Logo

तल्लो सेती जलविद्युतको इआइए प्रतिवेदन बुझाइयो

दमौली– तनहुँमा निर्माण हुन लागेको एक सय २६ मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन विद्युत विकास विभाग र एसियाली विकास बैंकमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेतीको वातावरणीय प्रभाव मूल्यांकन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन बुझाइएको हो ।

आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को एक प्रक्रियाका रूपमा ग्रिड आबद्धताका लागि आयोजनाबाट उत्पादन हुने ऊर्जाको टुंगो लागिसकेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । आयोजनाबाट उत्पादन हुने ५२ करोड युनिट विद्युत वार्षिक ऊर्जा नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने श्रेष्ठले बताए ।

उनले भने,‘आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न ग्रिड आबद्धता सम्झौताका लागि विद्युत प्राधिकरणमा प्रस्ताव पेस गरिएको छ ।’ आयोजनाको अडिट सुरुङ निर्माणका लागि व्यवसायी आयोजनास्थलमा परिचालित भएर काम गरिरहेका छन् । तल्लो सेती जलविद्युत आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि गत फागुनमा आरके इन्जिनियरिङ एण्ड एसोसिएटस्सँग सम्झौता भएको थियो ।

सो बमोजिम निर्माण व्यवसायीले अहिले पहुँच मार्ग, अडिट सुरुङलगायतका इन्जिनियरिङ सर्भे जारी राखेको श्रेष्ठको भनाइ छ । आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धानात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको श्रेष्ठले जानकारी दिए । उनले भने,‘आयोजना सुरु गर्नु पूर्व विभिन्न चरणका परीक्षण हुन्छ । तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल ६.७ किलोमिटरको रहनेछ । त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो ।’

अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङपछि अन्य कामका लागि प्रयोगमा आउने उनको भनाइ छ । डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने अवधि रहेको छ । तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो दिएको छ । उक्त आयोजनाको लागत २५ अर्ब अनुमान गरिएको छ ।

तनहुँ जलविद्युत आयोजनाको एक सय ४० मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाह समेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको संगमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ ।

देवघाट गाउँपालिका – ४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब २ किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँध स्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ ।

प्रतिक्रिया दिनुहोस्