अनुगमन नहुँदा बजारमा बेथिति मौलायो
बाँके– अनुगमन नहुँदा बजारमा बेथिति मौलाएको छ । कालोबजारी, अखाद्य वस्तुको बिक्री र महँगी नियन्त्रणमा बजार अनुगमन प्रभावकारी हुन नसक्दा बेथिति मौलाएको हो । बजार अनुगमन नियमित र प्रभावकारी हुन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् । उपभोक्ताले बजारमा सधैं ठगिएको गुनासो गरे पनि बजार अनुगमनको जिम्मेवारी पाएका निकाय कानमा तेल हालेर बस्ने गरेका छन् । ठूला चाडपर्व आउँदा नियमनकारी निकाय ताते जस्तो गरे पनि अन्य समयमा मौन बस्दा बजारमा बेथिति बढेको हो ।
हिन्दू धर्मावलम्बीहरुको महान पर्व दशैँ नजिकिँदै गर्दा बजार अनुगमनमा सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । नेपालगन्ज ४ का स्थानीय मानबहादुर क्षेत्रीले नियमित बजार अनुगमन नहुँदा उपभोक्ता ठगीमा परेको बताए । ‘हरेक वर्ष दशैंको बेला गरिने बजार अनुगमन पनि यो वर्ष कतै भएको थाहा पाएको छैन,’उनले भने, ‘नियमित बजार अनुगमन गरी दैनिक उपभोग्य वस्तुको मूल्यसुची नराख्दा उपभोक्ता ठगिने गरेका छन् ।’ खासगरी दैनिक उपभोग्य वस्तुमा मूल्यसुची राख्नुपर्ने उनको भनाइ छ ।
बजारमा मूल्यसूची समेत नराखी आफू खुसी सामान बिक्री वितरण गरिँदा उपभोक्ता ठगिने गरे पनि नियमित बजार अनुगमन नहुँदा बेथिति मौलाएको उनको गुनासो छ । भारतबाट आयात व्यापारमा निर्भर नेपालगन्ज बजारमा अनुगमन नहुँदा व्यापारीको मनमानी भएको उपभोक्ताको गुनासो छ । दशैंको सामान खरिद गर्न नेपालगन्जको एकलैनीमा भेटिएकी विमला सिंह ठकुरीले खुलेआम मिसावट गरिएका अखाद्य वस्तुको बिक्री, म्याद सकिएका खाद्यान्नलगायतका मूल्य पसल पिच्छे फरक फरक लिने गरेको बताइन् ।
बजारमा बेथिति मौलाउँदा पनि नियमनकारी निकायले चाँसो नदिएको उनको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले र उपभोक्ता संरक्षण ऐनमा व्यवस्था भए अनुसार जिल्लामा बजार अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवाला निकाय सम्मिलित समिति गठन गर्ने व्यवस्था रहेको छ । तर यसमा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले खासै चाँसो दिएका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले सरकारी तवरबाट गरिने बजार अनुगमन नियमित तथा प्रभावकारी ढंगले हुन नसकेको स्विकार्दै आगामी दिनमा प्रभावकारी बजार अनुगमनका लागि सम्वन्धित सरोकारवाला निकायसँग समन्वय गरी अघि बढने बताए । ‘दशै नजिकै आईसक्यो,’उनले भने,‘अब हामी बजार अनुगमन गर्ने तयारीमा छौं ।’ चाडवाड नजिकिएसँगै बाँकेका विभिन्न बजारमा दैनिक गुणस्तरहीन उपभोग्य वस्तु बिक्री भइरहेका छन् ।
स्थानीय प्रशासनले नियमित र प्रभावकारी ढंगले अनुगमन नगर्दा बजारमा कालो बजारी, गुणस्तरहीन तथा म्याद नाघेका सामाग्री बिक्री हुनुका साथै नापतौलमा ठगी हुने गरेको छ । चाँडपर्वको मुखमा दाल, चामल खानेतेल, तरकारीलगायतका खाद्यान्न र दैनिक उपभोग्य वस्तुमा मूल्य बढेको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् ।
समग्र बजार उद्योगी तथा व्यापारीको नियन्त्रणमा रहँदा बजारमा बिक्री गरिने वस्तु कम गुणस्तरयुक्त, म्याद नाघेका, कम तौल र महँगो मूल्यका हुने गरेका छन् । तर पनि यस्ता वस्तु खरिद गर्न उपभोक्ताहरु बाध्य छन् । यस्तो अवस्थामा नियामक निकायले प्रभावकारी तरिकाले अनुगमन गरी गलत कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने उपभोक्ताहरुको माग छ ।