Logo

व्यक्तिगत रुपमा रोमानिया जाने ५७९ प्रतिशतले बढे

काठमाडौं– रोजगारीका लागि युरोपेली मुलुक रोमानिया जाने नेपालीको संख्या उच्च दरले बढेको छ । पछिल्लो तीन वर्षयता व्यक्तिगत रुपमा रोमानिया जाने ५ सय ७९ प्रतिशतले बढेपछि सरकारले यसलाई निगरानीमा राखेको छ ।

पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा मेनपावर व्यवसायीका माध्यमबाट भन्दा व्यक्तिगत रुपमा रोमानिया जाने नेपालीको संख्या निकै उच्च भएकाले सरकारले यसलाई सुक्ष्म रुपमा हेर्न खोजेको हो । मेनपावर व्यवसायीका माध्यमबाट भन्दा व्यक्तिगत रुपमा विदेश पुग्दा जोखिम बढी हुने गरेको छ । अहिले रोमानियामा जानेमध्ये व्यक्तिगत रुपमा जाने बढी देखिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८–७९ मा रोजगारी खोज्दै व्यक्तिगत रुपमा रोमानिया जाने नेपालीको संख्या १२ सय ४५ जना थियो । आव २०७९–८० मा यो संख्या ५ हजार ४ सय २९ पुग्यो भने गत आवमा झनै बढेर ८ हजार ४६४ पुगेको छ । तीन वर्षका बीचमा व्यक्तिगत रुपमा रोमानिया जाने ५७९ प्रतिशतले बढेका छन् । यो वृद्धिदरलाई देखेका कारण आगामी दिनमा समस्या नआओस् भनेर सरकारले रोमानिया रोजगारीलाई व्यवस्थति गर्न खोजेको हो ।

व्यक्तिगत रुपमा रोमानिया जाने नेपालीको संख्या बढेपछि मेनपावरमार्फत जाने भने घटेका छन् । तीन वर्षअघि आव २०७८–७९ मा मेनपावर व्यवसायीहरुले ५ हजार १६६ जनालाई रोमानिया पठाएकामा आव २०७९–८० मा यो संख्या बढेर ७ हजार ७०८ पुगेको थियो । तर, गत आवमा भने मेनपावर व्यवसायीहरुले ४ हजार २३६ जनालाई मात्र रोमानिया पठाएका थिए ।

यस्तै, तीन वर्षको अवधिमा मेनपावर र व्यक्तिगत रुपमा गएका दुवैलाई जोड्दा रोमानिया जाने नेपालीको संख्या दोब्बर भएको छ । तीन वर्षअघि आव २०७८–०७९ मा ६ हजार ४११ जना रोमानिया गएकामा गत आव २०८०–०८१ मा यो संख्या १२ हजार ७ सय पुगेको छ ।

अर्कोतिर व्यक्तिगत एवम् मेनपावर कम्पनीमार्पmत रोजगारीका लागि रोमानिया जाँदा नेपालीलाई सेवा शुल्क तथा सुरक्षामा चुनौती देखिएको सरकारको आकलन छ । व्यक्तिगत र मेनपावरमार्पmत नेपाली युवालाई रोमानिया लैजाँदा चर्को सेवा शुल्क लिएको गुनासा सरकारसमक्ष आएका छन् । चर्को सेवा शुल्कबाहेक अन्य प्रकारका ठगीका घटना भएको गुनासा पनि सरकारी निकायहरुसँग आएका छन् । यीनै कारण रोमानिया रोजगारीलाई सरकारले निगरानीमा राख्दै व्यवस्थित गर्न खोजेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले पछिल्ला दिनमा रोमानिया लगायतका युरोपेली श्रम गन्तव्यहरुमा मागपत्र प्रमाणित गर्न समस्या देखिएकाले यसका लागि प्रोटोकलअनुसार व्यवस्था गर्न खोजिएको छ । यो काम भएपछि अहिलेका अधिकांश समस्या समाधान हुनेछन् ।

पछिल्ला वर्षहरुमा व्यक्तिगत रुपमा रोमानिया जाने नेपालीको संख्या बढेकाले सेवा शुल्कमा मनपरी र ठगीका घटना हुन नदिन मन्त्रालयले निगरानी पनि राखेको छ । आगामी दिनमा रोमानिया लगायत युरोपका दूतावास नभएका सबै गन्तव्यको रोजगारीलाई व्यवस्थित गर्न सरकारले तयारी गरेको पनि उनले बताए ।

उनका अनुसार सन् २०२४ जनवरीदेखि अहिलेसम्म रोमानियाका लागि १९ हजार बढी नेपालीलाई श्रमिक भिषा उपलब्ध गराइएको छ । रोमानियामा नेपालीको संख्या बढेसँगै ठगीलगायतका घटना समेत हुन थालेपछि रोमानिया सरकारले पनि रोजगारीलाई व्यस्थित गर्न खोजेको छ । केही दिनअघि नेपालका लागि रोमानियाका राजदूत डानियला सेजोनोभ तानले यही विषयलाई लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग छलफल गरेका थिए ।

राजदूत सेजोनोभले विभिन्न एजेन्टहरुको सहयोगमा रोमानियाको भिषा आवेदन माग गर्दा फर्जी कागजात पेस गर्ने, बीमा गरेका फर्जी कागजात बनाउने जस्ता कार्य भइरहेको जानकारी दिँदै दुवै मुलुक मिलेर रोजगारीलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । श्रममन्त्री भण्डारीले रोमानियाको रोजगारीलाई व्यवस्थित गरेर औपचारिक माध्यमबाट श्रमिक पठाउन सरकार तयार भएको बताएका थिए ।

नेपाल र रोमानियाबीच गत वर्ष असोजमा श्रम सम्झौता भएको थियो । तर, यो सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयनमा लैजान अन्य विभिन्न काम गर्न बाँकी छ । द्विपक्षीय समझदारी पत्रलाई व्यवस्थापन गराउने प्रोटोकल डकुमेन्ट निर्माण गर्ने, यसका लागि मागपत्र प्रमाणीकरण लगायत भिषा आवदेन प्रक्रियालाई सरलिकृत गर्ने जस्ता सबै काम पूरा हुन सकेका छैनन् । मन्त्रालयले यसको गृहकार्य गरिरहेको छ ।

यस्तै, युरोपमा ग्लोबल कम्प्याक्ट अन माइग्रेसनको सिफारिस बमोजिम श्रमिकको मानव अधिकार रहेकाले नेपाली श्रमिकलाई औपचारिक तवरले रोमानिया पठाउन, ठगी नियन्त्रण गर्न तथा मागपत्र प्रमाणीकरणलाई सरलिकृत गराउने सम्बन्धमा दुवै मुलुकको संयुक्त प्राविधिक समितिबाट टुंगो लगाउन पनि बाँकी छ ।

दुवै मुलुकबीच श्रमसम्झौता भएको तर पूर्ण कार्यान्वयमा नआएको अवस्थाको फाइदा उठाएर अहिले मेनपावर कम्पनी र व्यक्तिले अनौपचारिक माध्यमबाट नेपालीलाई रोमानिया पठाउने गर्दै आएका छन् । एजेन्टहरुले विभिन्न प्रलोभन देखाएर श्रमिकलाई अनौपचारिक तवरले रोमानिया पठाउने क्रम रोकिको छैन ।

रोमानिया युरोपको १२ औं ठूलो देश र युरोपेली संघको ७ औं अधिक जनसंख्या भएको देश हो । सन् २००० को दशकको शुरुवातमा गतिलो आर्थिक विकासपछि रोमानियाको अर्थव्यवस्था मुख्य रूपले सेवाहरुमा आधारित रहेको छ । निर्माण सेवा र मेसिनरी, अटोमोबाइल, एनर्जी र ओएमभि कम्पनीहरु रहेका छन् ।

मलेसियाको रोजगारी आंशिक खुला
पछिल्ला ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी सुचारु हुने भएको छ ।

मलेसिया सरकारले केही निश्चित क्षेत्रमा विदेशी कामदार लिने अनुमति दिएपछि नेपालसहित अन्य श्रमिक स्रोत देशबाट कामदार जान सुचारु हुने भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले प्लान्टेसन, गार्मेन्ट लगायतका क्षेत्रमा विदेशी कामदार जान पाउने गरी मलेसियाले विदेशी कामदार कोटा खुला गरेको जानकारी दिए ।

मलेसियाका केही रोजगारदाताले नेपालबाट माग गर्ने कामदारको मागपत्र प्रमाणिकरणका लागि दूतावासमा समेत पेश भइसकेका कारण अब सो क्षेत्रमा नेपालीको माग आउने उनले बताए । मलेसियाले अनिश्चित रुपमा विगत १ वर्षदेखि नै विदेशी कोटा कम गर्दै लगेर ६ महिना अघिदेखि पूर्ण रुपमा बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्