साताको सेयर
नेप्सेमा ९० अंकको गिरावट
काठमाडौं- पछिल्ला दुई सातादेखि घटिरहेको सेयर बजारले गत साता पनि निरन्तरता पायो । अघिल्लो बिहीबार २५७६ बिन्दुमा बन्द भएको बजार गत बिहीबारसम्म आउँदा ९० अंक घटेर २४८६ बिन्दुमा बन्द भएको थियो । एक सातामा यो ३.४९ प्रतिशतको गिरावट हो । साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढेको थियो ।
तर सोमबार ५९ र मंगलबार नेप्से परिसूचकमा ५८.९३ अंकले गिरावट आएको थियो । दुई दिन लगातार गिरावट आएको सेयर बजारमा बुधबार फेरि ४९.१८ अंकको वृद्धि देखिएको थियो । तर, यो वृद्धि बिहीबार कायम रहन सकेन । बिहीबार परिसूचक ३२.८१ अंकले घट्न पुगेको थियो । गत साता सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घटिरहेको छ । साताका पाँच दिनको कारोबारमा औषत ५ अर्बको पनि कारोबार हुन सकेन ।
अघिल्लो महिना बजार बढ्दा दैनिक औषतमा २० अर्ब हाराहारीको कारोबार हुने गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार गत साता आइतबार ५ अर्ब ९ करोडको कारोबार भएको थियो भने सोमबार ५ अर्ब ६६ करोडको भएको थियो । यस्तै, मंगलबार ५ अर्ब ६८ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब ८१ करोडको भएको हो । अन्तिम कारोबार दिन बिहीबार ४ अर्ब ८४ करोडको कारोबार भएको थियो ।
सेयर बजार र कारोबार दुवैमा गिरावट आएकाले नेप्से परिसूचकसँग अन्य धेरै उपसूचकहरु पनि घटेका थिए । सूचकहरुमध्ये फाइनान्स उपसूचक सबैभन्दा धेरै ८.५ प्रतिशतले घटेको थियो । गत साता पनि फाइनान्स उपसूचक ११ प्रतिशतले घटेको थियो । त्यस्तै, गत साता हाइड्रोपावर क्षेत्रमा पनि गिरावट आएको थियो । यो उपसूचक करिब ५ प्रतिशतले घटेको हो । सबैभन्दा कम सेयर मूल्य घटनेमा बैंकिङ क्षेत्र परेको छ । यसको उपसूचक १.६ प्रतिशतले मात्र घटेको थियो ।
एक्सचेन्जका अनुसार गत साता रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएका १० कम्पनीहरुमा अपी पावर, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, गुडविल फाइनान्स, ङादी गु्रप रहेका थिए ।
यस्तै, कारोबार संख्याका आधारमा अपी पावर, हिमालयन रिइन्स्योरेन्स, माथिल्लो तामाकोशी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, निफ्रा, हिमाल दोलखा हाइड्रोपावर, नेपाल फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, एचआईडीसीएलको सबैभन्दा धेरै कारोबार भएको थियो ।