Logo

खच्चड नै ढुवानीको भरपर्दाे साधन

संखुवासभाको उत्तरी क्षेत्रमा अझै पनि ढुवानीको प्रमुख साधनका रूपमा खच्चडको प्रयोग बढ्दो देखिएको छ । पहाडी र हिमाली क्षेत्रको भौगोलिक अवस्थाका कारण पनि सामग्री ढुवानीको विश्वसनीय माध्यमका रूपमा खच्चडको प्रयोग बढ्दै गएको हो ।
अहिले संखुवासभाको मकालु गाउँपालिका र भोटखोला गाउँपालिकाका अधिकांश क्षेत्रमा आयातनिर्यात गरिने सामग्री ओसारपसारका लागि दर्जनौंको संख्यामा खच्चडको प्रयोग हुँदै आएको छ ।
मोरङको विराटनगर रानीदेखि चीनसँग सिमाना जोडिएको संखुवासभाको उत्तरी बिन्दु जोड्ने उत्तरदक्षिण कोसीराजमार्ग सडकले मकालु र भोटखोलाका केही क्षेत्रलाई भने सहज बनाएको छ ।
अहिले सडक सुविधा भएका कारण सदरमुकाम खाँदबारीबाट २ दिनको पैदल दूरीमा रहेको जिल्लाकै दुर्गम मानिएको मकालुको नुम, हेदाङना, पाथीभरा र भोटखोलाको बरुण, हटियासम्मका स्थानीयका लागि भने सामग्री ढुवानी र आवतजावतमा केही सहजता आएको छ । जिल्ला सदरमुकाम खाँदबारीबाट १७० किलोमिटरको दूरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको चांगा र डेन्डाङ् बजारसँंग जोड्ने लक्ष्यका साथ खन्न थालिएको उत्तरदक्षिण कोसी सडकको काम लामो समयदेखि बीचैमा रोकिएकाले सडकसञ्जाल जोडिन सकेको छैन ।
कडा चट्टानी भीर, जटिल भौगोलिक अवस्थाका कारण भोटखोला–२ को च्याम्ताङदेखि छोकाङ् खोलासम्मको करिब १७ किलोमिटर सडक जोडिन बाँकी छ । अहिले उक्त भीरमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
सडक सञ्जाल नभएसम्मका लागि यस क्षेत्रको ढुवानीको विश्वसनीय साधन खच्चड नै भएको भोटखोला गाउँपालिकाका अध्यक्ष ठिलेन भोटे बताउँछन् ।
भोटखोला क्षेत्र अत्यन्तै जटिल भूगोलका कारण खाद्यसंकटको चपेटामा छ । हिमाली क्षेत्र भएकाले कोदो, मकै, गहुँ, फापरमात्र उत्पादन हुने भएकाले चामल, नुन, तेल, लत्ताकपडा लगायत अन्य आवश्यक सामग्री बाहिरबाटै ढुवानी गरिँदै आएको भोटखोला गाउँपालिका–१ किमाथांकाका वडाध्यक्ष तेन्छिवी भोटे बताउँछन् । ३ दिनको दूरीमा रहेको चीनको डेण्डाङ सहरबाट खाद्यान्न आयात गर्न सहज नभएकाले विशेषगरी त्यस क्षेत्रका स्थानीयले खाद्यान्नलगायत अन्य दैनिक आवश्यकताका सामग्री सदरमुकाम खाँदबारी, मानेभन्ज्याङ मकालुको नुम बजारबाट खच्चडमार्फत लाने गर्दछन् । सवारी साधनमार्फत खाद्यान्न तथा अन्य सामग्री ढुवानी गर्दा बढी महंगो पर्ने र वर्षात्को समयमा सवारी साधन नचल्ने भएकाले खच्चड नै बढी प्रयोग गरिँदै आएको भोटखोला–३ का ब्यवसायी रिदर खम्बाको भनाइ छ ।

कृष्णराज शाक्य

प्रतिक्रिया दिनुहोस्