Logo

बेवारिसे बनेका मोबाइल भ्यान सञ्चालन हुँदै

काठमाडौं– वर्षाैदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चौरमा बेवारिसे बनेका मोबाइल भ्यान सञ्चालनमा आउने भएका छन् । बेवारिसे मोबाइल भ्यान सञ्चालनका लागि विभागले मर्मत गरी तयार पारेको छ । तीन साताअघि विभागको जिम्मेवारी पाएका विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले दशैंअघि नै मोबाइल भ्यान बजार अनुगमनका लागि प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिए ।

खाद्य स्वच्छताका लागि बजार अनुगमन गर्न खरिद गरेका मोबाइल भ्यान सञ्चालनमा ल्याउन अटेर गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले तीन साताअघि मतिना जोशी वैद्यलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकबाट हटाएर मन्त्रालयमा तानेका थिए । मन्त्री अधिकारीले वैद्यको स्थानमा मन्त्रालयका सहसचिव सञ्जिवकुमार कर्णलाई पठाएका थिए । लामो समयदेखि खुला चौरमा राखेका मोबाइल भ्यान सञ्चालन गर्न मर्मत गरी ल्याइसकेको महानिर्देशक कर्णले जानकारी दिए । लामो समयदेखि बेवारिसे भएपनि भ्यानहरु सडकमा गुडाउन सक्ने अवस्थामै पाइएको उनको भनाइ छ ।

पहिलो चरणको भ्यान मर्मतको खर्च आपूर्तिकर्ताले नै व्यहोरेको कर्णको भनाइ छ । महानिर्देशक कर्णले भने, ‘असोज ६ गते भ्यान आपूर्तिकर्ताले सर्भिसिङ गरी विभागमा ल्याएको छ । भ्यान राम्रैसँग गुड्छन् । अब भित्र रहेका सामग्री र उपकरण हेर्न बाँकी छ । आपूतिकर्तालाई हामीले सबै चेकजाँच गरी विवरण बुझाउन भनेका छौं’ उनले भने, ‘प्राविधिकले दिएको विवरण हेरे भ्यान भित्र आवश्यक पर्ने ल्याबका सामग्रीहरु राखेर दशैंअघि नै दुईवटा भ्यान बजारमा अनुगमनका लागि लगिनेछ ।’

ल्याबसहितमा मोबाइल भ्यानसहित अनुगमन गर्दा बजारमा बिक्री हुने अखाद्य वस्तु नियन्त्रण हुने महानिर्देशक कर्णको भनाइ छ । विभागले चाडपर्व लक्षित बजारमा अनुगमनसमेत सुरु गरेको महानिर्देशक कर्णले जानकारी दिए । बजारमा पाइने दुग्धजन्य वस्तुमा उपभोक्ताबाट गुनासो आएकाले त्यस्ता उद्योग लक्षित गरी अनुगमन गरी रहेको उनले बताए ।

महानिर्देशक कर्णका अनुसार पछिल्लो समय विभागले गरेको अनुगमनमा काठमाडौं उपत्यकाका अधिकांश बजारमा पाइने घिउ नकक्ली, ढुसी परेका, फोहोर भाँडा प्रयोग गरी बिक्री गरेको फेला पारेको छ । फोहोर र ढुसी परेका खाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई विभागले खाद्य ऐन बमोजिम कारबाहीको दायरमा ल्याएको उनले जानकारी दिए । मोबाइल भ्यान आपूर्तिकर्ताका प्रतिनिधि प्रविन कुँवरले मोबाइल भ्यास सर्भिसिङ विभागलाई बुझाएको बताए ।

वर्षाैदेखि खुल्ला चौरमा राखेकाले भ्यान भित्र रहेका ल्याब केमिकलको म्याद सकिए पनि गाडीको अवस्था सामान्य रहेको उनले बताए । उनले भने, ‘बेवारिसे चौरमा वर्षाैदेखि थन्किएका भएपनि सर्भिसिङका लागि हामीले बालाजुसम्म गुडाएर नै लगेका हौं । सर्भिसिङ गर्न केही खर्च भयो । तर, आफ्नै खर्चबाट गाडीको सर्भिसिङ गरि दिएका छौं’ उनले भने, ‘अब भ्यानभित्र रहेका केही प्रविधिक सामग्रीको चेकजाँच गर्न बाँकी छ । विभागले आफ्नो योजना अनुसार सञ्चालन गर्न सक्छ ।’

विभागसँग भएको सम्झौताअनुसार नेपालमै दिन सकिने तालिम दिएको र देशबाहिर दिनुपर्ने तालिम बाँकी रहेको कुँवरले जानकारी दिए । विदेशमा दिनुपर्ने तालिमका लागि पटक–पटक तालिम लिने समय र प्राविधिकको नाम पठाउन पत्राचार गर्दासमेत विभागले कम्पनीलाई जानकारी नगराउँदा रोकिएको उनको भनाइ छ । भ्यान सञ्चालनका लागि ४५ देखि ६० दिनभित्र बाँकी तालिम गराउन कम्पनी तयार रहेको उनको भनाइ छ । ‘सम्झौताबमोजिम कम्पनीका तर्फबाट गर्नुपर्ने बाँकी सबै काम गर्न तयार छौं’ कुँवरले भने ।

सरकारले बजार अनुगमन प्रभावकारी बनाउन २०७५ वैशाखमा चार मोबाइल भ्यान खरिद गरेको थियो । प्रतिभ्यान करिब ७ करोडका दरले २८ करोडमा खरिद गरिएका थिए । विभागले २ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २ वटा भ्यान खरिद गरेका हुन् । भ्यान खरिदमा आपूर्तिकर्ता र विभागका केही कर्मचारीको मिलेमतो भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दा दायरपछि विभागले मोबाइल भ्यानमार्फत बजारमा अनुगमन नगरी बेवारिसे रुपमा फालेको हो । यसअघि विशेष अदालतले मोबाइल भ्यान सञ्चालन गर्न विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २०७९ वैशाख २५ मा नै आदेश दिएको थियो । सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमन प्रभावकारी बनाउने नाममा २८ करोड खर्चेर ४ वटा मोबाइल भ्यान खरिद गरेको पाँच वर्ष भइसकेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि दैनिक रूपमा बजारमा घुम्नु पर्ने यी मोबाइल भ्यान पाँच वर्षदेखि विभाग परिसरमा थन्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्