पूर्वदेखि सुदूरपश्चिमसम्मै हिमपात

गएको बुधबारदेखि बदली भएको मौसमका कारण देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबारदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ भने बालीनालीलाई सहयोग पुगेको छ ।
पूर्वका इलाम, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभादेखि लिएर कर्णाली प्रदेशका सबैजसो जिल्ला र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको उच्च भूभागमा हिमपात भएको छ । त्यस्तै पहाड तथा तराईका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ । ती क्षेत्रका किसानहरु हिउँदे खेतीका लागि वर्षा आवश्यक भइरहेका बेला भएको वर्षा र हिमपातका कारण खुसी छन् ।
कारोबारका हुम्ला संवाददाता रेशमराज रोकायाका अनुसार हुम्लामा हिउँ र पानीका कारण अत्यधिक चिसोको महशुस भएको छ । तापक्रम माइनस १६ सम्म पुग्दा जनजीवन कष्टकर बनेको छ । हिउँका कारण सबैजसो गारेटो बाटो बन्द भएका छन् र एक ठाउँबाट अर्को ठाउँ जानको लागि कठिनाइ भएको छ ।
पशु चौपायालाई चरन क्षेत्रको अभाव भएको छ । कात्तिकमा काटेर सुख्खा बनाइएको घाँसको भरमा स्थानीयले पशुलाई पालिरहेका छन् । खाना पकाउन र खानेपानी पनि बरफको कारणले जम्दा समस्या भएको छ ।
हिउँ र पानीले गर्दा किसानलाई भने राहत भएको छ । किसानले मंसिरमा खेती गरेको जौ, उवालाई सिँचाइ भएको छ ।
उता, मुगुमा हिमपात हुँदा कृषक खुशी भएकोे संवाददाता दानबहादुर बुढाले जनाएका छन् । बिहीबार रातिबाट जिल्लाका उच्च हिमाली बस्तीहरु र शुक्रबार रातिबाट जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषकहरु खुशी भएका हुन् । व्यापारीहरु भने चिन्तित भएका छन् । पानी नपरेर गहुँ,जौ, उवा खेतमै सुक्न थालेको थियो ।
संखुवासभा संवाददाता कृष्णराज शाक्यका अनुसार जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चीनसँगको सिमानाका किमाथांकामा अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । सदरमुकाम खाँदबारीबाट १६० किलोमिटरको उत्तरी दूरीमा रहेको किमाथांकामा शुक्रबार राति परेको हिउँका कारण जनजीवन कष्टकर बनेको सिमा प्रहरी चौकी किमाथांकाका इन्चार्ज धनबहादुर बस्नेतले जनाएका छन् । किमाथांकाका नाका हिउँले ढपक्कै ढाकेको छ ।
आलुफापर, सागपात, मकै, गहुँ कोदो र धान हिउँले नष्ट गरिदिएको छ । विद्यालयको पठनपाठन ठप्प भएको छ । मौसममा खासै सुधार आउने सम्भावना नभएकाले त्यस क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुलाई सतर्कतापूर्वक खटाइएको छ ।
अहिले किमाथांकामा रहेको प्रहरी चौकी नै हिउँले घेरिएको छ । संचार सेवा सुचारु हुन सकेको छैन । संखुवासभाको टुटेदेउराली, गुफापोखरी र मादी नगरपालिकामा पनि हिउँले जनजीवन कष्टकर बनेको छ ।
मनाङमा पनि हिमपातले जनजीवन प्रभावित बनेको संवाददाता नेगम परियारले जनाएका छन् । मनाङको माथिल्लो क्षेत्रहरुमा बुधबार रातिबाट नै हिमपात सुरु भएको हो । सदरमुकाम चामेमा पनि हिमपात भएको छ ।
मनाङमा हिमपात र चिसोका कारण जनजिवन प्रभाबित भएको छ । पहिले भन्दा यस वर्ष चाँडो हिमपात भएको स्थानीयले बताए । हिमपात र चिसोका कारण हिमपातसँगै चलेको हावाले गर्दा मनाङको जनजिवन प्रभाबित भएको हो । मनाङ हँुदै जाने अन्नपूर्ण पैदलमार्गमा आउने तथा तिलिचो ताल भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु पनि मनाङको विभिन्न स्थानबाटै फर्कन थालेका छन् ।