वित्तीय क्षेत्रको सबलता र समृद्धि «

वित्तीय क्षेत्रको सबलता र समृद्धि

जविक्रम राणानेपालको वित्तीय परिवेश अरू देशको भन्दा निकै फरक रहेको छ । छिमेकी मुलुक भारत, चीन र भुटानभन्दा पृथक् वित्तीय धरातल बोकेको हाम्रो देशमा प्रचुर वित्तीय क्रियाकलाप मौलाएको छ । विद्यमान राजनीतिक परिवर्तन र देशको अर्थव्यवस्थालाई सम्बोधन गर्दै केन्द्रीय बैंकले समयसापेक्ष हुने गरी धेरै आर्थिक प्रयोग गरेको पनि पाइन्छ । तर, पछिल्लो समय बैंक तथा वित्तीय बजारमा उदाएका विभिन्न समस्याले हाल वित्तीय क्षेत्र तरङ्गित बनेको छ । आधुनिक बैंकिङको चर्चा चलिरहँदा नेपालका बैंक तथा वित्तीय सस्थाहरूले वासल थ्री को मोडल सञ्चालन गरे तापनि ऋण लगानी र निक्षेप संकलन गर्नुपर्दा केही फरक कार्यबाहेक अन्यचाहिँ पुरानै परिपाटीलाई नै निरन्तरता दिएको देखिन्छ । जेनरल बैंकिङमार्फत धितोस्वरूप घरजग्गा, गाडी, सेयर, सुन चाँदी, मेसिनरी, मौज्दात, वक्यौता रकम र जमानत आदिको सुरक्षणमा कर्जा लगानी त वित्तीय क्षेत्रको धर्म नै भएको विश्लेषण गर्न सकिन्छ ।
विश्वको सेयर बजारमा केही समयदेखि मन्दी छाएको भए पनि हाम्रो छिमेकी मुलुक चीन विश्व अर्थतन्त्रमा दोस्रो स्थानमा नै रहन सबल रहेको र मुद्रास्फीतिको अनुपातलाई पनि सोचेअनुरूप नै चीनले हासिल गरेका सूचकहरू पाइएका छन् । नेपालले मात्र पुस महिनासम्म चीनबाट ६७ अर्ब ८८ करोड रुपैयाँबरबरको मालसामान आयात गरेको छ र चीनतर्फको निर्यात १ अर्ब ५८ करोड रुपैयाँ मात्र भएको देखिन्छ । यसै गरी अन्य आयातले गर्दा पनि देशको समग्र व्यापारघाटा ५ खर्ब रुपैयाँभन्दा पनि निकै उकालो लाग्ने सम्भावना प्रचुर रहेको विश्लेषण गर्न सकिन्छ । अतः यस्तै कारक विषयले गर्दा हाल बैंक तथा वित्तीय संस्थाहरूले क्रेडिट क्रन्चको अवस्था भोग्नुपरेको छ, जसले गर्दा लक्ष्यअनुरूप देशको आर्थिक वृद्धिदर ७.२ प्रतिशत नरहने सम्भावना निकै प्रबल रहेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना प्रगति विवरणहरू प्रकाशित गरिसकेका छन्, जसमध्ये केही वाणिज्य बैंकको लगानी निकै सराहनीय पाइयो । चार वाणिज्य बैंकहरूले खर्बको कर्जा लगानी आफ्नो वासलातमा सूचीकृत गरे । नेपाल इन्भेस्टमेन्ट बैंकको कर्जा लगानी १ खर्ब १३ अर्ब ३७ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँ, एनआईसी बैंकको कर्जा लगानी १ खर्ब २ अर्ब ८५ करोड १२ लाख रुपैयाँ र नबिल बैंकले १ खर्ब १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
 यसैगरी खुद नाफाको लेखाजोखा गर्दा नविल बैंक अग्र स्थानमा रहेको छ, जसले कुल १ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसै गरी अन्य अर्ब नाफा कमाउने समूहका वाणिज्य बैंकहरूमा नेपाल इन्भेस्टमेन्ट बैंकले कुल १ अर्ब ८३ करोड ४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले कुल १ अर्ब ७५ करोड ५९ लाख रुपैयाँ, नेपाल बैंकले कुल १ अर्ब ६३ करोड रुपैयाँ, एभरेस्ट बैंकले कुल १ अर्ब १४ करोड ८१ हजार रुपैयाँ, हिमालयन बैंकले कुल १ अर्ब १० करोड ५८ लाख रुपैयाँ, कृषि विकास बैंकले कुल १ अर्ब २ करोड ९१ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले कुल १ अर्ब १ करोड ३४ लाख रुपैयाँ र एनएमबी बैंकले कुल १ अर्ब ७२ लाख ५९ हजार रुपैयाँ नाफा कमाएका छन ।
 विगत केही महिनायता न्यून तरलता बैंक तथा वित्तीय संस्थाहरूमाझ चुनौतीपुर्ण व्यवस्थापनको विषय बन्दै आएको छ । लगानी गर्ने प्रचुर क्षेत्र या भनौं लगानीका अवसरहरू सीमित रहेको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरूले राम्रै लगानी गरी नाफा कमाएको कुरा नकार्न सकिन्न, तर पनि तरलतालाई सम्बोधन गर्दै कर्जा र नाफा बढाउने होडमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा कस्तो रहला र बैंक तथा वित्तीय संस्थाहरूले ती निष्क्रिय कर्जाको तालमेल कुशलतापूर्वक गर्नैपर्ने आवश्यकता देखिएको छ ।
मर्जर वा स्वामित्व खरिद नीतिअन्तर्गत पुँजी वृद्धिलाई बंैक तथा वित्तीय संस्थाहरूले बढी प्राथमिकतामा राखे पनि यसले निष्क्रिय कर्जाको आकार कम गर्न खासै भूमिका नखेल्ने देखिएको छ । मर्जर वा स्वामित्व खरिदपछि कुनै पनि बंैक तथा वित्तीय संस्थाहरू पुँजी, कर्जा, निक्षेप, शाखा सञ्जाल, कर्मचारी र व्यवस्थापनमा सबल रहनेछ । तर, कमसल, शंकास्पद तथा खराब कर्जाको अनुपातमा कुल कर्जाको रकमले गर्दा निष्क्रिय कर्जा केही कम भएजस्तो देखिए पनि मर्जर वा स्वामित्व खरिदपछि पनि निष्क्रिय कर्जाहरू सोही वर्गमै रहेकाले कालान्तरमा नाफालाई धक्का दिन्छ । अतः राज्यले पनि नयाँ लगानीको क्षेत्र बंैक तथा वित्तीय संस्थाहरूलाई दिई निष्क्रिय कर्जा बढे पनि उच्चतम प्रतिफलका लागि प्रात्साहन दिनुपर्छ ।
 बैंक तथा वित्तीय संस्था प्रबल रहन कर्मचारीहरूको ठूलै भूमिका रहेको हुन्छ । कर्मचारीको सही मूल्यांकन नहुनु, कार्य सम्पादनमा कठिनाइ आउनु, कार्य क्षेत्र अनुकूल नहुनु, वृत्तिविकासको सम्भावना कम हुनु, पारिश्रमिक कम हुनु, विचार नमिल्नु र कर्मचारी सुविधा अपुग भएमा साधारणतया कर्मचारीहरूले संस्था परिवर्तन गर्ने देखिएको छ । अतः संस्थाका अमूल्य सम्पत्तिमध्ये कर्मचारीहरू पहिलो स्थानमा रहेकाले, कर्मचारी व्यवस्थापन वित्तीय संस्थाको लागि कटु चुनौती नै भएको महसुस गर्न सकिन्छ ।
बैंक तथा वित्तीय संस्थाबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता सम्बन्धित पक्षको चाहना बन्नुपर्छ र वित्तीय क्षेत्रमा उदाएका प्रमुख चुनौतीहरूलाई आत्मसात् गर्दै रचनात्मक ढंगबाट समग्र अर्थतन्त्र परिणाममुखी बनाइनुपर्छ, तब मात्र सबल र सन्तुलित अर्थतन्त्रको महसुस गर्र्न सकिन्छ । नेपालमा पर्याप्त संख्यामा बैंक तथा वित्तीय संस्थाहरू भएर पनि तिनीहरूको अनुपातमा जति आर्थिक वृद्धि हुनुपर्ने थियो, त्यो हुन सकेको पाइँदैन । बैंक तथा वित्तीय क्षेत्रको सबलतासँग राष्ट्रको समृद्ध गाँसिएको हुनाले यिनीहरूलाई पनि सबल बनाउनु आवश्यक छ । त्यसैले राष्ट्र बैंकले पहिलेको तुलनामा बैंकहरूको निगरानीलाई थप कडा बनाउँदै लगेको छ ।
नेपालको अर्थतन्त्रको आकारका आधारमा बैंक र वित्तीय संस्थाहरूको संख्या धेरै भयो भन्ने अर्थशास्त्रीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्था धेरै हुँदा नियम गर्न नेपाल राष्ट्र बैंकलाई गाह्रो भएको भनाइ पनि बेला–बेलामा सुनिन्छ । नेपालमा अहिले सञ्चालनमा रहेको बैंक तथा वित्तीय संस्थाहरूलाई दीर्घकालसम्म टिक्न गाह्रो छ । यो बजारले यति धेरै वित्तीय संस्थालाई धान्न सक्दैन । यद्यपि, विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्ने हो भने, यो पनि सम्भव छ ।

जविक्रम राणा
 

प्रतिक्रिया दिनुहोस्