घरेलु उद्यमी मेला तथा दशैं महोत्सव आइतबारदेखि
काठमाडौं– ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ ।
घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मेला आयोजना गर्न लागिएको बिहीबार आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनको औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।
काठमाडौंका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीको सहभागितामा आयोजना हुने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहने बताइएको छ । लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको आयोजकको भनाइ छ ।
काठमाडौंका चन्द्रागिरी, टोखा र नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंसँगको सहकार्य र सहआयोजनामा हुन लागेको यो दोस्रो जिल्लास्तरीय औद्योगिक प्रदर्शनीमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरुको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको आयोजकको भनाइ छ ।