पौडेलको बहिष्कारपछि कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बैठकमा उपस्थित नहुने भएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको हो ।
अर्को बैठक पुस २ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । पौडेल समूहले सोमबार पनि बैठक बहिष्कार गर्ने भएपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको बताइएको छ ।
कांग्रेस संस्थापन पक्षले असन्तुष्ट समूहसँग थप छलफल गरेर गत बिहीबार बैठकमा पेस भएका एजेण्डाहरु सहमतिमै पारित गर्नका लागि दुई दिन बैठक स्थगित गरिएको बताएको छ ।
सभापति देउवा १४ औं महाधिवेशनको कार्यतालिकाको विषय एजेण्डाका रुपमा ल्याउन अनिच्छुक देखिएपछि गत बिहीबारबाट वरिष्ठ नेता पौडेल समूह बैठक बहिष्कार गर्दै आएको थियो । वरिष्ठ नेता पौडेलले यसअघि पनि बिहीबार र आइतबार पनि बैठक बहिष्कार गरेका थिए ।