पर्यटन नीति ल्याउने गण्डकी प्रदेशको तयारी
पर्वत– पर्यटन नीति ल्याउने गण्डकी प्रदेशको तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटन नीतिको मस्यौदा तयार गर्ने कार्य सुरु गर्न निर्देशन दिएपछि उक्त तयारी गरिएको हो । पर्वत उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्यालले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नका लागि नीति तथा ऐन बनाउन थालिएको बताए ।
प्रदेश सरकारको आफ्नै पर्यटन नीति नहुँदा पर्यटकीय क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकहरूको व्यवस्थापन र यसबाट प्रदेश सरकारले उचित लाभ समेत लिन नसकिरहेको भन्दै अहिले मस्यौदाको ड्राफ्ट गर्न थालेको बताए । उनले केही महिनामा प्रदेशसभाबाट पारित गर्ने गरी तयारी भइरहेको समेत जानकारी दिए ।
मन्त्री बस्यालले गण्डकी प्रदेशको मुख्य आधारनै पर्यटन भएकाले सकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि पर्यटकीय क्षेत्रहरूको पुर्ननिर्माण, संरक्षण, सम्वद्र्धन र पहिचान भइरहेको उनको भनाइ छ । मन्त्री बस्यालले पोखरामा मात्र सीमित नराखी ११ वटै जिल्लाका सम्भावनायुक्त ठाउँमा पर्यटकलाई पुर्याउने र थप गन्तव्यस्थल विस्तार गर्दै लगिने बताए ।
अर्को प्रसंगमा मन्त्री बस्यालले दुई ठूला छिमेकी चीन र भारतले उत्पादन गरेका उत्पादनलाई रोक्न नसकिने तर देशमै साना तथा घरेलु उद्योगहरू सञ्चालन गर्नुपर्ने बताए । चीन र भारतले उत्पादन गरेका सामग्री तथा खाद्य वस्तुहरू विश्व बजारमा पुगिरहेको अवस्थामा ती वस्तुहरूको आयात रोक्न नसकिने उनको भनाइ थियो । आयातलाई कम गर्न प्रदेशका हरेक जिल्लामा सम्भावित साना उद्योगहरू सञ्चालन गर्न सकिने मन्त्री बस्यालले बताए ।
‘चीन र भारतका उत्पादन ल्याउन रोकेर हामीलाई आवश्यक पर्ने वस्तुहरूको उत्पादन यहीँ गरेर धान्न सकिने अवस्था छैन । बरु यहाँ साना तथा घरेलु उद्योगहरू सञ्चालन गरेर यहाँका स्थानीय वस्तुहरूलाई निर्यात गर्न सकिन्छ’, उनले भने,‘पर्वतको पर्यटन उद्योगको सम्भावना धेरै राम्रो हुँदै आएको छ । प्रदेशबाट हुने काम प्रदेशबाट र नसकेका कामका लागि संघीय सरकारमा जाउँला ।’
छिमेकी भारतबाट वर्षेनी ठूलो संख्यामा पर्यटक तथा तीर्थयात्री पोखरा–पर्वत हुँदै मुस्ताङको मुक्तिनाथ जाने गरेकाले उनीहरू पर्वतमा पनि रमाउने वातावरण तयार गर्नुपर्ने मन्त्री बस्यालको भनाइ छ । पर्वत सदरमुकाम कुश्मा हुँदै दैनिक सयौँ पर्यटकहरू मुस्ताङ प्रवेश गरिरहेको अवस्थामा त्यसको फाइदा उठाउनको लागि जिल्लामा धार्मिक पर्यटनको विकास गर्नु पर्नेमा उनले जोड दिए । त्यसका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेकोले आफू सहकार्यका लागि तयार रहेको बस्यालको भनाइ छ ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी पौडेलले उद्योगको विकासको लागि प्रदेश सरकारले केही सुधारका कामहरू गर्नुपर्ने आवश्यकता रहेको बताए । केही वर्षसम्म उद्योग तथा व्यवसाय नवीकरण गर्न नसकेका व्यवसायीहरूलाई नवीकरण गर्ने बेलामा १० औँ गुणासम्म जरिवाना तिराउनु र बन्द गर्न खोज्दा बन्द गर्न पनि नदिनु गलत भएको उनको छ ।