Logo

पर्वतको महाशिलामा व्यावसायिक ओखर खेती

पर्वत– जिल्लामा खेतीयोग्य जमिन बर्षेनी बाँझो रहने क्रम बढ्दै गएको छ । बढ्दो युवा जनशक्ति पलायन र बाँदर आतंकका कारण वर्षेनी खेतीयोग्य जमिन बाँझै रहने क्रम बढेपछि जिल्लामै पहिलोपटक व्यावसायिक ओखर खेती सुरु गरिएको छ ।

महाशिला गाउँपालिकामा पहिलोपटक ओखर खेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत गाउँपालिकाका ६ वटै वडामा ओखर खेती सुरुवात गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनिकरणका लागि दाँते ओखर खेती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए ।

अध्यक्ष भुसालका अनुसार गण्डकी प्रदेश सरकारबाट दस हजार बिरुवा प्राप्त भएका थिए भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रममार्फत एक हजार पाँच सय बिरुवा थप गरी ११ हजार पाँच सय बिरुवा रोपिएको छ । पालिकाका झण्डै दुई सय जना कृषकले व्यावसायिक रुपमा ओखर रोपेको अध्यक्ष भुसालले बताए ।

भुसालका अनुसार ओखर रोपेको तीन वर्षदेखि पाँच वर्षभित्रमा फल दिन सुरु गर्दछ । दस वर्षमा पूर्ण रुपमा फल लाग्ने उनले बताए । एउटा बोटले दस वर्ष पुगेपछि चार हजार दुई सय किलो भन्दा बढी दाना उत्पादन दिने अनुमान छ । गाउँपालिकाले प्रतिबिरुवा ४४५ का दरले खरिद गरेर कृषकलाई वितरण गरेको हो । बिरुवा मात्र नभई खाडल खन्न र रोप्नका लागिसमेत पालिकाले अनुदान दिएको थियो ।

रोपेका सबै बोट हुर्किएर फल लागेमा अबको केही वर्षमा कृषकले पर्याप्त आम्दानी गर्न सक्ने भएका छन् । जनशक्तिको अभाव र बाँदरको आतंकले वर्षेनी बाँझो रहेको जमिन ओखर रोपेपछि सदुपयोग भएको पालिकाले जनाएको छ । पालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी प्रदेश सरकारसँग बाँझो जमिन सदुपयोग कार्यक्रमअन्तर्गत एक करोड रुपैयाको सम्झौता गरी ओखर खेती सुरुवात गरिएको हो ।

बाँदर नियन्त्रणका लागि ३० लाख रुपैयाँ बजेट खर्चेर बाँदर समातेर निकुञ्जमा लगेर छाड्ने अभियान थालेपनि नियन्त्रण हुन नसकेपछि पालिकाका कृषकलाई कम क्षति हुने बालिनाली लगाउनतर्फ आकर्षण गर्न थालिएको छ । यसअघि गत वर्षदेखि व्यावसायिक तरुल खेतीसमेत सुरुवात गरेको पालिकाले यस वर्षदेखि व्यावासायिक कागती खेती र सुन्तला खेतीसमेत विस्तार गरेको छ ।

कागतीका १० हजार र सुन्तलाका १० हजार बिरुवा कृषकलाई वितरण गरिएको थियो । त्यसैगरी यस वर्षदेखि मेडाडेमियानट खेती पनि थालिएको छ । जापानीज कटुसको नामले चिनिने मेकाडेमिया नट खेती यस वर्षदेखि परिक्षणको रुपमा लगाइएको छ । झण्डै सात हजार बिरुवा लगाइएको अध्यक्ष भुसालले बताए ।

बाँदरको आतंकबाट मुक्त गरी कम मेहनत र लगानीमा धेरै आम्दानी गर्न सकिने फलफूल खेतीमा कृषकको पनि आकर्षण बढेको उनले बताए । यसअघि धान, मकै, कोदोलगायतका अन्नबाली लगाउन छाडेर बाँझिएको अधिंकाश जमिन फलफूल खेती विस्तार अभियानले सदुपयोग भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्