पाइपलाइनबाट १७ करोड लिटर डिजेल «

पाइपलाइनबाट १७ करोड लिटर डिजेल

तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रूपमा डिजेल आउन थालेको थियो । नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ । अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले नियमित रूपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको बताए । पाइपलाइनबाट तीन महिनाा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेलेको आयातसँगै ६ करोड रुपैयाँ बचत भएको उनको भनाइ छ ।
पाइपलाइनबाट डिजल आउन थालेपछि नेपाल आयल निगमलाई ढुवानीमा मात्रै होइन डिपोको नोक्सानी समेत राहत मिलेको छ । तीन महिनाअघि मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि तापक्रममा हुने नोक्सानी कम हुँदा निगम नाफामा गएको छ । पाइपलाइनबाट डिजल आउन थालेपछि मासिक दुई करोड नोक्सानी घटेको यादवले बताए । सुरुमा प्रतिघन्टा १७० किलोलिटर डिजेल आयात भएको अहिले १९० किलोलिटर पुगेको निगमको भनाई छ । दैनिक २४ घन्टा पाइपलाइन सञ्चालन हुने गर्छ । पाइपलाइनबाट आयात गरिएको तेल काठमाडौं, विराटनगर, भैरहवा र स्थानीय स्तरमा वितरण हुँदै आएको छ ।
ट्यांकरमा तेल ल्याउँदा भारत र नेपालको तापक्रमका कारण नोक्सानी धेरै हुने गरेकोमा अहिले पाइपलाइनबाट तेल पूर्णरूपमा नोक्सान बचत भएको निगको भनाइ छ । निगमका अनुसार डिपोमा राखेपछि भने केही तापक्रममा घटबढ हुँदा नोक्सानी हुन्छ ।
यस अघि ट्यांकरमा ल्याउँदा भारतमा उच्च तापक्रम हुँदा डिजल विस्तार हुने र नेपालको तापक्रम कम हुँदा खुम्चिने गर्दा डिपोमा नोक्सानी धेरै हुने गथ्यो । तर अब यो समस्या डिजलको हकमा यहाँ समाधान भएको प्रमुख यादवको भनाई छ ।
निगमले प्रत्येक डिपोलाई विभिन्न प्राविधिक नोक्सानीको लक्ष्य दिएको हुन्छ । डिपोमा तापक्रम नोक्सानी सबैभन्दा ठूलो समस्या हो ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगंजसम्मको ७० किलोमिटर लम्बाईको सो पाइपलाइन गत भदौं २४ गते उद्घाटनमा आएको थियो । यो पाइपलाइन संचालनमा आएपछि डिसेम्बर १४ सम्म १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ ।
पहिलो चरमा पाइपलाइनबाट डिजेल मात्र ढुवानी गरिएकोमा पेट्रोल भने डेढ वर्षपछि मात्रै आउन भएको छ । बजारमा डिजेलको खपत धेरै भएकाले पनि पहिलो चरणमा डिजेल ढुवानी गरिएको निगमको भनाई छ ।
अमलेखगंजमा डिपो तयार नभएकोले डेढ वर्ष पछि मात्रै पेट्रोल पाइपलाइनबाट आउनेछ । पाइपलाइनबाट डिजल आउन थालेपछि बरौनीबाट ल्याउन बन्द गरिएको छ । बरौनीबाट डिजल ल्याउन बन्द गरिएपछि त्यहाँ संचालनमा रहेका ट्यांकरलाई विभिन्न स्थानमा स्थानान्तरणको तयारी भइरहेको छ ।
निगमका अनुसार बरौनी रुटमा संचालन हुने ९० वटा ट्यांकर स्थानान्तरणका लागि पत्र पठाइसकेका छन । निगमका अनुसार डिजल बोक्ने ती ट्यांकरलाई निगमका अन्य डिपोमा स्थानान्तरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्