Logo

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा

भक्तपुर- भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा असोज ९ गतेदेखि १९ गनेसम्म भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हो ।

मंगलबार नेपाल प्रेस सोसाइटीद्वारा भक्तपुरमा आयोजीत कार्यक्रममाफ्त भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले मेला तयारी पूरा भएको जानकारी दिए । भक्तपुरको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धन गर्न भन्दै आयोजना हुन लागेको महोत्सवमा स्थानीय उत्पादन लगायतका करिब १ सय ७० वटा स्टल रहने भक्तपुर चेम्बरमा अध्यक्ष श्रेष्ठले बताए ।

उनले महोत्सव भक्तपुरको आर्थिक गतिविधि सशक्त बनाउने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने एउटा लाइफलाइन साबित हुने विश्वास व्यक्त गर्दै महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै भक्तपुरको व्यापारिक गतिशीलतालाई बलियो बनाउनु रहेको पनि बताए ।

यस्तै, उनले करिब २ लाख ५० हजार अवोलनकर्ताले महोत्सवको अवलोकन गर्ने र त्यसबाट करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको पनि जानकारी गराए । ११ दिनसम्म चेल्ने महोत्सवमा दैनिक उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडादेखि अन्य वस्त्र, हस्तकला, र स्थानीय उत्पादनहरू प्रदर्शमा राखिनेछ ।

साथै, बालबालिकाहरूका लागि बाल उद्यान, रोटेपिङ, डागन रेल, बोटिङ, मिक्की माउस, ट्र्याम्पोलिन लगायतका मनोरञ्जनात्मक खेलहरू पनि राखिने छन् । यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति हुनुका साथै स्थानीय सांस्कृतिक कला र परम्परालाई प्रवर्द्धन गर्ने कार्यक्रम समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्