बैंकहरूको सेयर लगानीमा प्रतिफल «

बैंकहरूको सेयर लगानीमा प्रतिफल

 

प्रतिफल दर लगानी वा लागतमा निर्भर रहन्छ, जुन प्रत्येक खरिद वा कित्ता सेयरको फरक हुन सक्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २७ वाणिज्य बैंकहरूमध्ये २५ बैंकहरूको आर्थिक वर्ष ०७५-७६ को लाभांश प्रस्ताव गरेका छन् भने १३ बैंकले साधारणसभा सम्पन्न गरी वितरण गरिरहेका छन् । आव ०७४-७५ देखि बैंकहरूको वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) मा गएसँगै सेयर लगानीमा प्रतिफलको मुख्य निर्धारक खुद मुनाफा, प्रतिसेयर आय (ईपीएस) र लाभांश क्षमता सम्बन्धमा निकै अन्यौलता रहँदै आएकोमा आव ०७५-७६ बाट केही सहज हुन थालेको छ ।

 मुनाफा र प्रतिसेयर आय (ईपीएस)
सूचीकृत बैंकहरूले आव ०७४-७५ मा करिब ५० अर्ब रुपैयाँ खुद मुनाफा गर्दै प्रतिसेयर औसत २३.४० रुपैयाँ कमाएकोमा ०७५-७६ मा मुनाफा २० प्रतिशत हाराहारी बढाएर ६० अर्ब रुपैयाँ कमाएर औसत ईपीएस २५.०१ रुपैयाँ पु-याउन सफल भए । आव ०७४-७५ बाट कार्यान्वयनमा ल्याइएको एनएफआरएस विधिबाट आयव्यय गणनाले कतिपय बैंकको ईपीएस अस्वाभाविक र अपत्यारिलो देखिएको थियो भने सेयर लगानीकर्ताको मुख्य चासो रहने खुद मुनाफा, ईपीएस र लाभांश क्षमता बुझ्न हम्मेहम्मे थियो । अझ निरन्तरको परिवर्तन, आयव्यय गणना र लेखांकनको नयाँ अवधारणासँगै नियामकीय निर्देशनले पारदर्शी मानिएका बैंकहरूको वित्तीय विवरण समेत बुझ्न र विश्लेषण कठिन थियो । उदाहरणका लागि एनएमबी बैंकको ओमबाट प्राप्त स्वाप बचत गैरव्यवसायिक मुनाफामा गणना गरिएको छ । यसरी खुद मुनाफा र ईपीएसको तथ्यांकीय शुद्धता नै अन्योलपूर्ण बनेको छ । यस्तै अवधिको आय, विस्तृत आय र वितरणयोग्य मुनाफासहितको तीन प्रकारको मुनाफामध्ये वास्तविक र वित्तीय विश्लेषणका लागि कुनको उपयोग गर्ने ? लाभांश कुन आधारमा र कति प्रतिशतले बाँड्न पाइन्छ भन्ने अन्यौलता अझै छ ।

लाभांश दर
मूलतः वार्षिक खुद मुनाफाबाट उपलब्ध वितरणयोग्य र सञ्चित मुनाफाका आधारमा निर्धारण हुने लाभांश क्षमता सेयर प्रिमियमका साथै पुँजीमा परिणत गर्न सकिने डिबेन्चर रिडेम्पसन रिजर्भ समेतमा निर्भर रहन्छ, तर खुद मुनाफा वा वितरणयोग्य मुनाफाको कति अनुपातमा लाभांश दिन सकिन्छ वा अन्य स्रोत अझै अन्योल छ । ईपीएसको आधारमा बैंकहरूको लाभांशको अनुपात (डिभिडेन्ड पेआउट रेसियो) आव ०७४-७५ मा औसत ६८.७३ र ०७५-७६ मा ७०.७४ पुगेको देखिन्छ, जुन विगतमा करिब ७५–८० प्रतिशत रहन्थ्यो ।
लाभांशमध्ये नगद र बोनसको हिस्सा भने बैंकहरूको व्यावसायिक आवश्यकता, नियामकीय प्रावधान र सञ्चालकले लिने नीतिमा भर पर्छ । केन्द्रयी बैंकको निर्देशनअनुसार बैंकहरूले आव ७६-७७ को अन्तसम्ममा जोखिम भारित एक्सपोजरको २ प्रतिशत काउन्टर साइक्लिकल बफरसहित करिब १३ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने अवस्थामा बैंकहरू लाभांशमा बोनस सेयरको हिस्सा बढाउन बाध्य देखिएका छन् ।
आव ०७४-७५ मा औसतमा करिब ६.८७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद सेयरसहित १५.५० प्रतिशत लाभांश दिएकामा ७५-७६ मा घोषित औसत लाभांश करिब २५.५७ प्रतिशतले बढाएर औसतमा १९.४७ प्रतिशत पु-याएका छन् । बैंकहरूले औसतमा ८.६१ प्रतिशत बोनस सेयर र १०.८६ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । दुई आवको बोनस सेयर र नगदको अनुपात भने करिब समान ४४ः५६ नै रहेको देखिन्छ ।
कम्पनीगत रूपमा आव ०७४-७५ मा नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम पुँजी ८ अर्ब रुपैयाँ पु-याउन कुमारी, एनसीसी, सिभिल र बिओकेले बोनस सेयरमा जोड दिन बाध्य थिए भने सनराइज, माछापुछ्रे, सानिमा, नेपाल–बंगलादेश, जनता, एभरेस्ट, स्ट्यान्डर्ड चार्टडले शतप्रतिशत नगदमा जोड दिएका थिए । ०७५-७६ मा आइपुग्दा व्यवसायका लागि थप पुँजीगत आवश्यकता र राष्ट्र बैंकको थप २ प्रतिशतको काउन्टर बफर क्यापिटलको व्यवस्थासँगै बैंकहरूले नगद र बोनस सेयरको संयोजन मिलाउन थालेका छन् । आव ०७५-७६ मा मेगा, सिभिल र स्ट्यान्डर्ड चार्टड बाहेक सबैले मिश्रित लाभांश घोषणा गरेका छन् । घोषित लाभांशमा बोनस सेयरतर्फ एनएमबीले सबैभन्दा बढी २१ प्रतिशत र कममा सिटिजन्सले ३ प्रतिशत दिँदैछ भने नगदतर्फ कृषिले बढी रु. २४ प्रतिसेयर र कममा कुमारीले कर प्रयोजनका लागि केवल रु. ०.५३ दिएको छ ।

प्रतिफल दर र लगानी प्राथमिकता
प्रायः लगानीकर्तालाई कम्पनीले वितरण गर्ने लाभांश नै लगानीमा प्रतिफल भन्ने भ्रम पनि रहेको देखिन्छ । लाभांश अंकित मूल्यका आधारमा दिइन्छ, तर सेयर बजार (दोस्रो बजार) बाट किनिने सेयरको मूल्य सामान्यतः अंकित मूल्यभन्दा बढी र विभिन्न समयमा किनेको अवस्थामा पनि फरक र औसत लागत समेत अंकित मूल्यभन्दा बढी नै हुन्छ । त्यसैले लाभांशका आधारमा प्रत्येक लगानीकर्ताको प्रत्येक खरिद वा कुनै बैंकको कुल सेयरको वास्तविक वा औसत लागतमा प्राप्त हुने लगानीमा प्रतिफल दर (रिटर्न अन इन्भेस्टमेन्ट (आरओआई) लाभांश दरभन्दा फरक र सामान्यतः कम हुन्छ । अझ संस्थापक र सर्वसाधारण सेयरको फरक बजारमूल्यका कारण दुई फरक समूहका सेयरधनीको वास्तविक प्रतिफल दर समेत फरक हुन्छ । भनेको, प्रतिफल दर लगानी वा लागतमा निर्भर रहन्छ, जुन प्रत्येक खरिद वा कित्ता सेयरको फरक हुनसक्छ । प्राप्त लाभांशलाई वास्तविक वा औसत लागतले भाग गरी सयले गुणन गरेर (लाभांश दर-वास्तविक लागत गुणा १००) लगानीमा प्रतिफल दर वा प्रतिशत निकाल्न सकिन्छ, जुन जति बढी भयो त्यति राम्रो मान्न सकिन्छ । यसको कुनै मापदण्ड नभए तापनि अन्तर्राष्ट्रिय रूपमा सामान्यतः लागनीमा ३ प्रतिशतको लाभांश प्रतिफल दरलाई लगानी उपयुक्त मानिन्छ ।
बैंकहरूले आव ०७४-७५ मा औसतमा १५.५ प्रतिशतले लाभांश वितरण गर्दा औसत प्रतिफल दर करिब ४.६७ प्रतिशत अनि सबैभन्दा बढी सिभिल बैंकमा ८.३६ प्रतिशत र सिटिजन्समा केवल २.४१ प्रतिशतको प्रतिफल थियो । आव ०७५-७६ मा लाभांश घोषणा गरेका २५ बैंकहरूको बुक क्लोज वा प्रचलित मूल्यका आधारमा औसतमा करिब ५.५५ प्रतिशतको प्रतिफल देखिन्छ । एनसीसी र सेन्चुरीको लाभांशपछि औसत प्रतिफल केही वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । बुक क्लोज हुन बाँकीहरूको २०७६ मंसिर २६ गतेको कारोबार मूल्य तथा बुक क्लोज भइसकेकाहरूको बुक क्लोज अगाडिको अन्तिम कारोबार मूल्यका आधारमा एनएमबी बैंकको लगानीमा सबैभन्दा बढी ८.८२ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डमा केवल ४.०५ प्रतिशत प्रतिफल पाइने देखिन्छ । बैंकहरूको औसत प्रतिफल दरमा ०७४-७५ बाट ०७५-७६ सम्म आइपुग्दा करिब १८.८३ प्रतिशतले बढेको छ ।
स्पष्ट हुन, उदाहरणका लागि मेगा बैंकको सेयर रामले विभिन्न समय र दरमा ५ सय ५० कित्ता किन्दा औसत लागत प्रतिकित्ता १ सय ७० रुपैयाँ परेको छ, हरिले बुक क्लोजको एक दिन अगाडि ३ सय कित्ता २ सय ३ रुपैयाँमा किनेको छ र मनिषाले संस्थापक सेयर १ हजर कित्ता १ सय ५ रुपैयाँमा किनेको छ भने मेगाले आव ७५-७६ मा ११.७५ प्रतिशत लाभांश दिँदा रामले करिब ६.९१, हरिले ५.७९ र मनिषाले ११.१९ प्रतिशतको दरमा लगानीमा प्रतिफल पाएको देखिन्छ ।

लगानी निर्णयमा प्रतिफल र निचोड
लगानी निर्णय गर्दा इपिएस, पिई, नेटवर्थ, पुँजीकोष, बजार मूल्य र किताबी मूल्य अनुपात (पीबी रेसियो), खराब कर्जा, विगतको र सम्भावित लाभांश मिश्रण, कम्पनीको व्यावसायिक विस्तार र अवस्था, ख्याति अनि सम्भावित पुँजीगत लाभसँगै खरिदमूल्य वा औसत लागतका आधारमा वास्तविक प्रतिफलको दरलाई ध्यान दिनैपर्छ । आव ०७४-७५ मा सबैभन्दा कमजोर मानिएका सिभिल र ०७५-७६ मा बैंकहरूमध्ये सबैभन्दा बढी ईपीएस कायम गर्न सफल नबिल बैंकभन्दा एनएमबीमा बढी प्रतिफलले लगानी गर्दा अन्य पक्षहरूका अतिरिक्त प्रतिफल दरको महत्व देखाउँछ । प्रतिफललाई लगानी निर्णयको आधार बनाउँदै गर्दा लाभांश क्षमता, स्रोत अनि खुद मुनाफामा व्यावसायिक र गैरव्यवसायिक मुनाफासमेतलाई हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्