भुटानको पर्यटन नीतिः संख्याभन्दा कमाइमा जोड

भुटान सरकारले हाम्रो देशले भन्दा झन्डै २५ वर्षपछि मात्रै आफ्नो देशमा विदेशी पर्यटकलाई पर्यटकका रूपमा घुम्न दिने निर्णय गरेको थियो । आधिकारिक रूपमा भुटानले सन् १९७४ मा मात्रै आफ्नो देश विदेशी पर्यटकका लागि खुला गरेको हो तापनि भुटानले सुरुदेखि नै पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई महत्व दिँदै आएको छ । त्यसैले भुटान सरकारको नारा नै तय गरेको छ, ‘हाई इनकम, लो भोल्युम’ । अर्थात् धेरै आम्दानी थोरै संख्या ।
फलतः भुटान सरकारले आफ्नो देश भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि प्रतिदिन प्रतिव्यक्ति व्यस्त सिजनमा २ सय ५० अमेरिकी र अफ सिजनमा २ सय अमेरिकी डलर खर्च गर्नैपर्ने नियम तोकेको थियो । तर, कोरोना महामारीपछि चाहिँ भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकलाई दुवै सिजनका लागि प्रतिदिन प्रतिव्यक्ति २ सय अमेरिकी डलर मात्रै खर्च गर्नुपर्ने नियम बनाएको छ । तर, यो सहुलियत पाँच वर्ष अर्थात् सन् २०२७ सम्मका लागि मात्र हो ।
सन् २०१९ को अन्त्यतिर सुरु भएको कोरोना महामारीपछि भुटानले आफ्नो देशमा आउने विदेशी पर्यटकलाई पूरै प्रतिबन्ध लगाएको थियो । भुटान सरकारले कोरोना महामारीपछि लगाएको प्रतिबन्ध सन् २०२२ को सेप्टेम्बर २३ देखि खुला गरेको छ । त्यसपछिको लगभग एक वर्ष (२०२३ जुलाई २६ सम्म) मा ७५ हजार १ सय ३२ जना विदेशी पर्यटकले भुटान भ्रमणमा गइसकेका छन् । त्यसमा ४० हजार त भारतीय पर्यटक मात्रै रहेको तथ्यांकमा उल्लेख छ । भुटानको जनसंख्या र भूगोल दुवै आधारमा हेर्दा नेपालभन्दा धेरै सानो देश हो । नेपालभन्दा सानो भए पनि भुटानबाट हामीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।
नेपाल र भुटानको समानता भनेको दुवै हिमाली र भू–परिवेष्टित देश हुन् । भुटान गुणस्तरीय विदेशी पर्यटक भित्र्याउनका लागि हामीले गतिलो पाठ सिक्न सकिने देशका रूपमा रहेको छ । हुन पनि भुटान सरकारले विदेशी पर्यटक भित्र्याउने सन्दर्भमा ‘हाई भ्यालु लो भोल्युम’ भन्ने नारा लिएको छ र सोहीअनुसार व्यवहारमा पनि उतारेको छ । यसरी तुलना गरेर हेर्दाखेरि भुटान र नेपाल सरकारको पर्यटनसम्बन्धी सरकारी नीति, नियम, ऐन, कानुन, विनियम, कार्यविधि, कार्यादेश आदिमा आकाश–जमिनको फरक देखिन्छ । भुटान सरकारले आफ्नो देशमा केवल विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई पर्यटक मानेर आफ्नो देशमा ह्वारह्वार्ती प्रवेश गराउँदैन । भुटान सरकारको ध्यान भनेको आफ्नो देशमा आउने विदेशी पर्यटकको संख्या थोरै नै किन नहोस्, ती पर्यटक गुणस्तरीय (धेरैभन्दा धेरै खर्च गर्न सक्ने लक्जरी÷डिलक्स्) नै हुन् भन्ने कुरालाई निकै ध्यान दिएको देखिन्छ ।
भुटान सरकारको मातहत रहेको टुरिजम काउन्सिल अफ भुटान (टिसिबी) ले प्रकाशित गर्ने गरेको हरेक वर्षको प्रतिवेदन हेर्दा के देखिन्छ भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै प्रतिव्यक्ति दैनिक २ सय अमेरिकी डलर खर्च गर्नैपर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइड सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि पनि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरेर विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टिसिबीले प्रतिव्यक्ति प्रतिदिन खर्चको सीमा तोकिदिएको छ ।
जस्तो कि, अफ सिजन (जनवरी, फेब्रुअरी, जुन, जुलाई, अगस्ट र डिसेम्बर) मा प्रतिव्यक्ति प्रतिदिन २ सय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने पिक सिजन (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) मा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन २ सय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ । स्मरण रहोस्, विदेशी पर्यटक भुटानमा रहँदा तीनतारे होटलमा बस्नुपर्छ । अन्यथा चारतारे वा पाँचतारे होटलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नुपर्ने गरी टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको देखिन्छ । मुख्य कुरो, भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीन जना हुनैपर्ने नियम पनि राखेको छ ।
साथै भुटान सरकारले आफ्नो देश भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक २ सय र २ सय ५० अमेरिकी डलर (सिजनअनुसार) जुन छ, त्यसमध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले सीधै ट्रेकिङ तथा ट्राभल अपरेटरहरूबाट कटौती गर्छ । सो रकम सरकारले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन २ सय र २ सय ५० अमेरिकी डलर (सिजनअनुसार) तिरेपछि उनीहरूको खानपिन खर्चसमेत भुटान रहुन्जेल ट्रेकिङ/ट्राभल कम्पनीले नै बेहोर्छ । भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरू पनि दिएको देखिन्छ ।
जस्तो, भुटान भ्रमण गर्न आउने पर्यटक पाँच वर्षभन्दा कम उमेरको भए भिसा चार्जमा ४० अमेरिकी डलर मात्रै लिन्छ भने सो पर्यटकको बाँकी सम्पूर्ण खर्च सरकारले निःशुल्क बेहोर्छ । त्यस्तै पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ भुटान सरकारले भने विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्मको भए त्यस्तो पर्यटकले डेली प्याकेजमा २५ प्रतिशत छुट पाउँछ । साथै, ११ जनाको समूह भए डेली प्याकेजमा एक जनालाई ५० प्रतिशत छुट दिन्छ । १६ जनाभन्दा माथिको समूह भए डेली प्याकेजमा एक जनालाई शतप्रतिशत छुट दिन्छ । आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टीमा ५० प्रतिशत छुट दिन्छ । १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई शतप्रतिशत रोयल्टी छुट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा मात्रै नलिएर भुटान सरकारले आफ्नो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकलाई विभिन्न सेवासुविधा पनि दिएको देखिन्छ ।
रोचक कुरो के छ भने भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८.७६ प्रतिशत ट्राभल/टुर अपरेटरमार्फत पहिले नै बुक भएर भुटान भ्रमण गर्न आउने गरेका छन् भने सन् २०१९ मा टुरिज्म काउन्सिल अफ भुटान (टिसिबी) ले निकालेको पछिल्लो तथ्यांकअनुसार भुटान आएका विदेशी पर्यटकमध्ये ८९ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने विदेशी पर्यटकको प्रतिव्यक्ति प्रतिदिन बसाइ अवधि भने ६.३५ दिन मात्रै रहेको देखिन्छ ।
त्यस्तै भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ९४.३४ प्रतिशत पहिलो पटक आउने पर्यटक रहेका छन् । स्मरणीय छ, सन् २०१९ मा भुटानमा ३ लाख १५ हजार ५ सय ९९ जना विदेशी पर्यटकले भ्रमण गरेको देखिन्छ । त्यसमा लगभग ७० प्रतिशत अर्थात् २ लाख ३० हजार ३ सय ८१ जना भारतीय मूलका पर्यटकले भुटान भ्रमण गरेका थिए भने ११ हजार ७ सय ७ जना अमेरिकी पर्यटकले भुटानको भ्रमण गरेका थिए । त्यस्तै सन् २०१९ मा ७ हजार ५ सय ८४ जना चिनियाँ पर्यटकले भुटानको भ्रमण गरेको तथ्यांक देखिन्छ । अर्को सुखद कुरो के पनि छ भने १ हजार ४ सय ३८ जना नेपाली पनि पर्यटक भई सन् २०१९ मा भुटानको भ्रमण गर्न गएको तथ्यांकमा उल्लेख गरिएको देखिन्छ ।