सुदूरपश्चिममा ‘इनफ’ अभियान सुरु

धनगढी– हरेक बालबालिकालाई पर्याप्त पोषणयुक्त खाना पुर्याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशमा इनफ अभियान शुभारम्भ गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नांगलोमा राखिएको पोषणयुक्त खानाको मिश्रण सार्वजनिक गर्दै बिहीबार सो अभियान शुभारम्भ गरेका हुन् ।
वल्र्ड भिजन इन्टरनेसलन नेपालले सुदूरपश्चिम प्रदेको कैलाली, डोटी, अछाम, बझाङ र कञ्चनपुर जिल्लाको १६ स्थानीय तहमा सञ्चालन गर्ने गरी सो अभियान शुभारम्भ गरिएको हो । वल्र्ड भिजनका एड्भोकेसी म्यानेजर श्याम अधिकारीले अभियानअन्तर्गत कार्यक्रम लागू भएको स्थानीय तहमा रहेका विद्यालयका बालबालिकालाई पोषणयुक्त खानेकुरा उपलब्ध गराइने बताए ।
उनले विद्यालयमा मात्रै नभई घर र समुदायमा समेत पोषणयुक्त खानेकुराका लागि कृषि, जनचेतना लगायतका कार्यक्रमका माध्यमबाट पोषणयुक्त खानेकुरा उपलब्धता बढाउन पहल गरिने बताए । भोकै सुत्नपर्ने बालबालिकाको संख्या बारे अध्ययन गरी भोकमरी अन्त्य गर्नका लागि स्थानीय साझेदार संस्थामार्फत् विभिन्न आयआर्जन तथा कृषि उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने अधिकारीले बताए ।
वल्र्डभिजनले देशका सातवटै प्रदेशमा यो अभियान सञ्चालन गरिरहेको छ । कार्यक्रममा मुख्यमन्त्री शाहले यस अभियानलाई साझा बनाएर अगाडि बढाउनुपर्ने बताए । उनले प्रदेश सरकारले पनि पर्याप्त पोषण उपलब्ध कार्यक्रम सञ्चालन गरिरहेको बताए । ‘यस्तो खालको कार्यक्रमको योजना बनाउँदा हामीलाई पनि सहभागी बनाउनुस्,’ मुख्यमन्त्री शाहले भने, ‘यो कार्यक्रम सरकार र संघ संस्थाको साझा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्छ ।’
उनले पोषणका लागि योजना बनाउँदा प्रदेश सरकारसँंग समेत छलफल गर्न आग्रह गर्दै प्रदेश सरकारले पनि ति कार्यक्रममा साथ दिने बताए । सरकार र गैरसरकारी संस्था मिलेर अभियान चलाउँदा गन्तव्यमा पुगिने बताउँदै मुख्यमन्त्री शाहले प्रदेश सरकारले पोषणा अपुग भएको ठाउँमा परिपर्ति गर्न सहयोग गर्ने बताए ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले प्रदेश सरकारले पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई पोषणको उपलब्धता बढाउने कार्यक्रम चलाइरहेको बताए । उनले मानिसहरुको रैथाने खाना छोडेर जंकफुड खान थालेकाले खानपान संस्कृति परिवर्तन गरी रैथाने बाली लगाउने र स्थानीय परिकार खाने अभियान चलाइरहेको बताए । पोषण सुधारका लागि सामाजिक विकास मन्त्रालयले पनि विभिन्न कार्यक्रम चलाइरहेको बताउँदै मन्त्री खड्काले ती कार्यक्रममा सरकार र गैरसरकारी संस्थाको साझेदारी हुनसक्ने बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले कृषि मन्त्रालयले कृषि उत्पादनका वृद्धिका लागि गरिरहेको रहेक काम पोषणा उपलब्धता वृद्धिमा केन्द्रित रहेको बताए । ‘कृषि क्षेत्रको हरेक कार्यक्रम पोषणयुक्त खानेकुराको उपलब्धता बढाउनमा केन्द्रित छ,’ उनले भने, ‘गाई भैंसी पालनका लागि कार्यक्रम गरिरहेका छौं । त्यसले पनि पोषण सुधारमा सहयोग गर्छ । फलफूल उत्पादनका लागि किसानलाई सहयोग गर्छौं । फलफूल उत्पादन भयो भने पनि पोषण सुधार हुन्छ ।’
कृषिमन्त्री थापाले पोषण सुधार कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारसंँग प्रसस्त बजेट रहेको बताउँदै सो बजेटबाट सञ्चालन हुने कार्यक्रम र गैरसरकारी संस्थाका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्न सकिने बताए । ‘पोषणका लागि बजेट कम छैन,’ उनले भने, ‘यसलाई कार्यान्वयन कसरी गर्ने भन्ने कुरा मात्रै हो । हामीसँंगै बसेर योजना बनाउँ । तपाइँहरूसँंग साझेदारी गर्न हामी तयार छौं । हाम्रो काममा तालमेल नमिलेकाले मात्रै कार्यक्रम, अभियान छरपस्त भएका मात्रै हुन् । संँगै कार्यक्रम गरेपछि उपलब्धि पनि हासिल हुन्छ ।’
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले प्रदेश सरकारले पोषणका साथै साथै विपद् व्यवस्थापन, दुव्र्यशनी न्यूनीकरण लगायतका क्षेत्रमा गैरसरकारी संस्थाहरुसंग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कलबहादुर रावलले सबैको साझा संकल्पको रूपमा पोषण सुधार अभियान सञ्चालन गर्नुपर्ने बताए ।
उनले सरकार र संस्थाहरुले अलगअलग कार्यक्रम सञ्चालन गर्न असहज हुने बताउँदै अभियान सफल बताउन सबैले हातेमालो गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य चक्र मल्लले सुदूरपश्चिममा पोषण आहारको अभाव नरहेको बताए । उनले सुदूरपश्चिममा उत्पादन हुने हरेक खानेकुरा पोषणयुक्त रहेको बताउँदै ति खानेकुराको समान वितरणका लागि अभियान सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा कृष्णपुर नगरपालिकाकी बालिका बिनिता धामीले विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गइरहेको भए पनि बजेट अभावमा विद्यार्थीले जंकफुड खान परेको बताइन् । उनले सरकारले दिवा खाजा कार्यक्रमका लागि बजेट बढाउन पर्ने बताउँदै अभियानलाई सबैले हातेमालो गरी सफल बनाउनपर्ने बताइन् । वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड अफिसर अनुप रानाले विकास साझेदार भएकाले आफूहरूको उद्देश्यसमेत सरकारको काम कारबाहीमा सहयोग पुर्याउने रहेको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको समग्र पोषणको अवस्थाबारे नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष अर्जुन शाह, पोषण वृद्धिका लागि सञ्चालन गरिएका कृषि कार्यक्रमबारे प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पोषण तथा स्वास्थ्यको अवस्थाबारे सामाजिक विकास मन्त्रालयका तथ्यांक अधिकृत डिएन गिरिले कार्यपत्र प्रस्तुत गरेका थिए । सुदूरपश्चिम प्रदेशमा कुपोषणको २८ प्रतिशत रहेको जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणले जनाएको छ ।