एडीबीका आयोजनामा ८८ प्रतिशत खर्च «

एडीबीका आयोजनामा ८८ प्रतिशत खर्च

एडीबीले शुक्रबार आयोजना गरेको सन् २०१८ को पहिलो समीक्षा बैठकमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा अघि बढाएका आयोजनामा ८८ प्रतिशत खर्च भएको छ ।
एडीबीले शुक्रबार आयोजना गरेको सन् २०१८ को पहिलो समीक्षा बैठकमा सन् २०१७ मा ८८ प्रतिशत काम भएको देखाएको हो । बैठकमा एडीबीले ३३९ मिलियन डलर भुक्तानीको लक्ष्य राखेकोमा २९८ मिलियन डलर अर्थात् ३० अर्ब प्राप्ति भएको जानकारी दिएको छ । यो सन् २०१६ को तुलनामा बढी हो । लक्ष्य प्राप्तिमा आयोजनाहरूको अवस्था र प्रगति सन्तोषजनक देखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको प्रगति सन्तोषजनक छैन । एडीबीको पोर्टफोलियो म्यानेजमेन्ट नेपाल रेसिडेन्ट मिसनकी युनिट हेड सरोस खानले एडीबीले सहर र खानेपानी, ऊर्जा, यातायात, कृषि र प्राकृतिक स्रोतलगायतका क्षेत्रमा ऋण र अनुदानको रकम लगानी गर्दै आएको जानकारी दिँदै २.४ खर्ब रुपैयाँ लगानी गरिरहेको एडीबीले ६२ प्रतिशत कन्ट्याक्ट दिइसकेको र ३८ प्रतिशत भुक्तानी दिएको जानकारी दिए ।
कार्यक्रममा एडीबीका देशीय निर्देशक मुख्तोर खादाखनोभले मेलम्ची खानेपानी आयोजनामा वातावरणीयका साथै नीतिगत सुधारजस्ता चुनौती रहेको जानकारी दिँदै सन् २०१७ एडीबीद्वारा लगानी गरिरहेका आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए ।
कार्यक्रममा एडीबीले सञ्चालित आयोजनामध्ये उत्कृष्ट आयोजना, व्यवस्थापन, समूह र ठेकेदार कम्पनीलाई सम्मान गरेको छ । सार्वजनिक खरिद प्रक्रियामा उत्कृष्ट परियोजना समूहतर्फ भूकम्प आकस्मिक सहायता परियोजनाका साथै नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रसारण तथा वितरण दक्षता विस्तार र सासेक (दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग कार्यक्रम) विद्युत् प्रणाली विस्तार आयोजनालाई सम्मान गरिएको छ ।
यसैगरी उत्कृष्ट आयोजना व्यवस्थापन समूहको पुरस्कार सामुदायिक सिँचाइ, सासेक सडक सञ्जाल र बागमती नदी बेसिन सुधार आयोजनाले पाएका छन् । वातावरण तथा सामाजिक सेफगार्ड अनुगमनतर्फ उत्कृष्ट परियोजनातर्फ सासेक सडक सञ्जाल परियोजना र लंैगिक समानता र सामाजिक समावेशीतर्फको उत्कृष्ट परियोजना समूहमा हाइमाउन्टेन एग्रिबिजिनेस एन्ड लाइलीहुड तथा काम गर्ने कम्पनीमा कालिका कन्सट्रक्सन र चाइना ग्यान्जाओ–शर्मा जेभी सम्मानित भएका छन् । अर्थसचिव शंकर कोइरालाले उनीहरूलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्