खाद्यान्न नष्ट «

खाद्यान्न नष्ट

कैलाली- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालू आर्थिक वर्ष २०७६-०७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा दलहन खाद्यपदार्थ जफत गरी नष्ट गरेको छ ।
कार्यालयले साउनदेखि कात्तिक महिनाको मसान्तसम्म गरेको बजार अनुगमनबाट म्याद गुज्रेका तथा खानका लागि अयोग्य २५६ किलोग्राम खाद्यान्न जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख सुमन धितालले जानकारी दिए ।
त्यसैगरी कृत्रिम चुक ६०० लिटर, हल्का पेयपदार्थ ४१३ लिटर, माछामासु ४० किलोग्राम, तेल तथा घीउ १२ लिटर र मसलाजन्य वस्तु पाँच किलोग्राम जफत गरी नष्ट गरिएको अनुसन्धान अधिकृत धितालले बताए । चामलको पीठो तथा स्वास्थ्यलाई हानिकारक रङ मिसाएर बनाइएको १२८ किलोग्राम मिठाईजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ ।
प्रमुख धितालले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा कार्यालयले ८० पटक खाद्य उद्योग र ३६ पटक दूध, पानी तथा खाने तेल उद्योगको अनुगमन गरेको बताए । त्यस्तै आठपटक दाना उद्योग, पाँच पटक होटल तथा रेष्टुरेन्ट र आठ पटक कार्यदलको संयुक्त टोलीबाट अनुगमन गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्