Logo

गर्भवतीलाई कोसेली : अण्डा, चना र केराउ

अर्घाखाँची-मोटरबाटो खन्ने, खानेपानीका पाइप किन्ने, तालिमका नाममा भत्ता वितरण गर्ने लगायतका काम गर्दै आएका स्थानीय निकायले जनता प्रत्यक्ष लाभान्वित हुने कार्यक्रममा जोड दिने थालेका छन् । जनताको स्वास्थ्यलाई ध्यान दिँदै जिल्लाको सन्धिखर्क नगरपालिका–१२ डिभर्नाले गर्भवती र सुत्केरी महिलाका लागि वडाध्यक्ष पोषण प्याकेज कार्यक्रमको सुरुवात गरेको छ ।
महिला तथा २ वर्षमुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रमअन्तर्गत लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीको सहजीकरण र सन्धिखर्क–१२ डिभर्नाको वडाध्यक्ष पोषण प्याकेज कार्यक्रमअन्तर्गत गर्भवती र सुत्केरी महिलाका लागि पोषणयुक्त सामग्री वितरण गरिएको छ ।
वडा कार्यालयबाट पोषण प्राप्त हुने सामग्रीको वितरण गरेपछि गर्भवती हुने महिलामा चेतना अभिवृद्धि हुनेसँगै पोषणको मात्रा पनि पूरा हुने भएकाले पोषण कार्यक्रम सुरु गरेको वडाध्यक्ष नारायण खड्काले बताए । गर्भ परीक्षण गरेका आधारमा पोषण सामग्री वितरण गरिएको छ । पहिलो पटक गर्भजाँच गर्नेलाई अण्डा र हरियो झण्डा, दोस्रो र तेस्रो पटक जाँच गर्नेलाई एक क्यारेट अण्डा, १-१ किलो चना र केराउ वितरण गरिएको स्वास्थ्य इकाई डिभर्नाका प्रमुख सन्जु केसीले बताइन् ।
पोषण वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले मानिसको सबैभन्दा महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएकाले नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडि बढेको बताए ।
उपप्रमुख ठाकुर विकले वितरण गरिएको पोषणबाट थप केही कुरा सिक्दै नियमित रूपमा शरीरलाई पोषणको मात्रा बढी चाहिने हुनाले पालना गर्नका लागि गर्भवती तथा सुत्केरी महिलालाई आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गर्भवती रहँदा तथा बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यलाई स्वस्थ राख्न निकै ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडेल, पत्रकार मुक्ति भुसाललगायतले मन्तव्य राखेका थिए । वडामा रहेका सबै गर्भजाँच गराएका महिला, सुत्केरी महिलालाई पोषण वडाले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्