सिटी बसपार्क निर्माणमा ढिलासुस्ती

सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन सीटी बसपार्क निर्माणकार्यमा ढिलासुस्ती भएको छ । ६ नम्बर प्रदेशको अस्थायी मुकामसमेत रहेको सुर्खेतमा बन्न लागेको यो नै ६ नम्बर प्रदेशको सबैभन्दा सुविधा सम्पन्न सिटी बसपार्क हो ।
सुविधासम्पन्न भनिएको बसपार्कको क्षमता भने निकै कम छ । सिटी बसपार्क क्षेत्रभित्र ५६ वटा अस्थायी पसल, यात्रुहरूलाई बस्न छुट्टाछुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट, बगैंचा रहनेछन् । चार हजार पाँच सय वर्ग मिटर क्षेत्रफल रहेको सिटी बसपार्कमा ९० वटा ठूला र २० वटा साना गरी ११० वटा बस अट्ने क्षमता रहेको छ । ६ करोड ८३ लाखमा चाङ्मिला नरसिंह/जेभीले बसपार्क निर्माणको जिम्मा लिएको छ । हाल निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
नगर विकास कोषको ऋण सहयोगमा निर्माण गर्न लागिएको सो बसपार्क सञ्चालन भएपछि वार्षिक एक करोड दुई लाख रुपैयाँ आम्दानी हुनेछ । तर बसपार्क निर्माण पूरा भएको वर्षदेखि नगर विकास कोषलाई वार्षिक रूपमा व्याज र साँवा गरी करिब ८० लाख रुपैयाँ तिर्नुपर्नेछ । वार्षिक साढे पाँच प्रतिशत व्याजमा नगर विकासबाट लिएको ऋण नगरपालिकाले २० वर्षमा चुक्ता गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ऋण २० वर्षमा चुक्ता गर्नु पर्ने भए पनि निर्माणको अवधि २ वर्षमा भने व्याज लाग्ने छैन । १८ वर्षको मात्रै व्याज तिर्नुपर्ने सम्झौता छ ।
२० वर्षसम्म बन्न सकेन
सुर्खेतमा सिटी बसपार्क बन्न पहल सुरु भएको दुई दशक भएको छ । २०५४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित नेतृत्वले नै सिटी बसपार्कको आवश्यकता महसुस गरेको थियो । वीरेन्द्रनगर नगरपालिकाका तत्कालीन प्रमुख बालाराम शर्माले सिटी बसपार्क निर्माणका लागि पहल थालेका थिए । प्रारम्भिक अध्यय गरी नगर विकास कोषबाट ऋण लिने प्रक्रिया पनि त्यसैबेलाबाट सुरु गरिएको थियो ।
सिटी बसपार्क निर्माणमा भने ढिलाइ भएको छ । १५ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी कम्पनीसँग सुरुमा सम्झौता भए पनि दिइएको समयमा निर्माण नसक्दा छ महिनाको समय थप गर्दै गत जेठमा सक्ने भनिएको थियो । थप गरिएको छ महिनामा पनि कम्पनीले निर्माण सकेको छैन । निर्माण कम्पनी चाङमिला नरसिंह/जेभी दार्चुलाले विभिन्न बहानामा निर्माणमा ढिलासुस्ती गरेको छ । अब थप गरिएको समयअनुसार चैत अन्तिमसम्म जसरी पनि कम्पनीले निर्माण सकिसक्नुपर्ने छ । चैतमा पनि निर्माण नसके ऋणदाताले नै हात झिक्न सक्ने सम्भावना रहेको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । ठेकेदार कम्पनीलाई सचेत गराइएको र केही दिनमा काम सुरु हुने इन्जिनियर अधिकारीले जनाएका छन् । उनका अनुसार हालसम्म अस्थायी टहरा (सटर कोठा), पक्की शौचालय २ वटा, वरिपरि पर्खाल, मूल गेट, गार्ड बस्ने घर, मुख्य टर्मिनल भवनको डीपीसीको काम पूरा भएको छ । अब पीच गर्ने काम मात्रै बाँकी रहेकाले तीव्रताका साथ काम गरे एक महिनामा सम्पन्न हुने उनले बताए । समयमै बसपार्क निर्माण नहुँदा सास्ती खेप्नु परेको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले बताए ।
वीरेन्द्रनगरमा निर्माणाधीन सीटी बसपार्क ।