श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे लुम्बिनीमा

भैरहवा– श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षे विश्वपर्यटन दिवसका दिन बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका छन् ।
लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकमा सबैभन्दा बढी श्रीलंकाका पर्यटक आउने गरेका छन् । श्रीलंकनहरू लुम्बिनीलाई पवित्र भूमिका रूपमा लिँदै आएका छन् । पूर्वराष्ट्रपति गोटावाया राजापाक्षेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लगायतले स्वागत गरेका थिए ।
उपाध्यक्ष डा. लामाले स्वागत गर्दै श्रीलंकासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीले त्यो सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए । उनले लुम्बिनी क्षेत्रमा शाक्यमुनि बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीनवटा बुद्धको जन्म भएकाले निकै महत्त्वपूर्णस्थल रहेको जनाउँदै उनले लुम्बिनीसँग श्रीलंकाको सम्बन्ध पनि निकै पुरानो रहेकाले यहाँको विकासमा सहकार्य गर्न सधै तयार रहेको बताए ।
उपाध्यक्ष लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि अनुरोध गरे । राजापाक्षेसँगै श्रीलंकाका लागि नेपाली राजदूत सुदर्शना पाथिरानासमेत सहभागी थिए । पूर्वराष्ट्रपति राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतका कर्मचारीले स्वागत गरेका थिए ।
उक्त अवसरमा कोषका सदस्य सचिव शाक्यले लुम्बिनीमा पूर्वराष्ट्रपतिको भ्रमणले आफूहरूलाई उत्साही बनाएको बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीमा श्रीलंकाले शुरुवाति चरणमै विहार निर्माण गरेकोमा धन्यवाद दिँदै यो सहकार्य रहिरहने बताए । त्यस्तै वरिष्ठ निर्देशक राईले श्रीलंकन मन्दिरको पुनर्निर्माणका लागि अनुरोध गरे ।
स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी भ्रमण गरेका थिए । श्रीलंकनहरू लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्वराष्ट्रपतिले महत्त्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । परिवारसहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलनसमेत गरेका थिए ।
शुक्रबार अपरान्ह लुम्बिनी आइपुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षे झरीको प्रवाह नगरी मायादेवीको श्रद्धाभक्तिका साथ दर्शन गरेका हुन् । निरन्तरको वर्षाले हिँडडुल गर्नसमेत असहज भएको बेला पूर्वराष्ट्रपति राजापाक्षेले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धि भएको बताए ।
उनले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ति, पुष्पकरणी पोखरी, अशोकस्तम्भका बारेमा जानकारी लिँदै भ्रमण गरे । कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. राईले लुम्बिनी र मायादेवी मन्दिर र लुम्बिनीको महत्त्वबारे बिफ्रिङ गरेका थिए । यस्तै वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले पुरातात्विक महत्त्व र मायादेवी मन्दिर परिसरका संरचनाबारे जानकारी दिएका थिए ।