Logo

काम गरेको पैसा नदिएको भन्दै कोषका पदाधिकारीमाथि कुटपिट

हातपातमा उत्रिए निर्माण व्यवसायी

बुटवल– आयोजनामा काम गरेअनुसार बिल भरपाईको भुक्तानी नपाएको आरोप लगाउँदै निर्माण व्यवसायीहरुले सरकारी अधिकारीमाथि हातपात गरेका छन् ।

निर्माण व्यवसायीहरुको एउटा झुण्डले लुम्बिनी विकास कोषका पदाधिकारीमाथि मंगलबार हातपात गरेका हुन् । लुम्बिनी गुरुयोजना अन्तर्गत कोषले निर्माण गर्न लागेका विभिन्न आयोजनामा काम गरेको झण्डै आधा अर्ब रुपैयाँ भुक्तानी नपाएको उनीहरुको आरोप छ ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको लुम्बिनीस्थित फाइभ होटलमा कार्यक्रम भइरहेको बेला निर्माण व्यवसायी सम्बद्ध एक टोली होहल्ला गर्दै आएको थियो । उक्त टोलीमा रहेका मध्ये केही व्यक्तिले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यमाथि आक्रमण गरेको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जना जतिको समूहले लछारेको थियो । आक्रमणका कारण सदस्य सचिव शाक्यको मुखमा चोट लागेको छ । बैठकमा समिति सभापति सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय सभाका सांसद तथा कोषका उपाध्यक्ष ल्हारक्याल लामा पनि थिए ।

गुरुयोजनाको कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरुले केही दिनदेखि लुम्बिनी परिसरमै आन्दोलन गर्दै आएका थिए । कोषले व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएकाले उनले सुरक्षाको माग गरेका छन् ।

यसअघि सोमबार निर्माण व्यवसायीहरुले लुम्बिनीमा काम गरेबापतको भुक्तानी माग गर्दै धर्ना र सडक अवरोध गरेका थिए । चारवटा निर्माण कम्पनीले पूर्व र पश्चिमबाट मायादेवी मन्दिर प्रवेश गर्ने ४ वटा गेटमा धर्ना दिएर सडकसमेत अवरुद्ध पारेका थिए ।

लुम्बिनीमा गुरुयोजनाका लागि विभिन्न निर्माण र सौन्दर्यकरणको काम गरिरहेका खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी राम जानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभीका कर्मचारी, प्राविधिक र उनीहरुलाई सामान आपूर्ति गर्ने व्यवसायीले धर्ना दिएका थिए । खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी राम जानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभीले लुम्बिनी गुरुयोजनाका लागि विभिन्न निर्माण र सौन्दर्यकरणको काम गरेका थिए ।

चारवटा जेभीले काम गरेबापत करिब ४९ करोड भुक्तानी पाउन बाँकी रहेको लामा अपेक्स कमलजित जेभीका साइट इन्चार्ज अनिल शर्मा चिलवालले बताए । यता कोषले भने माग सम्बोधनको पहल भइरहेको जनाएको छ ।

निर्माण व्यवसायीले कोषका पदाधिकारीहरूले कमिसन खोजेर भुक्तानीमा आलटाल गरेर आरोप लगाएका छन् । कोषमा काम गरेको रकम भुक्तानीका लागि अर्थ मन्त्रालयले केही दिनअघि ४४ करोड रुपैयाँ निकासा दिएको थियो । तर, कमिसन खोजेका कारण कोषका पदाधिकारीहरुले विभिन्न वहाना बनाएर रकम भुक्तानी नदिएको व्यवसायीहरुको भनाइ छ ।

यसअघि अर्थ मन्त्रालयबाट खातामा आइसकेको रकम कोषले भुक्तानी नदिई रोकेर राखेको भन्दै निर्माण कम्पनीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री, कोषका पदाधिकारी, सदस्य सचिव तथा जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ज्ञापनपत्र समेत दिएका थिए ।

गत असारमै भुक्तानी हुनुपर्ने रकम अर्थ मन्त्रालयले ढिलो गरी निकासा गरेपछि पर्यटन तथा संस्कृति मन्त्रालयले ४४ करोड रुपैयाँ २२ दिन पहिले कोषको खातामा पठाएको थियो । अर्थ मन्त्रालयबाट रकम ल्याउन पनि व्यवसायीले नै पहल गरेका थिए । अर्थले ४४ करोड रुपैयाँ सबै निर्माण व्यवसायीलाई भुक्तानी दिनुपर्ने र अन्य प्रयोजनका लागि खर्च गर्न नपाउने शर्त राखेर निकासा दिएको थियो ।

अहिले कोषका पदाधिकारीहरुले कोषको केन्द्रीय खाता र सञ्चालन खातालाई देखाएर भुक्तानीमा अवरोध गरेका छन् । निर्माण व्यवसायीले काम पूरा गरेको करिब १० महिना भएको छ । यसको भुक्तानी गत वर्ष नै दिनुपर्ने थियो । लुम्बिनी गुरूयोजना अन्तर्गत सडक, नाली, कल्भर्ट, फुटपाथ लगायत ४ अर्बको निर्माणको काम भइरहेको छ ।

सरकारले गत आवमा राजस्व असुली कम भएको भन्दै निर्माण व्यवसायीको ५० अर्बभन्दा बढी रकम बक्यौता राखेको थियो । निर्माण व्यवसायीहरुले बक्यौता भुक्तानी चाँडो गर्न सरकारलाई पटक–पटक दबाब दिँदै आएका छन् । निर्माण व्यवसायी महासंघको अगुवाइमा भौतिक पूर्वाधार, अर्थमन्त्री र प्रधानमन्त्रीसमेतलाई भेटर भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
सरकारले भुक्तानीको व्यवस्था गर्न नसके आगामी दिनमा कुनै पनि आयोजनामा काम नगर्ने चेतावनी पनि व्यवसायीले दिँदै आएका छन् । चालु आर्थिक वर्षमा भने सरकारले गत वर्ष रोकिएको भुक्तानी क्रमशः दिन सुरु गरेको छ । यो वर्षका २ महिनामा ९–१० अर्ब रुपैयाँ भुक्तानी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्