Logo

मेरो पालिका

पूर्वाधार विकासमा गति लिँदै पातारासी

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा

जुम्लाको पातारासी गाउँपालिकाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा चन्दननाथ नगरपालिका, उत्तरमा कनकासुन्दरी गाउँपालिका र दक्षिणमा गुठीचौर गाउँपालिका पर्दछन् । गाउँपालिकाको केन्द्र पातारासी–५ लासी बजारमा तोकिएको छ ।

पातारासी गाउँपालिका कृषि, पर्यटन, जडीबुटी र जलविद्युतमा प्रचुर सम्भावना बोकेको पालिका हो । विश्वकै अग्लो स्थानमा मार्सी धान उत्पादन हुने छुमचौर ज्युलो, एक रुपैयाँको नोटमा भएको चंखेली हिमाललगायत धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थललगायत कृषिका प्रशस्त सम्भावना पातारासीमै छन् ।

पातारासीका कृषि, पर्यटन, विद्युत, जडिबुटि लगायतका सम्भावनालाई अवसरमा रुपान्तरण गर्न पूर्वाधार विकासलाई विशेष प्रथामिकता दिइएको छ । भौगोलिक रुपमा विकट पातारासीका २६ वटै गाउँ बस्तीलाई संघीयता कार्यान्वयन र स्थानीय सरकारको अनुभूति दिलाउने गरी पूर्वाधार विकासलाई विशेष जोड दिइएको छ ।

संघियताको स्थायित्वका लागि स्थानीय सरकार संरचनाका हिसाबले आत्मनिर्भर हुनुपर्छ । पालिकाको प्रशासकिय भवन, वडा भवन, विद्यालय, स्वाथ्य चौकी देखि गाउँगाउँमा सडक, पर्यटन पूर्वाधारमा लगानी गर्नु जरुरी छ । सोहीनुसार हामीले पातारासीका सबै गाउँमा सडक पु¥याइसकेका छौं । अब ती सडकको सुधार र नियमित सञ्चालनमा जोड दिँदैछौं ।

सिमि, कोदो, फापर, मकै, आलु लगायतका रैथाने अन्नबाली उत्पादनका हिसाबले पातारासी जिल्लाकै अन्न भण्डारका रुपमा रहेको छ । तर, सडक पूर्वाधार अभावका कारण सबै गाउँको उत्पादनले बजार पाउन सकेको छैन । किसानको जीविकोपार्जनमा सुधार ल्याउन र उत्पादनको बजारीकरणलाई ध्यानमा राखी सडक पूर्वाधार विकासमा जोड दिइएको छ ।

पातारासीका २६ वटा गाउँबस्तीका ३५ सय घरधुरीलाई पाँच वर्षमा पूर्ण विद्युतको पहुँचमा पुर्‍याउने लक्ष्य राखिएको छ । पातारासीको भौगोलिक स्थितीलाई मध्यनजर गरी विगतका जनप्रतिनिधि र हामीले सडक लगायतका पूर्वाधार विकास र स्तरवृद्धिलाई प्राथमिकतामा राखेका छौं । सातवटै वडामा सडक पुगिसकेका छन् । स्तरवृद्धि नहुँदा सबै गाउँमा यातायात पहुँच पुग्न सकेको छैन । यद्यपि मोटरसाइकल भने गुडिरहेकै छन् ।

बढ्दो रैथाने बालीको उत्पादन वृद्धि, छुमचौर ज्युलोको पर्यटन प्रवद्र्धन, पुल निर्माण र सातवटै वडामा पुगेका सडकको स्तरवृद्धिमा लगानी बढाइएको छ । पातारासीका विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन तथा पर्यटन प्रवद्र्धनका लागि सडक स्तरवृद्धिमा जोड दिएको हो ।

जिल्लाका आठ स्थानीय तहमध्ये पातारासी विद्युतमा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि १ सय किलोवाटसम्मका १६ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । पातारासीका ७ वटै वडामा रैथाने बाली उत्पादन वृद्धिका लागि एक वडा एक पकेट क्षेत्रसमेत निर्धारण गरिएको छ ।

पातारासीमा गत पाँच वर्षमा डेढ दर्जनभन्दा बढी विभिन्न ऐन–कानुन निर्माण भएका छन् । नयाँ जनप्रतिनिधि आइसकेपछि नयाँ नीति बनेका छैनन् । पातारासीका चारवटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् । पातारासीका सातवटै वडाका २६ बस्तीमा सडक पुगेका छन्, तर स्तरवृद्धि नहुँदा यातायात पहुँच पुग्न सकेको छैन । जसका कारण चालु आवमा सडक स्तरवृद्धिलाई पहिलो प्राथमिकता दिइएको छ ।

गत आर्थिक वर्षमा मात्रै पातारासीले २ सय ६४ वटा योजना निर्माण गरेको छ । पातारासीका ७ वटा वडामा २ सय ६४ वटा योजना सम्पन्न भएका हुन् । पालिकाको भौगोलिक विकटता र गाउँवस्तीको आवश्यकतालाई मध्यनजर गर्दै पूर्वाधार विकासलाई गति दिँदै आएको पातारासीले गत आव २०८०–८१ मा १३ करोड ९७ लाख लगानीमा २ सय ६४ वटा योजना निर्माण गरेको छ ।
त्यस्तै, पातारासीमा गत आवमा दुई किमी ग्राभेल सडक निर्माण, ६ किमी ग्रामिण सडक, १३ किमी घोरेटो बाटो,४ किमी ५७० मिटर सोलिङ सडक, ४७ सय ९० मिटर आरसिसि सडक र नदी नियन्त्रण ११ सय ५० मिटर निर्माण भएको छ । पातारासीमा शिक्षाको अवस्था नाजुक छ । बालविवाह उत्तिकै रुपमा बढी रहेको छ । तर समुदायस्तरबाट पूर्वाधार विकासका योजना बढी माग भई आउने भएकोले आवश्यकता सामाजिक विकास भए पनि लगानी बढी पूर्वाधार विकासमा देखिएको छ ।

पातारासीलाई कृषि र पर्यटनमा आत्मनिर्भर बनाउन पूर्वाधार विकासमा जोड दिए पनि पातारासीको उत्पादनले अपेक्षित रुपमा बजार पाउन सकेको छैन । पर्यटन क्षेत्रमा पनि पर्यटक आगमन बढेको छैन । यसका लागि सम्भावना भएका क्षेत्रमा बढी लगानी गर्न पालिकाले ठोस नीति बनाउने तयारी गरेको छ ।

प्रदेशः कर्णाली
जिल्लाः जुम्ला
पालिकाः पातारासी
अध्यक्षः पूर्णसिंह बोहोरा
उपाध्यक्षः जनमाया रोकाया
प्रमुख प्रशासकीय अधिकृतः लोकबहादुर रावल
वडा संख्याः ७
जनसंख्याः १७ हजार
घरधुरीः ३ हजार ४ सय

प्रतिक्रिया दिनुहोस्