प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी
काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएका हुन् ।
त्यसैगरी बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत चित्रलेखा यादवविरुद्ध पनि १/१ वटा उजुरी परेको समितिले जनाएको छ । यही असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रस्तावित राउत र नेपाली राजदुतका लागि प्रस्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रस्तावित राजदुतद्वय लम्साल र यादवविरुद्धको उजुरीमाथि छानविन गरी सुनुवाई कार्य गर्नुपर्नेछ । समितिको अर्को बैठक असोज १५ गते मंगलबार अपरान्ह २ बजेका लागि बोलाइएको छ ।