किमकी बहिनीको भ्रमण खर्च २ लाख २३ हजार डलर

प्योचाङ शीतकालीन ओलम्पिकमा किम जोङ उनकी बहिनीको भ्रमणका लागि दक्षिण कोरियाले २ लाख २३ हजार डलर खर्च गरेको दक्षिण कोरियाका सरकारी अधिकारीले बताएका छन् ।
यो पैसाको अधिकांश हिस्सा चार सदस्यीय प्रतिनिधि मण्डल र उनीहरूको १८ कर्मचारीको आवास, यातायात र खाद्यान्नमा खर्च गरिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयका एक अधिकारीले बताएका छन् । उनले आफ्नो परिचय खुलाउन भने अस्वीकार गरेका छन् ।
किमकी बहिनी किम यो जोङ र अन्य उत्तर कोरियाली अधिकारीहरू पश्चिमी सोलको पाँचतारे रिभरसाइड होटल वाल्करहिलमा बसेका थिए ।
उनी र उनको प्रतिनिधि मण्डलले सोल र शीतकालीन ओलम्पिक स्थलको भ्रमण गरेका थिए । दक्षिण कोरियाली अधिकारीले उच्च कोटीको उक्त होटलमा पाहुनालाई खाना पनि खुवाएका थिए ।
एकीकरण मन्त्रालयले आवासका लागि १३ करोड वन र खाना र भ्रमण प्रत्येकका लागि ५ करोड वन खर्च गरेको अधिकारीले बताएका छन् ।
यसको तुलनामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उत्तर कोरियाको २२ ओलम्पिक खेलाडीलाई तालिम दिन र तयारीका लागि ५० हजार डलर मात्रै दिएको थियो । यो प्रति खेलाडीका लागि २ हजार ३ सय डलर हुन आउछ
एकीकरण मन्त्रालयले यसै महिनाको सुरुमा प्रतिस्पर्धामा देखा नपरेका ४ सय १८ उत्तर कोरियाली प्रतिनिधि मण्डललाई २६ लाख डलरको हाराहारीको कीर्तिमानी बजेट छुट्ट्याएको थियो । यो प्रतिव्यक्ति ६ हजार २ सय डलर हुन आउँछ ।