आठ करोडको इँटा नोक्सान «

आठ करोडको इँटा नोक्सान

दाङ- शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड रुपैयाँ बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा सात करोड ७७ लाख क्षति भएको हो ।
दाङ देउखुरी इँटा व्यवसायी संघका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इँटा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इँटाको मूल्य साढे तीन प्रतिगोटा रहेको र त्यसअनुसार सात करोड ७७ लाखको नोक्सानी भएको अध्यक्ष वलीले जानकारी दिए ।
घोराही क्षेत्रमा १४ तथा तुलसीपुर क्षेत्र र लमही क्षेत्रमा नौ÷नौवटा इँटा उद्योग रहेका छन् । इँटा ओताउने तयारीसमेत गर्न नभएका कारण एक्कासी पानी परेकाले विगतका वर्षमा भन्दा धेरै नोक्सान भएको अध्यक्ष वलीको भनाइ छ । इँटा पार्ने साँचोबाट इँटा झरेपछि लगानीकर्ताको हुने भएका कारण मजदुरभन्दा उद्योगी मारमा परेको व्यवसायीहरु बताउँछन् ।
यसैबीच ठूलो मात्रामा इँटा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले १३ रुपैयाँ प्रतिगोटा पाकेको इँटाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इँटाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्