Logo

११ करोडमा प्रशासकीय भवन बनाउँदै सूर्यगढी

धादिङ– सूर्यगढी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलान्यास गरिएको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने गरी निर्माण गर्न लागिएको भवनको शिलान्यास प्रतिनिधिसभा सदस्य, पूर्वअर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गरेका हुन् । भवन शिलानस कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतले मुलुकको स्थिरता, विकास निर्माण र सुशासनका लागि नेकपा एमालेसँग गठबन्धन गरिएको बताए ।

सूर्यगढीको भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले तोकिएको समयमा नै नयाँ भवनको निर्माण सम्पन्न गरेर पालिकाको सेवा प्रवाहमा अझै थप सुधार हुने विश्वास व्यक्त गरे । नयाँ भवन निर्माणका लागि पालिकाको केन्द्रमा उपयुक्त जग्गा पाउनु निकै राम्रो सफलता रहेको भन्दै प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्दै अघि बढ्ने मुख्यमन्त्री तामाङले बताए ।

जग्गा अभावको कारण लामो समयदेखि रोकिएको नयाँ भवन निर्माण कार्य विभिन्न चुनौती पूरा गर्दै ११ करोड ६ लाखमा नयाँ भवनको ठेक्का लागेको छ । अहिले गाउँपालिकको भवन रहेको नजिकै नयाँ भवन निर्माणका लागि आवश्यक ६ रोपनी जग्गा प्राप्त गर्न सामुदायिक वन र शिवालय मन्दिरसमेत रहेको तथा अन्य विभिन्न बाधा र अवरोध हटाउँदै प्रशासकीय भवन निर्माण गर्ने कार्य अघि बढाएको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले बताए ।

तीनतले भवन बहुविपद् प्रतिरोधात्मक हुनेछ भने गाउँपालिकाको सेवाप्रवाहका लागि चाहिने सबै कार्यालय र शाखा एउटै भवनबाट सञ्चालनमा ल्याउने गरि प्राविधिक डिजाइन गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले बताइन् । नयाँ निर्माण हुने भवनबाट पालिकाको सेवाप्रवाहमा थप सुधार, गुणस्तरीय र सहजता प्राप्त हुने विश्वास सरोकारवालाले राखेका छन् । भवन निर्माणका लागि लगाएको ठेक्का सुशील फुयाँल सञ्चालक रहेको जलकुनी निर्माण सेवाले ११ करोड ६ लाखमा निर्माणको जिम्मेवारी पाएको छ ।

गत असार १२ गते भवन निर्माणका लागि सम्झौता भएअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भनिएको छ । नयाँ भवन निर्माण गर्ने स्थानमा रहेको शिवालय मन्दिरलाई अहिले सोही स्थाननजिकै प्राणप्रतिष्ठा गरेर राखिएको छ । नयाँ भवनको निर्माणपश्चात् भवन प्राङ्गणमा शिवालय मन्दिर निर्माण गरिने गरी संरचनाको डिजाइन गरिएको छ । भवन निर्माणका लागि सामुदायिक वनको ६ रोपनी जग्गा मन्त्रिपरिषद्को निर्णयबाट गाउँपालिकाले आफ्नो नाममा प्राप्त गरेको हो ।

नयाँ बन्ने भवनको पहिलो तलामा ठूलो हलसहित ६ वटा कोठा, दोस्रो र तेस्रो तलमा ११–११ वटा कोठा निर्माण हुनेछन् । पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित सूर्यगढी गाउँपालिकाका जनप्रतिनिधिले भवन बनाउन जग्गाको खोजी थालेका थिए । गाउँपालिकाले सुरुदेखि बजेट छुट्याए पनि जग्गाको अभावमा भवन निर्माण गर्न सकेको थिएन ।

पछिल्लो समय भवन निर्माणका लागि पालिकाको वडा नम्बर– ३ को तीनथुम्के वन क्षेत्रको ६ रोपनी जग्गामा भवन निर्माण गर्न प्रस्ताव गरेर निर्माण कार्यको थालनी गरेपछि उच्च अदालत पाटनमा रोक्नका लागि रिट दायर भएको छ । उक्त रिटको पक्षमा अदालतले फैसला गर्दै वन क्षेत्रमा रहेको मठमन्दिरको र वन क्षेत्रको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले संरक्षण गर्दै उपभोग गर्न सक्ने फैसला गरेपछि पालिकाको भवन बनाउने जग्गा सुनिश्चित भएको छ ।

पालिकाले प्रस्तावित भवन निर्माण गर्ने क्षेत्रमा रहेको दुई हजार वर्ष पुरानो शिव मन्दिरको संरक्षण गर्दै भवन बनाउन पाउने फैसला अदालतले गरेपछि पालिकाले स्थायी भोगाधिकार पाएको छ । पालिकाले वन क्षेत्र बराबरको वन क्षेत्रसँग जोडिएको जग्गा नेपाल सरकारलाई सट्टाभर्ना वा वन नियमावली, २०७९ बमोजिम मूल्यांकनको रकम वन विकास कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।

वन नियमावली, २०७९ बमोजिम पालिकाले ६ रोपनी जग्गा प्रयोग गर्नका लागि वन विकास कोषमा तोकिएअनुसारको राजस्व नौ लाख रुपैयाँ बुझाउनुपर्नेछ । पालिकाका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउन संघीय मन्त्रिपरिषद्ले फागुन १४ गते निर्णय गरेर कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको थियो । अदालतको फैसला कार्यान्वयन गर्दै मन्त्रिपरिषद्ले निर्णय गरेपछि सूर्यगढीको भवन बनाउने प्रक्रिया अगाडि बढेको हो ।

सरकारले सूर्यगढीको प्रशासकीय भवन निर्माणका लागि सूर्यगढी–३ तीनथुम्कीको ६ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले ६ रोपनी वनको जग्गा उपलब्ध गराउन वन मन्त्रालयमार्फत अनुमति दिएको हो । यसअघि जग्गा उपलब्ध नहुँदा पालिकाको प्रशासकीय भवन निर्माण हुन सकेको थिएन । ६ वर्षदेखिको निरन्तर प्रयासपछि सूर्यगढी तीनथुम्कीमा ६ रोपनी जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बताए ।

गाउँपालिकाले जग्गा प्राप्त गरे पनि डिभिजन वन कार्यालय नुवाकोटसँग समन्वय गरेर काटिएको रुखको एक बराबर अन्यत्र १० बिरुवा लगाउनुपर्ने सम्झौता गरिएको छ । सूर्यगढीको प्रमुख प्रशासकीय भवन निर्माण सुरु भएसँगै जिल्लाको अब लिखु गाउँपालिकाको मात्र भवन बनाउन बाँकी छ । लिखुले पनि दुई–तीन स्थानमा जग्गाको टुंगो लगाएर छनोटको प्रक्रिया अगाडि बढाएको जानकारी जिल्ला समन्वय समिति नुवाकोटले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्