कालिगण्डकी करिडोर
अलपत्र मालढुंगा–बेनी खण्ड मर्मत सुरु
पर्वत– ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालिगण्डकी करिडोर अन्तर्गतको मालढुंगा–बेनी सडक मर्मत गर्न थालिएको छ ।
खाल्डाखुल्डी र हिलोले सवारी साधन चलाउने र पैदल हिँड्ने यात्रुलाई समेत सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो । आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यावसायी र स्थानीयवासीसहित प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कालिगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्राविधिक र निर्माण व्यवसायीसहितको बैठकले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सोमबार बिहानदेखि मर्मत गर्न थालिएको आयोजनाका साइड इन्जिनियर अच्युविलास पन्तले जानकारी दिए ।
पन्तका अनुसार सोमवार बिहानदेखि मालढुंगादेखि बेनीसम्मको सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छाउने, हिलो सफा गरेर सवारीसाधन चलाउन सहज बनाउने काम भइरहेको उनले बताए । तत्कालका लागि मर्मत गरिने र वर्षा रोकिएगत्तै स्तरोन्नतिको कामसमेत थालिने भएको छ ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन । चाडबाड लागेसँगै मुक्तिनाथ र कागबेनीमा जाने दर्शनार्थीको सुविधालाई मध्यनजर गर्नुका साथै सबैभन्दा बढी समस्या जलजला गाउँपालिकाका बासिन्दालाई परेपछि जनप्रतिनिधि, व्यवसायी र स्थानीयबासीले प्रशासन कार्यालयमै धर्ना दिने तयारी गरेका थिए ।
३० महिनामा काम सक्नेगरी २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको भए पनि चार वर्षमा सडकको जम्मा ५५ प्रतिशतमात्र काम भएको छ । १३ किलोमिटर लामो सडकमध्ये गत असारमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको भए पनि वर्षा र निर्माण सामग्री अभावको कारण देखाउँदे ठेकेदारले काम रोकेको थियो ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको राष्ट्रिय गौरवको, कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्रे गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत छ ।
एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुंगा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर २०७९ कात्तिकदेखि सडक निर्माण रोकेको थियो । ठेक्का सम्झौताअनुसार सडक निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको स्रोत कालिगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न विसं २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माण कम्पनीले धिमा गतिमा काम गर्दै आएको थियो ।
विसं २०८० असोज महिनामा म्याद सकिएको यो सडक योजनाको २०८१ असोज महिनासम्मका लागि ठेक्काको म्याद रहेको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएपछि जिल्ला प्रशासनमा पुगेर दबाब सिर्जना गरेपछि मर्मतकार्य सुरु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।
सडक आयोजनाका अनुसार सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर दूरिमा कालोपत्रे गर्न सबबेस बिछ्याइएको छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेदेखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माणको काम भइरहेको साइड इन्जिनियर पन्तले बताए ।