Logo

शुक्लाफाँटा आउने पर्यटक घटे

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटेका छन् । पूर्वाधार विकास र प्रचारप्रसारको कमीले शुक्लाफाँटा आउने पर्यटक घटेका हुन् । गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुककाबाट आउने पर्यटकहरु समेत पर्यटकीय स्थलहरुको भ्रमण नगरी काठमाडौं र पोखरातर्फ लाग्ने गरेका छन् ।

कञ्चनपुरको ३०५ वर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय आर्कषणका हिसावले सम्भावनाको राम्रो केन्द्र भए पनि उक्त क्षेत्र अपेक्षित प्रचारमा नभएका कारण पर्यटकहरु शुक्लाफाँटा पुग्न सकिरहेका छैनन् । अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरु आए पनि सिधैं काठमाडौं पोखरालगायतका शहर घुम्न जाने गरेको बताए ।

उनले गत वर्षको तुलनामा यो वर्ष विदेशी पर्यटक आउने क्रम बढेको जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सयौंको संख्यामा देखिने बाह्रसिंगेको झुण्ड र घाँसे मैदान यहाँ आउने पर्यटकहरुको मुख्य आकर्षणको रूपमा रहेका छन् । सरोकारवाला निकायले साँधेको मौनता र स्थानीयमा पलाएको निराशाको कारण उक्त क्षेत्रले गति लिन सकेको छैन ।

कञ्चनपुरका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले पूर्वाधारको कमी र सुविधा नहुँदा यहाँ आएका पर्यटकहरु अन्यत्र वास वस्ने गरेको बताए । ‘प्रचारप्रसार र पूर्वाधार अभाव नै यहाँ पर्यटक नबस्ने प्रमुख कारण हुन्’ उनले भने,‘नाकामा पर्यटक सूचना केन्द्र समेत सञ्चालनमा आउन सकेको छैन । हवाई यातायात सञ्चालनमा आउन पनि निकै जरुरी छ ।’ कञ्चनपुरको नेपाल भारत सीमाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने उक्त निकुञ्ज विसं २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरी संरक्षण गरिएको थियो ।

संरक्षणको क्रममा विसं २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षको रूपमा स्थापना भएपछि विसं २०७३ फागुन ९ गते वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिवर्तन गरिएको थियो । आरक्ष राष्ट्रिय निकुञ्जमा परिवर्तन भएसँगै उक्त क्षेत्रका साना तथा ठूला व्यवसायीहरू निकुञ्जका कारण धेरै पर्यटकहरु भित्र्याउन सक्ने भन्दै खुसी भएका थिए । तर, सम्बन्धित निकायबाट हुनुपर्ने संरक्षण र प्रचारप्रसारका कारणले अपेक्षा गरे अनुरुपको प्रतिफलको प्रत्याभूति पाउँन सकेको देखिदैन ।

निकुञ्ज हेर्नका लागि विश्वकै ठूलो, हजारौंको झुण्डमा देख्न सकिने तराईको संरक्षित घाँसे मैदानमध्ये सबैभन्दा ठूलो घाँसे मैदान रहेको छ । ६६५ प्रजातिका वनस्पति, ५३ भन्दा बढी प्रजातिका वन्यजन्तु, ताल तलैया, ३५ प्रजातिका पुतली, करिब ४२४ प्रजातिका चराहरु जसमा विश्वमै दुर्लभ मानिने लेसर भुडिफोर जातको चरा र अन्य विभिन्न कुराहरु यहाँ पाइन्छ ।

निकुञ्जमा सम्बन्धित निकायहरुले गर्नु पर्ने व्यवस्थापन र प्रचारप्रसार कार्य नगरेका कारण अहिले पश्चिमी नाका भएर आउने हजारौं पर्यटकहरु मध्ये करिब १० प्रतिशत मात्र निकुञ्ज भ्रमणका लागि आउँने गरेका छन् । निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक पर्यटकहरु समेत निकुञ्जको प्रचारप्रसारको कमीले पर्यटक नआएको बताउँछन् ।

शुक्लाफाँटा मात्र नभई महाकाली पारिका दोधारा चाँदनीलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुंगे पुल तथा बेदकोट र झिलीमिली तालसम्म सहज पहुँच नहुँदा उक्त क्षेत्र समेत ओझेलमा परेका छन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि राज्य स्तरबाट लगानी हुन नसकेको बताए । पर्यटनको प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसार नहुँदा उक्त क्षेत्र ओझेलमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्