Logo

बजारमा बढ्न थाल्यो दशैंको चहलपहल

काठमाडौं– नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन अब एक महिना पनि बाँकी छैन । दशैं सकिएको दुई सातामै तिहार आउँछ र लगत्तै छठ ।

चाडपर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । लामो समयदेखि सुस्ताएको बजारमा दशैंले केही राहत ल्याउने आशामा व्यापारीहरु छन् । काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ता बढ्न थालेका पनि छन् । अधिकांश सपिङ मल तथा बजारहरु, असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड, भृकुटीमण्डपदेखि बानेश्वरसम्म उपभोक्ताको चहलपहल देखिन्छ । कतिपयले दशैंतिहारको खरिदारी सुरु गरिसकेका छन् भने कतिपय बजारमा के नयाँ आएको छ भनेर हेर्न निस्किएका पनि छन् । भित्री बाटोका पसलहरुमा पनि उपभोक्ता बढेको व्यापारीहरुले बताएका छन् ।

आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घट्दा व्यापार बढ्न नसकेको व्यवसायीहरुले बताएका छन् । दशैंमा भने व्यापार बढ्ने आशामा उनीहरु छन् । सरकारी कर्मचारी तथा अन्य कामकाजीले दशैं खर्च पाएपछि र सरकारी छुट्टी नजिक आएपछि ग्राहक बढ्ने अपेक्षामा व्यापारी छन् । आर्थिक मन्दीका कारण ग्राहकको रोजाइमा सस्ता सामान पर्न थालेको व्यवसायीहरुको भनाइ छ ।

वर्षभरि सुस्त बनेको बजार दशैंतिहारमा चलायमान हुने अपेक्षाका साथ व्यापारीहरुले उपभोक्ताको रुचि र रोजाइअनुसार सामान आयात गरेका छन् । ‘किन्नेभन्दा हेर्ने धेरै आइरहेका छन् । किन्ने ग्राहक पनि विस्तारै आउलान्,’ बानेश्वरका कपडा व्यापारी रमेश बोहोराले भने, ‘हामी व्यापारीको लागि सबैभन्दा ठूलो सिजन नै यही हो । यो बेला पनि व्यापार भएन भने त वर्षभरि गाह्रो हुन्छ । भीडभाड बढेको देख्दा हामी आशावादी छौं ।’

न्युरोडका व्यापारी अशोक कुमार साहले शनिबारको दिन अझ बढी भीड हुने हुँदा परिवारका सबै सदस्य जम्मा भएर व्यापार गरिरहेको बताए । ‘दशैं नजिक आएका कारण व्यापार बढ्न थालेको छ । व्यापार बढाउनलाई दशैंलाई लक्षित गरेर विभिन्न अफर पनि ल्याएको छु,’ उनले भने । कतिपय ग्राहक घरमै बसेर सपिङ गर्न मन पराउने भएका कारण आफूले सोसल मिडियाको प्रयोग गरेर पनि व्यापार गरिरहेको उनले बताए ।

दशैं मनाउन काठमाडौंबाट बाहिर जानेहरुले परिवारका लागि केही न केही किनेर लगिदिने भएकाले पनि बजारमा भीड बढेको उपभोक्ताहरु बताउँछन् । ‘दशैं नजिक आएपछि बजार घुम्न रमाइलो हुन्छ । घर जाँदा केही गिफ्ट पनि लैजानैपर्‍यो । यो धेरै सपिङ गर्ने महिना पनि हो,’ जडिबुटीबाट बानेश्वरमा सामान किन्न आएकी गुल्मीकी सबिना पाठकले भनिन् ।

प्रतिक्रिया दिनुहोस्