धिताललाई महालक्ष्मी साहित्य पुरस्कार

हेटौंडा– महालक्ष्मी विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा स्थापित मातृभूमि साहित्य पुरस्कार २०८० मकवानपुरे महाकाव्यकार मुना अर्याल धिताललाई प्रदान गरिएको छ ।
५१ हजार राशीको २१औं पुरस्कार मकवानपुरे महाकाव्यकार धिताललाई शनिबार एक कार्यक्रमकाबीच प्रदान गरिएको हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, महालक्ष्मी विकास बैंकका क्षेत्रीय गभर्नर शम्भु पराजुली, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्ण दाहाललगायतले धिताललाई नगदसहित पुरस्कृत गरेका हुन् ।
हेटौंडामा रही साहित्य सेवा गरिरहेकी महाकाव्यकार मुना अर्याल धितालको ‘महाकाश’ र ‘आत्मसलिल’ गरी दुइवटा महाकाव्य प्रकाशनमा रहेका छन् । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा बर्सेनि यो पुरस्कार प्रदान गर्दै आएका छन् ।
सामाजिक उत्तरदायित्वलाई सक्रिय रुपमा पूरा गर्ने उद्देश्यले २०५९ देखि बैंकले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएको बैंकका शाखा प्रबन्धक अनन्तराज धितालले जानकारी दिए ।