भाटभटेनी भैरहवामा ३ दिनमै ४ करोडको कारोबार «

भाटभटेनी भैरहवामा ३ दिनमै ४ करोडको कारोबार

रुपन्देही-दैनिक उपभोग्य तथा अन्य सामग्रीहरूको एकै छानामुनि बिक्री बितरण गर्दै आएको नेपालकै ठूलो चेन स्टोर भाटभटेनी सुपर मार्केटले भैरहवामा सुरुकै ३ दिनमा ४ करोड बढीको कारोबार गरेको छ । १७ औं शाखाका रूपमा गत बिहीबारबाट यहाँ सुरु भएको थियो ।
पहिलो ३ दिनमा ३५ हजार ५ सय बढी उपभोक्ताले ४ करोड १४ लाख रुपैयाँबराबरको खरिद गरेको भाटभटेनी स्टोरका सञ्चालक एवं अध्यक्ष मीनबहादुर गुरुङले बताए । यो खरिद रकममा १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत छ । कर योग्य सामानमा मात्र मुअकर(भ्याट) लाग्छ ।
भैरहवा र वरपरका ग्रामीण क्षेत्रका बासिन्दालाई मात्र नभई सीमावर्ती भारतीय सहरका उपभोक्तालाई पनि लक्षित गर्दै यो स्टोर सञ्चालनमा ल्याएको र नेपालीसँगै भारतीय उपभोक्तापनि खरिदका लागि आएको गुरुङले बताए । दैनिक हजारौं खरिद तथा अवलोकनका लागि भाटभटेनी भैरहवा आउने गरेका छन् ।
सञ्चालक गुरुङका अनुसार बिहीबार ११ हजार ५ सय उपभोक्ताले १ करोड ४१ लाखको खरिद गरेको दिन ५० हजार सर्वसाधारणले भाटभटेनीको अवलोकन गरेका थिए भने दोस्रो दिन ९ हजार उपभोक्ताले १ करोड ९ लाख रुपैयाँको खरिद गरेको र ३५ हजार सर्वसाधारणले अवलोकन गरेका थिए । शुक्रबारको वर्षातको बाबजुद उल्लेख उपभोक्ता त्यहाँ पुगेका थिए । तेस्रो दिन १५ हजार उपभोक्ताले १ करोड ६४ लाखको खरिदी गरेको र ६० हजार सर्वसाधरणले भाटभटेनीको अवलोकन गरेका थिए । तीन दिनमा खरिदसँगै अवलोकन मात्रै गर्नेको संख्या १ लाख ४५ हजार नाघेको छ । सिद्धार्थनगर नगरपालिकाको जनसंख्या जम्मा ६५ हजार मात्रै हो । स्थानीयसँगै वरपर र भारतीय उपभोक्ता पनि आउँदा संख्या ह्वात्तै बढेको हो ।
आवश्यक विभिन्न प्रकृतिका दैनिक उपभोग्य वस्तु, फलफुल, तरकारी, बिद्युतिय सामान, तयारी पोसाक, जुत्ता, किचनवेयरलगायत बिभिन्न सामानहरू एकै स्थानमा र छनोट गर्ने अबसर अधिक भएकाले त्यहाँ उपभोक्ताको भीड लागेको हो । भैरहवाको भाटभटेनीलाई सपिङ डेस्टिनेसनका रूपमा विकसित गरिने सञ्चालक गुरुङको योजना छ ।
मार्केट सञ्चालनमा आएको अवसरमा दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, किचन साम्रगीलगायतमा १० प्रतिशत र फ्रिज, वासिङ मेसिन टिभीलगायत विद्युतीय साम्रगीमा २० प्रतिशत छुट प्रदान गरिएको छ । विश्वप्रसिद्ध केएफसीको शाखा, सिनेमा हल (क्यूएफएक्स) साथै फुडकोर्ट समेत तयार भइरहेको सञ्चालक गुरुङले बताए । त्यहाँ पेपे पिज्जा नाममा रेस्टुराँ सञ्चालनमा आइसकेको छ ।
उपभोक्तालाई छनोटको अवसर धेरै भएकाले पनि उपभोक्ताहरूको घुइँचो त्यहाँ बढेको हो । भाटभटेनी स्टोर सञ्चानलमा आएसँगै सीमावर्ती बजार सुनौलीमा खरिद गर्न जाने क्रममा ब्रेक लागेको छ । त्यहाँ नेपाली उपभोक्ता कम आएको स्वयं त्यहाँका व्यवसायीहरूले बताएका छन् । सुनौली बजारमा मात्रै दैनिक २ करोड बढी नेपाली रुपैयाँबराबरको खरिद दैनिक उपभोग्य सामान तथा सारी कुर्तालगायतका सामानमा नेपालीहरूले खर्चने गरेको अनुमान छ । बिहीबारबाट नेपालीहरू सुनौली जाने क्रम भएको छ । भाटभटेनी सञ्चालनपछि सीमावर्ती बजारमा असर परेको हो । सुनौलीमा पाइने सामान प्रिन्ट रेट अनुसार त्यहीको मूल्यमा र अहिले त झन १० प्रतिशत छुटले सुनौलीभन्दा सस्तो भाटभटेनी स्टोर छ । नेपालीहरू भारतमा खरिद गर्न जाने मात्र होइन भारतीय उपभोक्ता पनि नेपालमा आएर खरिद गरुन भन्ने हाम्रो उद्देश्य हो । हामीले गुणस्तरीय सामान बिक्री गर्ने भएकाले लखनउसम्मबाट भारतीय आउने अपेक्षा स्टोरको छ । भाटभटेनी जस्तो स्टोर लखनउ सहरमा पनि छैन ।

प्रतिक्रिया दिनुहोस्