मर्केन्टाइलले ल्यायो एआईमा आधारित एसर ब्राण्ड ल्यापटप

काठमाडौं- मर्केन्टाइल अफिस सिस्टमले माइक्रोसफ्टको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको ‘कोपाइलट’ च्याटबट भएको नयाँ ल्यापटप बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रममार्फत् एसरको एआई प्रविधिमा आधारित ल्यापटप सार्वजनिक गरिएको हो ।
एसर स्वीफ्ट, ट्राभल मेट मोडलको ल्यापटप एसरको पहिलो कोपाइलट प्लस कम्प्युटर हो । कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधि प्रयोग गरी विभिन्न कार्यहरू सजिलै गर्नका साथै एकै पटक चार्जमा २० घण्टासम्म लगातार ल्यापटप प्रयोग गर्न सकिन्छ । लामो समय बाहिर रहेर काम गर्नुपर्ने वा यात्रामा रहेका बेला काम गर्नुपर्ने प्रयोगकर्ताका लागि यो उपयोगी हुनेछ ।
कार्यक्रममा एसरको एशिया प्रशान्त क्षेत्रकी प्रमुख लिसीले एआइले काम गर्ने तरिकामा ल्याएको परिवर्तनबारे उल्लेख गर्दै एसरका ल्यापटपले व्यवसायीक र गैरव्यवसायीक दुबै खाले प्रयोगकर्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गरिन् । यस्तै, एसरका प्रोडक्ट स्पेशलिष्ट अल्फ्रेड सोहले एआइमा आधारित एसर ल्यापटपमा प्रयोग गरिएको सफ्टवेयर, द्रूत गतीमा तथ्यांक प्रशोधन गर्ने क्षमता भएको प्रोसेसर लगायतको विशेषताबारे जानकारी दिएका थिए ।
स्न्यापड्रागन एक्स एलिट प्रोसेसरमा चल्ने ल्यापटपको क्षमता ५१२ जीबी छ । १५.६ इन्चको स्क्रिनको ल्यापटपमा १२० हर्ट्जको रिफ्रेस दर छ । एसर ल्यापटपको माउस प्याडमा एआइको प्रयोग भइरहेको संकेत गर्ने छुट्टै संकेत बत्ती छ । कोपाइलटको माध्यमबाट च्याटबोट प्रयोग गरेर विभिन्न कार्यहरू सजिलै गर्न सकिन्छ । ल्यापटपमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विभिन्न उपकरण पनि प्रयोग गर्न सकिन्छ ।
मर्केण्टाइल अफिस सिस्टमका प्रमुख कार्यकारी अधिकृत नविन जोशीका अनुसार एसरले नेपालमा पहिलो को पाइलट प्लस ल्यापटप सार्वजनिक गरेको छ । यसमा च्याटबट समावेश भएकोले ल्यापटप मार्फत् एआइ प्रयोग गर्दा प्रयोगकर्ताले विशेष फाइदाहरू प्राप्त गर्नेछन् । एसरको नयाँ ल्यापटपले ग्राहकहरुको कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।