Logo

मृत बुबाआमाको सामाजिक सुरक्षा भत्ता छोराले लिएकाे खुलासा

विराटनगर– विराटनगर महानगरपालिका–५ मा एक व्यक्तिले बुबाआमाको निधन भएको लामो समय बितिसक्दा पनि मृत्यु दर्ता नगरी उल्टै सामाजिक सुरक्षा भत्ता लिइरहेको पाइएको छ । विराटनगर महानगरपालिका–५ का ५८ वर्षीय केशव ढकालले बाबुआमाको मृत्यु भइसकेको लामो समयसम्म उनीहरूको नामको सामाजिक सुरक्षावापतको ज्येष्ठ नागरिक भत्ता लिइरहेको पाइएको हो ।

वडा कार्यालयले छानबिन गर्दा केशवका बुबा गोविन्दबहादुर ढकाल र आमा सानुमाया ढकालको यसअघि नै मृत्यु भइसकेको फेला परेको छ । बाबुआमा जीवितै रहेको भनेर उनीहरूको नामको ज्येष्ठ नागरिक भत्ता बुझ्ने केशव शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति हुन् । उनको देब्रे हात चल्दैन । बाबुआमाको संरक्षक बसेर केशवले मृत्यु दर्ता नगरिकन भत्ता लिइरहेको वडाध्यक्ष सन्तोष न्यौपानेले बताए ।

कोही कसैको मृत्यु भएमा ३५ दिनभित्र वडा कार्यालयमा मृत्यु दर्ता गराउनुपर्ने व्यवस्था छ । तर, केशवले बुबा र आमाको मृत्यु दर्ता गराएनन् । जीवितै रहेको भनेर लामो समयदेखि भत्ता बुझिरहेको पाइएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि घटना बाहिर आएको न्यौपानेले बताए ।

‘आर्थिक वर्ष २०८१/०८२ का लागि बायोमेट्रिक विवरणसहित लाभग्राहीको नवीकरण गर्न राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भनेर संरक्षकलाई जानकारी गराउँदा बाबुआमाको मृत्यु भइसकेको भनी शंकास्पद कुरा गरेकाले वडाबाट स्थलगत सरजमिन गरी बुझ्दा बाबुको करिब ११ वर्ष र आमाको चार वर्ष पहिला नै मृत्यु भइसकेको पाइयो,’ महानगरका प्रवक्तासमेत रहेका न्यौपानेले भने, ‘छोराको अत्यन्तै बद्मासी देखियो ।’

वडाध्यक्ष न्यौपानेको रोहबर र वडाका कर्मचारीको उपस्थितिमा केशवका छरछिमेकी एवं टोलबासीले ‘बुबाको करिब ११ वर्षअघि र आमाको २०७७ सालमा मृत्यु भएको ठीक साँचो हो’ भनेर सरजमिन गरिदिएका छन् । वडाध्यक्ष न्यौपानेले केशवलाई कारबाहीका लागि भनेर महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा सिफारिस गरेका छन् । ‘झुटो विवरण र सामाजिक सुरक्षा कार्ड पेस गरी भत्ता बुझ्दै आएको पाइएकाले कारबाहीका लागि पेस गर्दछु,’ सिफारिसमा भनिएको छ ।

वडा कार्यालय वादी रहेको मुद्दा महानगरको न्यायिक समितिमा विचाराधीन छ । महानगरले आवश्यक कारबाही सम्बन्धमा भनेर भदौ २ गते टिप्पणी आदेश तयार पारेको छ । गोविन्दबहादुर ढकाल (परिचय पत्र नं १९८२१२३००४८५३) र श्रीमती सानुमाया ढकाल (परिचय पत्र नं १९९६१२३०२३१०३)का तर्फबाट संरक्षक छोरा केशव ढकालले बाबुआमा अतिअशक्त अवस्थामा रही हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको भनी प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरेर बैंकबाट रकम बुझ्ने गरेको टिप्पणी आदेशमा उल्लेख छ ।

झुटो विवरण पेस गरी संरक्षक, माथवर वा स्याहार गर्ने व्यक्तिले भत्ता दुरुपयोग गरेको वडाको प्रतिवेदनबाट यकिन भएको महानगरको कानुन शाखा प्रमुख शारदा थपलियाले बताइन् । सामाजिक सुरक्षा ऐन, २०७५ को दफा २१ को उपदफा २ मा त्यस्ता व्यक्तिले लिएको रकम असुल गरी बिगो बराबर जरिवाना गर्नुपर्ने व्यवस्था छ ।

थपलियाका अनुसार यस्ता मुद्दाका कारबाहीको टुंगो स्थानीय तहको न्यायिक समितिले लगाउँछ । केशवले भने काजकिरिया गर्न पैसा नभएकाले बुबाआमाको नामको भत्ता लिएको बताए । ‘म गरिब छु । किरिया गर्ने पैसा थिएन । ६ महिनाजतिको भत्ता लिएँ,’ उनी भन्छन्, ‘बुबा ठेकेदार हुनुहुन्थ्यो । म सामान्य ट्युसन पढाएर जीविका चलाउँदैछु । अपांगता भएको मान्छे हुँ ।’

प्रतिक्रिया दिनुहोस्