सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा नयाँ योजना
काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले दुईवटा नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ७ औं वार्षिकोत्सवको अवसर पारेर सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमांक रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको बताइएको छ ।
‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यस प्रकारको बीमा योजना नेपालमा पहिलो पटक आफूले सुरुवात गरेको कम्पनीको दावी छ ।
अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा एक लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजनाअन्तर्गत आपतकालिन उपचार गर्दा यसबाट आम नेपालीले लाभ लिन सक्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।