Logo

कृषिलाई आम्दानी र रोजगारीसँग जोड्न सकिएन भने खाद्य संकटको चुनौती छ

गरिबी र भोकमरी अन्त्य गर्ने उद्देश्यले विश्वका १९ देशमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेसनलले आफ्नो ८० औं वार्षिकोत्सव सिन्धुलीको कमलामाई नगरपालिकामा मनाउँदै छ । नेपालमा करिब साढे दुई दशकदेखि काम गरिरहेको हेफरले अहिले विभिन्न स्थानीय तहसँगको सहकार्यमा कृषि तथा पशुपालनको माध्यमबाट आर्थिक अवस्था कमजोर भएका र जीविकोपार्जनमा समस्या भएका महिलालाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पशु चिकित्सामा सरकारी सेवाको अनुभव सँगालेका डा. तीर्थराज रेग्मी २१ वर्षदेखि हेफरमा कार्यरत छन् । डा. रेग्मी अहिले हेफर इन्टरनेसनल नेपालको राष्ट्रिय निर्देशकका रूपमा कार्यरत छन् । किसानलाई कृषि तालिमदेखि बजारीकरणसम्मका काममा सहयोग गर्दै आएको हेफर इन्टरनेसनलका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीसँग कारोबारकर्मी दीपेन्द्र थापाकौशिला कुँवरले गरेको कुराकानीको सार :

हेफर इन्टरनेसनलले ८० औं वार्षिक उत्सव नेपालमा मनाउँदै छ । विभिन्न देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा आफ्नो वार्षिक उत्सव मनाउनुको उद्देश्य के हो ? हेफरले आफ्नो वार्षिकोत्सव नेपालमा मनाउँदै गर्दा यसबाट नेपालले के–कस्तो लाभ लिन सक्छ ?
हेफर इन्टरनेसनलले आफ्नो वार्षिक उत्सव सिन्धुलीको कमलामाई नगरपालिकामा मनाउँदै छ । विभिन्न देशमा सञ्चालित कार्यक्रम तथा परियोजनामध्ये नेपालमा चलिरहेका कार्यक्रमको प्रभावकारिता र सफल कार्यान्वयन भएका कारण पनि प्राथमिकतामा परेको हुन सक्छ । वार्षिकोत्सव कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्री, प्रदेश तथा स्थानीय तहका सरकारका प्रतिनिधिसँगै हेफरलाई सहयोग गर्ने ठूला सहयोगदाता (डोनर) पनि सहभागी हुनुहुन्छ ।

एसियाली मुलुकका केही राष्ट्रिय निर्देशकहरू पनि आइसकेका छन् । हेफरबाहेक अन्य विभिन्न गैरसरकारी संस्थाको नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूको पनि त्यहाँ सहभागिता रहनेछ । सामाजिक रूपान्तरणका हिसाबले र साना तथा गरिब किसानको जीवनस्तर उकास्नका लागि हामीले गरेका कामको अवस्था उहाँहरूले थाहा पाउनुहुनेछ । त्यसले हाम्रो कार्यक्रमको निरन्तरता र यसलाई थप फैलाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ र थप काम गर्न सहयोग पुग्ने अपेक्षा हाम्रो छ । नेपालको काम राम्रो भएका कारण पनि नेपाल प्राथमिकतामा परेको हो ।

हेफर इन्टरनेसनले मुख्य गरी नेपालको कृषि र पशुपालन (दुग्ध तथा मासु) क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । कोरियामा भएको युद्धको समयमा हेफर इन्टरनेसनले हेफर कोरियालाई उन्नत जातको गाई सहयोग गरेको थियो । ती गाईबाट कोरियाका किसानको जीवनस्तर बढ्नुका साथै कोरियाले विशेष गरी डेरी उत्पादनमा संसारकै तेस्रो उत्पादकत्व बढाउने देशमा आफूलाई विकास गरेको छ । हाम्रो योजना कोरियाबाट उन्नत जातका चार सय गाई नेपालमा ल्याउने थियो ।

कोभिडका कारणले हामीले ल्याउन सकेनौं । त्यो समयमा भर्खर कोरियामा हेफरको अफिस स्थापना भएको थियो । कोरियाको युद्धमा परेका घरपरिवार र त्यहाँका सहकारीले उन्नत जातका गाईबाट निकै विकास गरिसकेका थिए । अनि कोरिया सरकारसँग समन्वय गरेर एक सय गाई र आठ वटा साँढे उपहारस्वरूप नेपाललाई दिएको थियो । उन्नत जातका गाई इतिहासमा पहिलो पटक कोरिया सरकारले नेपाललाई उपहारमा दिएको थियो । हाम्रो नेपाली घरपरिवार गाउँ, समुदायमा त उपहार दिने परम्परा नै हो ।

तर, अर्काे देशले पनि यसरी गाई भौंसी उपहार दिएर दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन सक्छ भन्ने एउटा सकारात्मक सन्देश दिन पनि अहिले ८० औँ वार्षिकोत्सव नेपालमा मनाउन थालेको हो । यो कार्यक्रमको मुख्य उद्देश्य उपहार दिएर पनि दुई देशबीचको सम्बन्ध राम्रो बनाउन सकिन्छ भन्ने एउटा सकारात्मक सन्देश दिनु पनि हो । तर, उपहार प्रदान भनेको एउटा शक्तिशाली माध्यम रहेछ । एउटा देशबाट अर्काे देशलाई उन्नत जातका गाई नस्ल सुधारका लागि उपहार दिन सक्ने रहेछ भन्ने एउटा महत्त्वपूर्ण सन्देश दिन पनि यो कार्यक्रम नेपालमा आयोजना गर्न लागेको हो ।

कोरियाले यति धेरै गाई उपहार अन्य देशलाई दिएको छैन, नेपाललाई मात्र दिएको छ । हाम्रो एउटा गाउँ समुदायबाट मात्र नभएर एक देशले अर्काे देशलाई उपहारस्वरूप उन्नत जातका पशु दिएर नस्ल सुधार गर्न सकिने रहेछ भन्ने नेपाल एउटा उदाहरणीय स्थल बनेको छ । यसैगरी कोरियाले दिएका उक्त गाईका बाच्छी अर्काे परिवारलाई उपहारमा हस्तान्तरण पनि गर्न लागेको र यो उपहारको महत्त्वलाई व्यापक बनाउनपर्छ भन्ने उद्देश्यले पनि नेपालमा ८० औँ वार्षिकोत्सव मनाउन लागिएको हो ।

हेफरको ८० औँ वार्षिकोत्सव कार्यक्रम हेफरलाई सहयोग गर्नुहुने अन्य सहयोगदाताको पनि सहभागिता हुँदै गर्दा यहाँहरूले उनीहरूसँग नयाँ परियोजनामा काम गर्नका लागि प्रस्ताव गर्ने केही तयारी छ ?
यो परियोजनामार्फत सिन्धुलीमा हामीले ८० वटा गाई वितरण गर्‍यौं । २० वटा गाई र ८ वटा साँढे नेपाल सरकारका विभिन्न फर्ममा वितरण गरेका थियौं । यसका उद्देश्य त्यहाँ मात्र सीमित गर्ने नभएर यसबाट अन्य स्थानमा पनि फैलाउने हो । अहिले दुईवटा साँढेबाट करिब २० करोड जतिको प्रजननयोग्य वीर्य उत्पादन भइरहेको छ । आठवटा साँढेबाट उत्पादन भएको वीर्यबाट सिन्धुलीमा केही बाच्छाबाच्छी पनि जन्मिएका छन् । यसरी नै क्रस ब्रिडिङ गर्दै जाने हो ।

अहिले कृषि तथा पशुन्छी विकास मन्त्रालय र प्रदेश सरकारले पनि यस खालका उन्नत जातका गाई उत्पादन गर्ने स्रोतकेन्द्र तथा ‘मोडल डेरी भिलेज’ विभिन्न प्रदेशमा बनाउने योजना अघि सारेका छन् । हामी केही उन्नत नस्लका गाई बाहिरबाट ल्याउने सोचमा छौँ । यसका लागि हामीले नेपाल सरकारसँग पनि सल्लाह गरेका छौँ । नेपाललाई दूधमा आत्मनिर्भर बनाउन यहाँ रहेका गाईलाई देशभर फैलाउने योजनासँग आवश्यकताअनुसार योभन्दा फरक उन्नत जातका गाई ल्याउने योजना हाम्रो छ । साथै ‘मिल्की वे’ परियोजना थप विस्तारका लागि पशु विभागसँग सम्झौता र सहकार्य भएको छ ।

हेफर र विभागसँगको सम्झौतामा विशेष तीनवटा मुख्य योजना छन् । सिन्धुलीमा चलिरहेको ‘कोरिया–नेपाल मोडल डेरी भिलेज’ बाट उत्पादन भएका साँढेहरू नेपाल सरकारको राष्ट्रिय पशु प्रजनन कार्यालयलाई दिने र यसलाई हुर्काएर उनीहरूले प्रजननयोग्य वीर्य उत्पादन गरी देशव्यापी फैलाउने योजना छ । त्यसमा हेफरको भूमिका भनेको सिन्धुलीको मोडल डेरी भिलेजमा रहेका गाईबाट जन्मेका राम्रो नस्लका बाच्छाबाच्छी विभिन्न स्थानमा पुर्‍याउनु हो । हाल त्यहाँ ५१ परिवारमा उन्नत नस्लका गाई छन् भने हाम्रो लक्ष्य पाँच सय परिवारमा पुर्‍याउने हो ।

साथै, हेफरले राष्ट्रिय पशु प्रजनन कार्यालयमा कार्यरत कर्मचारीको क्षमता विकासमा सहयोग गर्ने योजना पनि रहेको छ । हाम्रो मुख्य योजना हामीसँग भएका साँढेबाट वीर्य उत्पादन गरी उच्च नस्लका गुणस्तरीय गाईका बाच्छाबाच्छी उत्पादन बढाउने र नेपालमा दूधमा आत्मनिर्भर बनाउने हो । डेरी क्षेत्रको क्षमता अभिवृद्धिसँगै गुणस्तर कायम गर्ने गरी यो क्षेत्रमा काम गर्ने योजना छ । यसमा हेफर, पशु सेवा विभाग र कृषि मन्त्रालयको सहकार्य रहनेछ । विशेष गरी उन्नत जातका गाईको नस्ल सुधार, क्रस ब्रिडिङ, दूध उत्पादनको क्षमता वृद्धि र देशभरकै दूधको स्केलिङमा काम गर्ने योजना छ ।

दुग्ध क्षेत्रबाहेक हेफरले पछिल्लो समय कुन–कुन क्षेत्रमा काम गर्दै आएको छ र हाल नेपालमा हेफरका कति परियोजना सञ्चालनमा छन् ? हाल हेफरले कति जिल्लामा आफ्नो परियोजना सञ्चालन गर्दै आएको छ ?
मुख्य गरी हेफरले हाल नेपालमा तीनवटा क्षेत्रमा काम गर्दै आएको छ । हेफरको मुख्य सिद्धान्त भनेको मानिसहरूको मानसिकताको विकास हो । बाहिरको वातावरण विकास भएर मानिसको मानसिकता परिवर्तन नभए विकास हुन सक्दैन भन्ने सिद्धान्त र मान्यता हेफरको छ । त्यहीअनुसार हेफरले जुन क्षेत्रमा काम गर्दै आएको छ त्यहाँ पहिले मानिसको व्यक्तिगत रूपान्तरण हुने गरी काम गरिरहेको छ । यसमा आर्थिक, सामाजिकलगायत सबै क्षेत्र पर्छन् ।

जस्तो मनोबल बढाउनेदेखि लिएर क्षमता अभिवृद्धि, सामाजिक समानता, आर्थिक आयआर्जन बढाउने, सहकारीको क्षमता वृद्धि र बजार विस्तारलगायतका विभिन्न काम गर्ने गरेको छ । हालसम्म हेफरले सञ्चालन गरेका परियोजनाबाट पहिलो र दोस्रो चरण गरी करिब ६ लाख ४० हजार घरपरिवार लाभान्वित भएका छन् । यो परिवार भनेको आर्थिक आय आर्जन गर्नेदेखि बजारसँग जोडिनुका साथै सहकारीसमेत आबद्ध भएका परिवार हुन् । यसैगरी हेफरले विभिन्न भैपरी आएका विपदको समयमा पनि सहयोग गर्दै आएको छ । यस्तै हेफरले विगतका गरेको कामको कुरा गर्ने हो भने नेपाल सरकारसँग मिलेर खसीबोकामा आत्मनिर्भर बनाउने काम गरेको छ ।

हेफरले विशेष गरी नेपाल सरकारको राष्ट्रिय लक्ष्य र योजनाअनुसार परियोजनामा काम गर्दै आएको छ । सुरुमा हेफरले खसीबोकाको आयातलाई करिब ३० प्रतिशत प्रतिस्थापन गर्ने परियोजनाबाट कामको थालनी गरेको थियो । त्यो परियोजनाअनुसार करिब डेढ लाख बढी खसी बोका उत्पादन भई बजारमा जानुपर्ने थियो तर गत वर्ष मात्र करिब ३ लाख बढी खसीबोका उत्पादन भएर बजारमा गएको पाइयो । अहिले नेपाल खसीबोकामा आत्मनिर्भर भएको छ । खसीबोकामा आत्मनिर्भर हुनुमा हेफरको ठूलो योगदान रहेको पशु सेवा विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भनेको छ ।

यसैगरी पछिल्लो समय हेफरले पहिलेका कामलाई निरन्तरतासँगै एसएलभिसी परियोजनाअन्तर्गत रहेर तरकारी उत्पादन, बजारीकरण र प्रशोधन गर्ने सम्बन्धमा समेत काम गरिरहेको छ । हेफरले ५३ जिल्लामा आफ्नो परियोजना सञ्चालन गर्दै आएको छ । विशेष गरी हेफरका परियोजना कृषिक्षेत्रमा बढी केन्द्रित छन् । सुरुवात बाख्रापालनबाट भएको थियो भने अहिले विगतका कामलाई निरन्तरता दिँदै तरकारी उत्पादन क्षेत्रमा बढी केन्द्रित छ । पछिल्लो समय बजारमा धेरै विषादी प्रयोग भएको तरकारी बजारमा आउने गरेको हुँदा हामीले विषादीरहित तरकारी बजारमा पठाउने गरी काम गर्ने गरेका छौँ ।

यसैगरी अदुवा र बेसारको प्रशोधन गरी जर्मनीबाट अर्गानिक प्रमाणपत्र लिई युरोपिएन बजार पुगेको छ । यो नेपाल सरकारका लागि पनि एउटा खुसीको कुरा हो । अब अदुवा र बेसार भारतीय बजारमा मात्र नभएर अन्य अन्तर्राष्ट्रिय बजारमा जानलाई बाटो खुलेको छ । यस्तै आइफाडसँग मिलेर करिब ८० करोड लगानीमा भ्यालु चेन्ज फर इन्क्लुसिभ ट्रान्सफरमेसन अफ एग्रिकल्चर परियोजनामा काम गरिरहेका छौँ । यो परियोजनामार्फत हेफरले करिब ७० हजार परिवारलाई सहयोग गर्दै छ । यस परियोजनाले दूध, तरकारी, फलफूललगायतका क्षेत्रमा काम गर्छ ।

कृषि तथा पशुपालनका क्षेत्रमा काम गर्दा हेफरले स्थानीय सरकारसँग कसरी सहकार्य गरिरहेको छ ?
हामीले स्थानीय सरकार र स्थानीय संघसंस्थासँग मिलेरै काम गरेका छौं । ‘दिगो स्थानीय अग्रसरता विकास कार्यक्रम’ सञ्चालन गरिरहेका छौं । परियोजना सुरुबाटै विभिन्न स्थानीय तहसँग साझेदारी र सहकार्य भइरहेको छ । सन् २०१७ सम्ममा कृषि तथा पशुपालनका क्षेत्रमा सरकारका विभिन्न निकाय तथा अन्य संघसंस्थाबाट आ–आफ्नो तरिकाले काम भइरहेको थियो । पछि हामीले सरकारकै योजनामा हेफर पनि सँगसँगै जोडिएर काम गर्ने गरी अघि बढ्यौं ।

एकद्वार प्रणालीबाट बजेट विनियोजन र खर्च गर्ने भएपछि त्यसको प्रभावकारिता पनि देखियो । अहिले हाम्रा परियोजनामा ७० प्रतिशत सरकारी तवरबाट र ३० प्रतिशत हेफरले लगानी गर्ने गरी काम गरिरहेका छौं । पछिल्लो पाँच वर्षदेखि यही अवधारणामा काम गरिरहेका छौँ । यो अवधारणामा काम गर्दा उत्पादन र बजारीकरणमा मात्र होइन, जनशक्ति व्यवस्थापन र कार्यक्रमको स्वामित्व लिनका लागि पनि भूमिका खेलेको छ । विभिन्न कृषि सहकारीमार्फत पुँजी लगानी, वस्तुको बजारीकरणमा सहयोग पुगेको छ । ११२ वटा कृषि सामग्री ढुवानीका साधन व्यवस्थापन गरेका छौं ।

हेफरले कृषि उत्पादनका क्षेत्रमा पनि काम गरिरहेको छ । पछिल्लो नयाँ प्रविधिलाई कृषि क्षेत्रमा भित्त्याएर उत्पादन एवम् उत्पादकत्व बढाउनका लागि कसरी भूमिका खेलिरहेको छ ?
एसियाली देशहरूमा व्यक्तिको आफ्नो स्वामित्वमा रहेको जग्गा जमिन अरू महादेशहरूको तुलनामा निकै कम छ । हामीले साना किसानसँग काम गर्नुपर्ने भएकाले जग्गाको समस्या देखियो । साना किसानको बाहुल्यता भएका ठाउँमा काम गरेको र उनीहरूलाई नै लक्षित गरी कार्यक्रम सञ्चालन गरिरहेकाले थोरै जग्गा भएका ठाउँमा काम गर्दा प्रविधिको प्रयोग हुन सकेन भने उत्पादन वृद्धि गर्न सकिँदैन भन्नेमा चनाखो छौं । उत्पादनलाई कसरी बढाउने भनेर साना किसान लक्षित केही प्रविधि प्रयोग गरेका छौं ।

राम्रो बीउबिजन मात्र भयो भने मात्रै पनि २५ प्रतिशत उत्पादन बढ्छ । पशुपालनका क्षेत्रमा खोरगोठको नयाँ मोडल बनायौं । उन्नत जात र नस्ल सुधार कार्यक्रमबाट दूध उत्पादनमा बढोत्तरी हुन्छ भनेर हामीले उन्नत जातका साँढे तथा बोकाका प्रजाति भित्त्यायौं । बजारीकरणमा पनि हामीले नयाँ अवधारणा अपनायौं । उत्पादनदेखि बजारसम्ममा नै किसानबाटै पुगोस् र बिचौलिया नलागून् भनेर सजग छौं । उत्पादन हुने सिजनअघि र केही पछि भयो भने त्यसको मूल्य पनि पाइने र बजारमा सजिलै बिक्री पनि हुने रहेछ । मोबाइल एप्लिकेसनबाटै किसानलाई सेवा दिन सकिने गरी जियो कृषि एप्लिकेसन तयार पारेका छौं ।

मोबाइल हेरेर तरकारीको भाउ कति छ भन्नेदेखि कृषिबाली र पशुमा कुनै समस्या दखियो भने त्यसको उपचार कसरी गर्नेसम्मका जानकारी उक्त एप्लिकेसनमार्फत किसानले सजिलै पाइरहेका छन् । जियो कृषि मोबाइल एप्लिकेसनमार्फत ११ लाख व्यक्तिलाई सेवा पुगेको छ । कुनै समस्या देखिएमा फोटो खिचेर पठाउने र कृषि तथा पशु प्राविधिकबाट त्यसको समस्या समाधान गरिरहेका छौं । यसमा महिला सहभागिता अझ बढेको छ । सहकारीमार्फत कृषि सामग्री पनि वितरण भएका छन् । ३५ सयभन्दा बढी खेत जोत्ने मेसिन वितरण गरेका छौं । घाँस काट्ने मेसिनको पनि आवश्यकता पहिचान भएको छ ।

हेफरले क्षेत्रगत रूपमा कहाँ–कहाँ आधारित भएर काम गरेको छ ? यसरी आफ्ना योजना तथा कार्यक्रम सञ्चालन गर्नका लागि स्थान पहिचान कसरी हुन्छ ? त्यसको आधार के हो ?
अहिले हाम्रा कार्यक्रम तराई र मध्यपहाडी जिल्लामा बढी केन्द्रित छन् । स्थानीय तहसँग सहकार्यमा काम गर्ने भएकाले सम्बन्धित पालिकाले पनि चासो देखाउनुपर्‍यो । सम्भावना भएका र आवश्यकता पहिचान भएका पालिकामा गएका छौं । वातावरणीय दृष्टिकोणले पनि सम्भावना भएका पालिका हाम्रो प्राथमिकतामा छन् । स्रोत साझेदारी मात्र होइन, त्यस्तो परिचालित साधनस्रोतको दुरुपयोग नहोस् भन्नका लागि पनि हामीले स्थानीय तहसँग काम गरिरहेका छौं । यसअघि हामीले भोगेको समस्या कस्तो थियो भने अनुदान पहिला दियो भने पैसा लिने तर काम नगर्ने भयो ।

यसकारण हामीले कृषि उत्पादन गरिसकेपछि उत्पादनमा अनुदान दिने व्यवस्था गरिनु उपयुक्त हुन्छ भनेका छौं । यही अवधारणामा काम गरिनुपर्छ भनेर नीतिनिर्मातालाई सुझाव पनि दिएका छौं । अहिले कृषिक्षेत्रमा लागेका मानिसहरूले बाध्य भएर मात्रै काम गरेको जस्तो देखिन्छ । उनीहरूले अरू कुनै रोजगारी पाउने हो भने कृषिक्षेत्र छोड्न चाहेको देखिन्छ । यसले आगामी दिनमा खाद्य सुरक्षामा ठूलो चुनौती सिर्जना गर्ने देखिन्छ । रोजगारी र आम्दानीको स्रोत नै कृषि तथा पशुपालनलाई बनाउन सकियो भने यसले खाद्य सुरक्षा चुनौतीलाई पनि समाधान गर्न सक्ने विश्वास हाम्रो छ ।

तपाईंहरूले सञ्चालन गरेको ‘मिल्की वे’ परियोजनाको अवधारणा के हो ? यसले कसरी काम गर्छ ? मुलुकको दुग्ध विकासका क्षेत्रमा कसरी योगदान पुर्‍याउन सक्छ ?
पशु सेवा विभागले विभिन्न देशसँग उन्नत जातका साँढे ल्याउनका लागि प्रयास गरेको थियो । तर, सम्भव नभएपछि विभागले लिखित रूपमा हामीलाई आग्रह गरेको थियो । बीउ प्रयोजनका लागि एक सय गाई र आठवटा साढे कोरियाबाट नेपाल ल्याइयो । नस्ल सुधार गर्ने बीउ प्रयोजनका लागि मात्रै यी ल्याइएको हो । यो प्रोजेक्टको मुख्य उद्देश्य दूध उत्पादन बढाउने र त्यसबाट आम्दानी बढाउने लक्ष्य हो । यो परियोजनाले २ लाख परिवारलाई समेटेको छ । ती परिवारमा आम्दानीसँगै रोजगारी सिर्जनाका लागि पनि भूमिका खेल्छ । कोरियाबाट ल्याएको गुणस्तरका प्रजननयोग्य साँढे हामी भोलि दक्षिण एसियाका अरु देशमा पनि पठाउन सक्छौं ।

अथवा देशका अरू स्थानमा पनि त्यस्तो प्रजातिको साँढेबाट प्रजनन गराएर दूध उत्पादन बढाउन सक्छौं । हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरिरहेका कार्यक्रममा मुख्य गरी साना किसान लक्षित ‘स्ट्रेन्थिङ स्मल होल्डर्स इन लाइभस्टक भ्यालु चेन’ (एसएलभिसी) एउटा प्रमुख कार्यक्रम हो । यो कार्यक्रमले पशुपालन, डेरी, तरकारी उत्पादन र लोकल पोल्ट्रीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ । नीति निर्माण तह र सरकारसँगको सहकार्यका लागि ‘नेपाल गभरमेन्ट पार्टनरसिप प्रोग्राम’ (एनजिपी) पनि हामी चलाइरहेका छौं । त्यस्तै, ‘मिल्की वे’ परियोजना पनि हेफरको महत्त्वपूर्ण कार्यक्रम हो ।

कृषि तथा पशुपालनका क्षेत्रमा यति धेरै जिल्लामा स्थानीय सरकारसँगै सहकार्य गरेर काम गरिरहेको यो संस्थाले नागरिकको जनजीविका सुधारमा कस्तो प्रभाव पारेको तपाईंको बुझाइ छ ?
नेपालमा हेफर, चितवनको २५ वटा परिवारबाट सुरु भएको हो । २०५० सालमा २५ जना महिलालाई प्रतिव्यक्ति तीनवटा बाख्रा दिएर सुरु भएको थियो । पछि २०५४ सालमा हेफर इन्टरनेसनले नेपालमा कार्यालय नै राखेर काम थालेको थियो । सन् २००८ को विश्वव्यापी मन्दीका कारण स्रोत परिचालनमा केही कमी आएको थियो । तर, अहिले नेपाल हेफर इन्टरनेसनलले बढी स्रोत परिचालन गर्ने देशमध्येमा पर्छ । गरिबी र भोकमरीको अन्त्यका लागि नागरिकको जनजीविकामा सुधार हाम्रो मुख्य उद्देश्य हो ।

त्यसका लागि हामीले कृषि र पशुपालनका क्षेत्रबाट उनीहरूलाई सहयोग गरिरहेका छौं । अहिले हेफरबाट सञ्चालित परियोजनबाट सेवा लिएका ४ लाख परिवार दुई सय ९३ वटा सहकारी संस्थामा आबद्ध छन् । ती सहकारीको पुँजी साढे ५ अर्बभन्दा बढी छ । २५ महिलाबाट सुरु भएको यो अभियान अहिले आर्थिक हिसाबले मात्र नभएर सामाजिक न्याय र सशक्तीकरणका हिसाबले पनि महत्त्वपूर्ण साबित भएको छ । हामीले छोडिसकेपछि ती सहकारी संस्थाहरूले नागरिकलाई सेवा दिने भूमिका निर्वाह गर्नेछन् ।

सहकारी संस्थाहरूले पुँजी जुटाउने मात्र नभई उत्पादित वस्तु बजारीकरणका लागि पनि भूमिका खेल्छन् । महिलालाई मात्र लक्षित गरी वित्तीय संस्था स्थापना गर्ने, विद्यालय, व्यापारिक कम्प्लेक्स स्थापनालगायतका व्यावसायिक क्रियाकलाप गर्न सकिने गरी योजना बनिरहेका छन् । हामी तराईका अधिकांश र पहाडी जिल्लामा पुगको छौं । हेफरअन्तर्गतका कार्यक्रम लुम्बिनी प्रदेशमा केही बढी छन् भने कर्णाली र सुदूरपश्चिम अलि कम छ । यो स्थानीय तहको मागका आधारमा पनि निर्धारण भएको हो । किनभने हामीले स्थानीय तहसँगको सहकार्यबाटै आफ्ना कार्यक्रम अघि बढाइरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्