार यादवले बताए । उनले एएसी ब्लक विश्वभरी नै प्रयोग गरिने उच्च गुणस्तरको भवन निर्माण सामाग्री भएको जानकारी दिए ।
‘विश्वका धेरै मुलुकमा आजभोलि माटो बाट बन्दै आएको रातो ईटा विस्थापित गरी एएसी ब्लक प्रयोग सुरु भएको छ,‘सस्तो, गुणस्तर, भूकम्प प्रतिरोधी र हलुका भएकाले पनि यसको प्रयोग नेपालमा समेत बढिरहेको छ’ यादवले भने । ठूला–ठूला आवासीय भवन, औद्योगिक तथा व्यापारिक भवन, कार्यालय, हस्पिटल, पर्खाल, विद्यालय तथा कलेजमा नेपाल एएसी ब्लकको प्रयोग राम्रो रहेको अध्यक्ष यादवले बताए । उद्योग अझै पूर्णक्षमतामा सञ्चालन गर्न सकेका छैनौं । तर, अहिलेको दैनिक उत्पादनले थेग्न सकेको छैन । माग अत्यधिक रहेको उनको भनाइ छ ।
हलुका वजन, ध्वनि प्रतिरोधक, छिटो छरितो, ओस प्रतिरोधक यसको विशेषतामा पर्छ । कम्पनीका बिक्री प्रबन्धक दीपक भट्टराईले यो भूकम्प प्रतिरोधी रहेको बताए । यसको प्रयोगले निर्माण सामग्री र समयको बचत हुने उनको भनाइ छ । दिगो निर्माण र पुन: प्रयोगका लागि राम्रो मानिन्छ’,उनले भने, ‘नेपाल एएसी ब्लक चलन चल्तीको ईटा ब्लकभन्दा ठूलो र एकै आकारको हुन्छ ।’ परम्परागत निर्माणभन्दा साइज ठूलो भएकोले निर्माणको काम छिटो गर्न सकिने पनि भट्टराईले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत साजन भट्टराईले नेपाल एएसी ब्लकबाट घर तथा भवन बनाउँदा परम्परागत रातो ईटाभन्दा १५/३० प्रतिशत सस्तो पर्न जाने बताए । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल आएर एकलौटी रूपमा नेपाल एएसी ब्लकको बिक्री वितरण गर्दै आएको उनले बताए ।