Logo

गाई लिलामीबाट दोब्बर बढी राजस्व संकलन

दोलखा– दोलखाको गाई आनुवांशिक स्रोत केन्द्र जिरीले गाई लिलामी गरेर गत वर्षभन्दा दोब्बर बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा केन्द्रमा रहेका गाई तथा साँढे बहरको लिलाम बिक्रीबाट करिब १८ लाख राजस्व संकलन गर्न सफल भएको छ ।

केन्द्रले लिलाम बढाबढमा गाई, बाच्छाबाच्छी र साँढेको लिलाम गरेको हो । लिलामी भएका गाई जिरी नगरपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका र सोलुखुम्बू जिल्लाका किसानले खरिद गरेर लगेका छन् । संघीय सरकारअन्तर्गतको सो केन्द्रले हालै गरेको गाई तथा साँढेको लिलामीबाट कुल १८ लाख तीन हजार रुपैंयाँ राजस्व संकलन गरेको छ । यो रकम गत वर्षभन्दा नौ लाख ३९ हजार बढी हो ।

गत वर्ष केन्द्रले ३७ वडा गाई लिलामी गर्दा आठ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको थियो । गाई लिलामीबाट भएको आम्दानी यो नै अहिलेसम्मको सबैभन्दा बढी हो । लिलामीमा राखिएका २७ वटा गाई तथा २१ बाच्छाबाच्छी र एउटा साँढे गरी ४९ वटा बढाबढ प्रकृयाको आधारमा बिक्री गर्दा उक्त आम्दानी भएको केन्द्रका वरिष्ठ प्रबन्धक वरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरिले जानकारी दिए ।

हाल केन्द्रमा माउ गाई ६० वटा, कोरली २० वटा तथा दुहुना ३५ वटागरी जम्मा १०५ वटा गाई रहेका छन् । दुहुना गाईबाट दैनिक करिब चार सय लिटर दूध उत्पादन हुने गरेको छ । हरेक वर्ष एक सयका हाराहारीमा गाई र बाच्छाबाच्छी राखेर केन्द्रले गाई लिलामी गर्छ । बढाबढ लिलामीको खबर थाहा पाएर आएका किसानलाई नौ वटा समूहमा विभाजन गरेर गाई लिलामी गरेको गाई अनुवांशिक स्रोत केन्द्र जिरीका लेखा प्रमुख सिस्टप्रसाद चौलागाईंले जानकारी दिए ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा बनेको लिलामी उपसमितिले निर्धारण गरेको न्यूनतम मूल्यका आधारमा किसानले मूल्य बढाबढ गरेर गाई खरिद गरेका हुन् । लिलामीमा परेका गाई सबैभन्दा बढी जिरी नगरपालिकाभित्रैका किसानले लिएका छन् । धेरै किसान गाई नपाएर खिन्न बनेर फर्किएका छन् । गाईको माग अत्यधिक भएर पनि स्रोत केन्द्रको क्षमताअनुसार किसानलाई केन्द्रले गाई उपलब्ध गराउन नसकेको लेखा प्रमुख चौलागाईंले बताए ।

केन्द्रमा होलिस्टिन तथा जर्सी जातका गाईका अतिरिक्त कोरियाबाट ल्याइएको चारवटा उन्नत जातका गाईसमेत रहेका छन् । गाईका अतिरिक्त केन्द्रले उन्नत जातका बंगुरका पाठा–पाठीसमेत उत्पादन गर्ने गरेको अनुवांशिक स्रोत केन्द्रले जनाएको छ । ल्यान्डरेर तथा योर्क सायर जातका बंगुरका पाठा–पाठी उत्पादन गरी केन्द्रले बिक्री वितरण गर्ने गरेको केन्द्र प्रमुख गिरिले जानकारी दिए । गत आर्थिक वर्ष गाई, बाच्छा, बंगुरका पाठाको बिक्री लगायतबाट केन्द्रले एक करोड २० लाख २६ हजार आमदानी गर्न सफल भएको थियो ।

जुन अघिल्लो आर्थिक वर्ष ८९ लाख आम्दानी भएको थियो । दूध उत्पादनको वृद्धि र नश्ल सुधारलगायतका कारण राजस्व संकलन पनि बढेको हो । चालु आर्थिक वर्ष लक्ष्यभन्दा बढी राजस्व उठ्ने सम्भावन रहेको गाई आनुवांशिक स्रोत केन्द्र जिरीले बताएको छ । २०१४ सालमा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिरी एकीकृत कृषि फमको रूपमा स्थापना भएकोे यो फार्म २०७५ सालदेखि गाई अनुवांशिक स्रोत केन्द्रको रूपमा सञ्चालन हुँदै आएको छ ।

फर्मको नाममा जिरीमा ८४ हेक्टर र रामेछापको गर्जाङमा १२५ हेक्टर जग्गा रहेको छ । फर्मले जिरीमा गाई तथा गर्जाङमा बाच्छाबाच्छी र साँढे पाल्दै आएको छ । गत आर्थिक वर्ष १३५ दशमलव एक मेट्रिक टन दूध उत्पादन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा ११७ दशमलव नौ मेट्रिक टन दूध उत्पादन गरेको थियो ।

स्रोत केन्द्रले विगतमा दूध लिलामी गरेर बिक्री गर्दै आए तापनि चालु आर्थिक वर्षको साउनभन्दा यताभने तीन पटक सूचना निकाल्दासमेत दूध खरिदका लागि कोहीले पनि दाबी नगरेपछि दूध लिलामी हुन सकेन । अहिले सरकारी निकाय दुग्ध विकास संस्थानलाई सरकारी मूल्य ७१ रुपैंयामा प्रतिलिटर दूध बिक्री गर्दै आएको छ । तीन पटकसम्म सूचना प्रकाशित गर्दासमेत दूध लिलामी हुन नसक्दा के गर्ने भनेर तालुकदार निकाय पशु सेवा विभागमा रायका लागि पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्