खानेपानी आयोजना सञ्चालन हुने

इलाम नगरपालिकामा ‘इलामबजार साना सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । एसियाली विकास बैंक एडीबीको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो ।
नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको साना सिँचाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । यसअघि देशका विभिन्न क्षेत्रमा पहिलो र दोस्रो चरणका कार्यक्रमका सम्पन्न भइसकेपछि इलाम सहर छनोट भएको बताइएको छ ।
८५ करोडको लागतमा सम्पन्न हुने आयोजना सञ्चालन हुनसके स्थानीयलाई पानी बोक्नुपर्ने समस्या हट्ने छ । उक्त आयोजना सञ्चालन गर्न उपभोक्तले ५ प्रतिशत बिहोर्नु पर्ने जनाइएको छ । आयोजना सम्पन्न भएपश्चात २४ घण्टा नै उपभोक्ताको धारामा पानी झर्ने र आवश्यकता अनुसार चलाउन र सिँचाइ गर्न पाइने भएको छ । प्रतिव्यक्ति दैनिक ९० देखि १०० लिटरसम्म पानी वितरण गरिने बताइएको छ ।
उक्त आयोजना सञ्चालन गर्न स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय र स्थानीय बासिन्दाको समेत स्वीकृति चाहिने भएकाले आयोजनाबारे स्थानीय र राजनीतिक दलका प्रतिनिधिसँग छलफल भइरहेको छ । हाल इलाम नगरपालिकामा प्रतिसेकेण्ड २५ लिटरभन्दा बढी पानी आवश्यक भए पनि हाल ९ लिटरमात्र पानी आउने गरेको छ ।
आयोजना सञ्चालन गर्दा उपभोक्ताबाट लागतको ५ प्रतिशत सहभागिता हुनु पर्नेछ । त्यसका लागि स्थानीय उपभोक्ताले १५ हजार रकम ब्यहोर्नु पर्ने समितिले निर्णय गरेको छ । करिब तीन हजार उपभोक्ताबाट साढे चार करोड रकम उठाउने समितिको लक्ष्य छ । त्यस्तै नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसिदिनु पर्ने आयोजनाको नीति छ । आयोजनाको सम्भाब्यता अध्ययनका लागि विभागले प्राविधिक टोली खटाइसकेपछि विभिन्न बहानामा पानी आउन सकेको थिएन । बढ्दो सहरीकरण, जनघनत्वको कारण इलाम बजारमा पानीको हाहाकार छ ।