गण्डकी प्रदेश : आर्थिक कायापलटको अपेक्षा «

गण्डकी प्रदेश : आर्थिक कायापलटको अपेक्षा

प्रदेशको विकासको मेरुदण्डको रुपमा हाल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मध्यपहाडी लोकमार्गलाई लिन सकिन्छ । कसैले विमानस्थललाई विकासको इन्जिन समेत भनेका छन् भने अधिकांश प्रदेशका जनताहरूले आगामी २ वर्षमा उक्त विमानस्थल निर्माण सम्पन्न हुनेमा पूर्ण आशावादी छन् । हाल उक्त विमानस्थलको ५३ प्रतिशत निर्माण कार्य पनि सकिएको छ ।
 

पोखरा – गण्डकी प्रदेश अन्य ६ प्रदेशको तुलनामा धेरै हिसावले अघि छ । यद्यपी यहाँको आगामी एक दशकको यात्रा भने निकै फलदायि र यहाँको जिवनस्तर भने सुधार हुने अपेक्षा गरिएको छ । प्राकृतिक, संस्कृतिको धनि प्रदेश पर्यटन, उर्जा, व्यपापारी केन्द्रको रुपमा पनि विकसित हुँदै अघि बढेको छ । देश संघियतामा गएसंगै विभिन्न प्रदेशहरूले आ–आफ्नो प्रदेशका जनताको जिवनस्तर माथि उठाउन विभिन्न विकासका आधारहरू सार्बजनिक गरी अघि बढेको समयमा गण्डकी प्रदेशले पनि हल्पकालिन,दीर्घकालिन योजनाहरू ल्याएको छ । अन्य प्रदशेको तुलनामा धेरै कुरामा कमि देखिँदैन । साँच्चै भन्ने हो भने गण्डकी प्रदेश छिटो र सजिलो ढंगबाट आर्थिक विकास र समृद्धि हासिल गर्न सक्ने अथाह सम्भावना भएको प्रदेश हो । यहाँ पर्यटनबाट आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ ।
यस प्रदेशमा हावा देखि पानी हुँदै हिमश्रृंखला, प्राकृतिक तथा सांस्कृतिक श्रोत साधन र मानवनिर्मीत भौतिक संरचनाहरूले पर्यटकहरूको मुख्य आकर्षण गर्ने गरेको छ । उत्तरमा हिमश्रृखला देखि पहाड हुँदै समथर जमिन तराई क्षेत्रसम्म जोडिएको जसमा उत्तरी सिमा चिनको कोरला हँुदै दक्षिणमा भारतको सिमाना सुस्तासँग जोडिएको यस प्रदेशमा सडक संजालबाट विकास गर्न सकिने धेरै सम्भावना रहेको छ । गण्डकी प्रदेश मा रहेका ११ जिल्लामध्ये कुन जिल्लामा कुन बिषय बस्तु वा कृषि उत्पादनका हिसावले महत्व राख्छ, त्यसको राम्रोसँग बजार प्रबद्र्धन गरी विभिन्न जिल्ला, प्रदेशहरू हुँदै विदेशसम्म पु-याउन सकिन्छ । विश्वकै उत्कृष्ट शहरहरूमध्य एकमा पर्ने पोखरा गण्डकी प्रदेशको राजधानी हुनुले यस प्रदेशको करिब बिच भाग रहेकोले अन्य जिल्लासंगको कनेक्टिभिटि समेत विस्तार गर्न सजिलो हुनेछ ।

प्रदेशको विकासको मेरुदण्डको रुपमा हाल क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल र मध्यपहाडी लोकमार्गलाई पनि लिन सकिन्छ । कसैले विमानस्थललाई विकासको इन्जिन समेत भनेका छन् भने अधिकाशं प्रदेशका जनताहरूले आगामी २ बर्षमा उक्त बिमान स्थल निर्माण सम्पन्न हुनेमा पूर्ण आशावादी छन् । हाल उक्त विमान स्थलको ५३ प्रतिशत निर्माण कार्य पनि सकिएको छ । सन् २०२१ जुलाई ११ भित्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने गरी नेपाल सरकारको विभिन्न विधि विधान तथा प्रकृया पुरा गरी चाईनिज सि.ए.एम.सी. कम्पनीलाई सरकारले जिम्मा लगाएको छ । राष्ट्रिय गौरवको योजना भित्र रहेको उक्त योजना सफल भएसंगै समग्र प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिन सक्छौं । यहाँ २ सय सिटे अन्तराष्ट्रिय विमानहरू आउन थाले त्यसबाट कति फाईदा लिन सक्छौं, त्यसको लागि अब कस्तो सडक संजाल निर्माण गर्ने, होटल तथा रेष्टुरेट र पर्यटन विकासमा कस्ता पूर्वाधार तथा विदेशी पाहुनाहरूलाई अब कस्तो प्याकेज दिने भन्ने बिषयमा अब आजैबाट त्यसको गृह कार्य गर्न आवश्यक देखिन्छ ।

सिंगापुर र चाइनाले पर्यटनको क्षेत्रबाटै हाल विश्वका करोड बढी पर्यटक आकर्षण गर्ने गरेको छ । थाईल्याण्ड, मलेसिया, दुबई, भारत लगायतका देशका पर्यटकहरू नेपाल आउने वातावरण सृजना गर्न पहिलो सर्त हवाई मार्ग, रुट प्रमिट, भौतिक संरचना आवश्यक छ, पोखरालाई जोड्ने पोखरा काठमाण्डौं, पोखरा भैहरवा, पोखरा बागलुङ राजमार्ग कम्तिमा चार लेनको हँुदा र पोखरा रिङरोड अनि प्रदेशका ८५ वटै स्थानिय तह, ११ जिल्लाका सदरमुकाममा सडक सञ्जालको सहज पहुँच आवश्यक छ ।

गण्डकी प्रदेशले आर्थिक विकास र समृद्धि हासिल गर्न मुख्य आधार पर्यटन नै बनाएकोले आगामी ३ बर्षमा सन् २०२२ मा २० लाख पर्यटक भित्राउले लक्ष्य राखेको प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशका ११ जिल्लाका २ सय ७४ वटा होमस्टेमा प्रदेश सरकारले लगानी गरी ग्रामिण पर्यटनलाई प्रबद्र्धन गर्न खोजेको छ । अल्पकालिन लगानीले दीर्घकालिन मुनाफा हुने गरी प्रदेश सरकारले लगानी गरेको हो ।

प्रदेश सरकारले ५ वर्ष भित्र एक हजार शैयाको अस्पताल निर्माण, १० हजार सिट क्षेमताको सेमिनार हल निर्माण, एमआईसि पर्यटन हल, ३ सय वटा होम स्टे संचालन गर्ने, कोरला देखि सुस्तासम्मको सडक संजाल छिटै जोड्ने, पोखरामा अन्तराष्ट्रिय क्रिकेट र फुटवलको मैदान निर्माण गर्ने, एक सय दिनको लागि पेट्रोलियम पदार्थको संचित गर्ने, ५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने तर्फ प्रदेश सरकारको ध्यान जाने योजना करिब डेढ बर्षअघि नै सार्वजनिक गरेको हो । गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्रको जनसङख्या २४ लाख १३ हजार ९ सय ७ जना रहेको छ भने यस प्रदेश २१ हजार ५ सय ४ बर्ग किलोमिटर फैलिएको छ ।

कृषि र सेवा क्षेत्रले नेपालको आर्थिक समृद्धिमा कायापलट गर्न कठिन हुने हुँदा प्रदेशले हवाई मार्ग र उर्जामा बिषेश जोड दिनु पर्ने गण्डकी प्रदेश, प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले बताए । औधोगिक उत्पादनमा जोड दिनुपर्ने अर्कोको देशमा निर्माण भएको बस्तु तथा सेवा ल्याएर कमिसन व्यापार गर्नुले पनि देशलाई खासै फाइदा भने नहुने उनले जनाए । प्रदेश सरकारले सन २०२२ मा विकासिल रुपमा देशलाई रुपान्तरण गर्न खोजेको र २०३० अर्थाथ ११ बर्षपछि मध्य विकसित मुलुकको रुपमा विकास गर्न खोजिएको योजना आयोगका उपाध्यक्ष डा. पौडेलले बताए । २०७६-०७७ देखि आगामी २०८०-०८१ को लागि कुल पूंजि निर्माणको क्षेत्रगत सिमान्त पूंजी उत्पादन अनुपात कृषिको ३.३ प्रतिशत, उद्योगको ६.१, बिद्युतको १७, शिक्षाको ४.१ र स्वास्थ्यको ८.८ गरी समग्र सीमान्त पूंजी उत्पादन अनुपात ४.९ प्रतिशत रहने अनुमान गरिएको उनले बताए ।
गण्डकी प्रदेशमा पिच गरिएको कालोपत्रे सडक ९ सय ३७ किलोमिटर मात्र रहेको बताएका डा.पौडेलले गण्डकी प्रदेशको राजधानि पोखरालाई मात्र हेरेर समग्र गण्डकी प्रदेशको विकास र पूर्वाधारलाई आकलन गर्न नमिल्ने बताए ।
उनले भने, “हाम्रा ११ जिल्लाका अझै धेरै सडक खन्नु पर्ने अबस्था छ, धुलेबाटोको स्तरउन्नती गर्नु पर्ने छ, विभिन्न जिल्ला सदरमुकामबाट प्रदेश राजधानि जोड्ने, प्रत्यक वडा देखि गाँउपालि वा महानगरसम्म सडक संजाल जोड्नु पर्छ, यो अभियान कम्तिमा ५ बर्ष भित्र पुरा हुन्छ ।” पोखरा अन्तरािष्ट्रय विमानस्थल संचालनमा आएसंगै हवाई उडानका कारण प्रदेशको कुल ग्राहास्थ उत्पादनमा १ प्रतिशत योगदान पुग्ने, आगामी केही बर्षमा ६ सय ९४ मेगावाट बिद्युत उत्पादन गर्दा थप एक प्रतिशत कुल ग्राहस्थ उत्पादनमा योगदान पुग्ने प्रक्षपण गरिएको डा. पौडेलले जनाए । उक्त बिद्युत उत्पादन गर्न करिब २० खर्ब २५ अर्ब लगानी आवश्यक भएको उनले जनाए ।
यसमा निजी क्षेत्रको ५८ प्रतिशत, सार्वजनिक क्षेत्र ३५ प्रतिशत, शहरी क्षेत्र, समुदाय, ८५ वटा पालिका, प्रदेश र संघिय सरकारको समेत लगानी हुन जरुरी रहेको उनले जनाए । पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार जनशक्ति विकास र शुसासनलाई गण्डकी प्रदेशको आर्थिक विकासको लागि मुख्य सम्भाहकको रुपमा ७ क्षेत्रलाई पहिचान गरेको हो ।
उत्पादनमुखी, आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने, स्थानीय उत्पादनसंग सघन सहकार्य गर्ने पर्यटन व्यवसायीको विकास गर्ने, निजि क्षेत्र परिचालन गरी ठुला र जलशाययुक्त जल तथा सौर्य बिद्युत आयोजनाको निर्माण गर्ने, कृषिलाई तान्त्रीकरण र व्यबसायीकरण गरी उच्च उत्पादन र उत्पादकत्व प्राप्त गर्ने, संगठित क्षेत्रमा मझौला तथा ठुला कृषि प्रशोधन र खनिजजन्य उद्योग स्थापना गर्ने, निर्धारित समय र लागतमा गुणस्तरिय र भौतिक संरचनाको निर्माण सम्पन्न गर्ने पद्धतीको विकास गर्ने योजना गण्डकी प्रदेश सरकारले ल्याएको डा. पौडेलले जनाए । अबको केही बर्षमै प्रदेशका ७ सय ५९ वटा वडाबाट प्रशासनिक तथा आर्थिक रुपमा विकसित हुने, ८५ वटा स्थानिय निकायमा पनि यस्तै आर्थिक केन्द्र, ११ जिल्लाका सदरमुकाम, प्रदेशको राजधानिमा समेत आर्थिक केन्द्रको रुपमा विकसित हुने डा. पौडेलले दाबी गरे ।
सबै क्षेत्रबाट आफूहरूले अपेक्षा गरे अनुसार प्रदेश सरकार अघि बढेको खण्डमा आगामी १० देखि ११ बर्षमा प्रदेशका जनताको प्रपित व्यक्ति आय ३ हजार ७ सय २१ अमेरिकि डलर हुने उनले जनाए ।
चालु आर्थिक वर्षमा करिब एक हजार एक सय अमेरिकि डलर प्रदेशको प्रतिव्यत्ति कुल राष्ट्रिय आय रहेको डा. पौडेलले जनाए । उक्त लक्ष्य प्राप्त गर्न आर्थिक बृद्धिदरमा समेत उल्लेखनिय रुपमा बृद्धि गर्नुपर्ने उनले बताए । उनका अनुसार प्रदेशको गत बर्षको आर्थिक बृद्धिदर ७.१ प्रतिशत रहेको थियो भने आमामी २०८०-०८१ मा १०.२ प्रतिशत पु-याउने लक्ष्य राखिएको छ । गत बर्ष को राष्ट्रिय आर्थिक बृद्धिदर ६.८ प्रतिशत र आगामी ४ बर्ष पछि ९.६ प्रतिशत पु-याउने लक्ष्य राखिएको छ । गरिबीको रेखामुनि रहेको राष्ट्रिय लक्ष्य गत बर्ष १८.७ प्रतिशत, आगामी ५ बर्षमा ११ प्रतिशतमा झार्ने लक्ष्य राखिएकोमा प्रदेशले ४ बर्ष पछि ७.४ प्रतिशतमा झार्ने र २०८७ मा २ प्रतिशतमा पु-याउने लक्ष्य राखेको छ । आगामी ५ बर्ष भित्र प्रदेश विश्व बिद्यालय, गण्डकी प्राविधिक प्रतिष्ठान, कालिगण्डकी करिडोरको म्याग्दीको दाना देखि मुस्ताङको छुसाङसम्म बिद्युतको टासमिसनलाइन जोड्ने, पोखरा देखि दुम्किबास सडक मार्ग निर्माण गर्ने, सिद्धार्थ राजमार्गको ४ लेनमा सडक विस्तार गर्ने प्रदेश सरकारका योजना रहेका छन् ।
पोखरा देखि मुग्लीङ सडक खण्ड एडिबिले र काठमाण्डौं देखि मुग्लीङसम्म विश्व बैंकले चार लेनको सडक निर्माण गर्ने भएकोले आगामी केही बर्षमा पोखरा काठमाण्डौं चार लेनको सडक हुने भएको डा.पौडेलले बताए । पोखरादेखि बागलुङ मध्यपहाडी लोकमार्ग अन्र्तगत हाल चार लेनको सडक निर्माण कार्य हुदैछ भने पोखरा भैरहवाको सिद्धार्थ राजमार्गलाई चार लेनको सडक निर्माणको लागि दाताको खोजि भएको उनले जनाए । उत्तरको चिन कोरला नाका देखि मुस्ताङ हुदै वेनि, बाग्लुङ, पर्वत, पोखरा, तनहुँको भिमाद, दुम्किबास, भारतको सिमा त्रिवेणीसम्मको सडक हाल दु्रत गतिमा निर्माण भई रहेको उनले जनाए । उक्त सडक निर्माण भएसंगै छिमेकी दुई देशको व्यापारी केन्द्र प्रदेश हुने डा. पौडेलले जनाए । भैरहवा अन्तराष्ट्रिय विमानास्थल, निजगढ, पोखरा विमानस्थल सहितका विमानस्थल बिच हवाई कनेक्टिभिटि भएसंगै पोखरा ट्रान्जिट प्वाइन्टको रुपमा समेत विकास हुने भएको उनले जनाए ।
गण्डकी प्रदेश आफैमा धेरै सम्भावना भएको प्रदेश भएकोले संघियता कान्वयन भएमा यस प्रदेशको अन्य प्रदेशको तुलनामा धेरै छिटो आर्थिक समृद्धि हासिल गर्ने भएको अर्थशास्त्री लेखनाथ भट्टराईले बताए । उनले भने, “हाम्रो प्रदेशमा पर्यटनको धेरै सम्भावन छ, पर्यटन पूर्वाधारमा लगानी गर्नुप-यो, सरकारले निजी क्षेत्रको सहकार्यमा प्रदेशको विकासमा अघि बढ्न सके १० बर्षमा विकसित मुलुकको दाजोमा पुग्न सकिन्छ ।” छिमेकी मुलुक चिन र भारतको सिमानासंग जोडिएको यस प्रदेशको व्यपार प्रबद्र्धन गर्न सहज हुने अर्थशास्त्री भट्टराईले बताए । प्रदेशको निती तथा योजना आयोगले ल्याएको निती तथा कार्यक्रम कान्वयन भएको खण्डमा हाम्रो प्रदेशमा प्रति व्यत्ति आम्दानी आगामी १० बर्षमा चार गुणा बृद्धि गर्न सकिने उनले जनाए । उनले भने “स्थानिय सरकारले जुन रुपमा विकास बजेट खर्च गरेका छन् सोही अनुसार अब प्रदेश र संघिय सरकारले बजेट खर्च गर्नु प-यो । त्यो भयो भने यस प्रदेशको विकास हुन समय लाग्दैन ।” कृषिमा आधुनिकिकरण गर्दै औधोगिक क्षेत्रमा जोड दिनुपर्ने, भू निती स्पष्ट हुनु पर्ने, व्यापार घाटालाई प्रतिस्थापन गर्नुपर्ने, व्यापारलाई सन्तुलन कायम गर्नुपर्ने उनले सुझाव दिएकाछन्। रेमिट्यान्समा मात्र भर पर्न नहुने बताएका उनले अन्तराष्ट्रिय परिस्थितीले रेमिट्यान्समा प्रभाव पर्ने जनाए । विदेशी ठुला प्रोजेक्ट भित्राउन संघिय सरकारसंगको समन्वयमा लगानी भित्राउनुपर्ने अर्थशास्त्री भट्टराईको सुझाव छ । प्रदेशमा धेरै बिद्युत उत्पादन गरी यातायात देखि खाना पकाउन सम्म विद्युतको प्रयोग हुने गरी बिद्युत उत्पादन गर्नुपर्ने यसले व्यापार घाटालाई समेत घटाउदै लैजाने भएको उनले जनाए । प्रदेश सरकारले राम्रोसँग काम गरेको खण्डमा प्रदेशको भविश्य उज्जल रहेको दाबी गर्दै उनले निती स्पष्ट भएमा प्रदेश १० बर्ष भित्र सवै भन्दा सम्पन्न शालि हुने विश्वास व्यक्त गरे ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले आमामी १० बर्ष पछि प्रदेशको राजजधानि पोखरा अन्तरािष्ट्रय स्तरको सेवा सुविधा भएको शहरको रुपमा विकसित हुने दाबी गरेका छन् । उनले भने, “आगामी एक दशकपछि सवै महेन्द्रपुल जस्तै नहोलान् तर पोखरा शहर अन्तराष्ट्रिय शहरको रुपमा स्थापित भएसंगै यहाँको अत्यावश्यक सेवा सुविधा आम जनताले सहज ढंगले प्राप्त गर्न सक्ने हुनेछन्।” सूचना प्रबिधि, कृषि उत्पादन, यहाँको उत्पादनमा आत्मनिर्भर धेरै जनाको थप लोभ लाग्दो शहर पोखराको रुपमा विकसित भएको हुनेछ, गण्डकी प्रदेश अन्य प्रदेश भन्दा सम्पन्न शालि हुने मेयर जिसीले जनाए ।
आगामी ५ बर्ष भित्र पोखरा क्षेत्रमा सातै दिन २४ सै घण्टा पानीको पहुच, स्वास्थ्य, शिक्षा सेवाको पहुच हुने उनले जनाए । उनले भने “पोखरामा अन्तरािष्ट्रय हवाई उडान भएसंगै यहाँको आर्थिक कृयाकलाप र यस क्षेत्रको पर्यटन क्षेत्रमा उल्लेखनिय रुपमा बृद्धि हुनेछ। पोखरा जोड्ने विभिन्न राजमार्ग चार लेनको हुदा सवै क्षेत्रको व्यापारी केन्द्र पोखरा हुने छ ।” ५ बर्ष भित्रमा पोखरा रिङरोड, पोखरा कनेक्टिभिटि सडक निर्माण कास्कीका ४ गाउँपालिकाहरू उत्पादनमा आत्मनिर्भर हुने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्