विवादित प्रसाईं पक्राऊ
काठमाडौं– पछिल्लो समयमा विवादमा आइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले केही दिन अघि प्रसाईंलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । आइतबार प्रहरीले भक्तपुर स्थित निवासबाट प्रसाईंलाई पक्राऊ गरेको हो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएको थियो ।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रसाईंको निवास भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारमा छ । केही वर्षयतादेखि प्रसाईंले जोकोहीलाई पनि गालिगलौज गर्दै आएका थिए । संचार माध्यम र सामाजिक संजालबाट राजनैतिक दलका उपल्ला नेता, कार्यकर्ता, सरकारी कर्मचारी, व्यापारीलगायत धेरै व्यक्ति प्रसाईंको तारोमा थिए ।
उनले भ्रष्टाचार, अनियमितता गरेको भन्दै धेरैलाई आरोप पनि लगाउँदै आएका थिए । गत वर्ष उनको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान चलेको थियो । कर्जा असुल गर्न गएका कतिपय बैंक कर्मचारीलाई पिटने, धम्काउने र कालोमोसो समेत लगाउने गरिदै आएको थियो ।