एक करोड २४ लाख लागतमा मैत्रीपूर्ण विद्यालय भवन
जुम्ला– जुम्लाको हिमा गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा सुविधायुक्त मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको छ । आधारभूत तहमा बालबालिकाको आकर्षण बढाउन सुविधा सम्पन्न मैत्रीपूर्ण विद्यालय भवन निर्माण गरिएको हो ।
पेस नेपाल र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित ‘आधार परियोजना’को करोड बढी लगानीमा दुर्गमका सामुदायिक विद्यालयमा बालमैत्री बसाइ व्यवस्थापन, हिउँदको चिसो छेक्ने वाल सिलिङ गरिएका कक्षा कोठा, छात्रा/छात्र छुट्टाछुट्टै शौचालय भएको, भूकम्प प्रतिरोधी लगायतका सुविधा सम्पनन विद्यालय भवन बनेका छन् ।
हिमाको भैरव आधारभूत विद्यालय जोगीवाडा र महादेव आधारभूत विद्यालय कुडुमा निर्माण सम्पन्न भएको ४/४ कोठे बालमैत्री अपांगमैत्री विद्यालय भवन तथा लैंगिक समावेशी शौचालयसहितको विद्यालय भवन बुधबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गरे ।
बुधबार आयोजित विशेष समारोहका बीच मन्त्री भण्डारीले दुई वटै विद्यालय भवनको उद्घाटनसँंगै कक्षा कोठाको अवलोकनसमेत गरेका छन् । दुर्गमका सामुदायिक विद्यालयमा यत्तिको सुविधायुक्त भवन बन्नु सामुदायिक शिक्षा सुधारका लागि आशालाग्दो कार्य भएको बताए । हिमाले पढाइ मेलादेखि सामुदायिक विद्यालय सुधारका क्षेत्रमा गरेको अभ्यास अनुकरणीय रहेको समेत मन्त्री भण्डारीले उल्लेख गरे ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले दातृ निकायसँगको समन्वय र सहकार्यमा हिमाले पूर्वाधारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने वातारण सृजना गरेको बताए । उनले भने, ‘मैत्रीपूर्ण पूर्वाधार बिना गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन । विद्यालय टिक्ने वातावरण बनाउनु पालिकाको दायित्व हो । सबै काम पालिकाकै लगानीले सम्भव छैन । पेस नेपालले करोड बढी लगानी गरेर हिमाको शैक्षिक सुधारमा इँटा थपेको छ । यो कार्यप्रति गौरवान्वित छांै ।’
भैरव आधारभूत विद्यालय जोगीवाडाको चार कोठे विद्यालय भवन कुल ६१ लख ८५ हजार लगानीमा निर्माण भएको हो भने यता महादेव आधारभूत विद्यालय कुडुमा ६३ लाख रुपैयाँ लगानीमा भवन निर्माण भएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए । उनका अनुसार विद्यालयको पूर्वाधार विकाससँंगै कक्षाकोठा व्यवस्थापनसम्म गरी कुल एक करोड २४ लाख बढीको रकम लगानी भएको छ ।
आधार परियोजना अन्तरर्गत बनेका विद्यालय भवन पालिकाको माग र आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक शिक्षा सुधारको लक्ष्यले निर्माण गरिएको हो छ । दुर्गमका सामुदायिक विद्यालयका भवन प्राय पुरानै जीर्ण भएकोले विद्यार्थी जोखिम मोलेर अध्ययन गर्न बाध्य छन् । हिमामा बनेका दुईवटै विद्यालय भवन भूकम्पीय जोखिमका दृष्टिले पनि मजबुद भएकाले बालबालिका ढुक्कले पढ्न सक्नेमा अध्यक्ष न्यौपानले जोड दिए ।
जुम्लाका अधिकांश सामुदायिक विद्यालय मैत्रीपूर्ण नभएकै कारण महिनावारी भएका बेला किशोरी विद्यालय नजाने, पानीको सुविधा नहुने, सफा शौचालय, फराकिलो कक्षा कोठाको अभावजस्ता समस्याले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दो छ । तर स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन विभिन्न अभ्यास गरे पनि सामुदायिक शिक्षा अपेक्षित रूपमा सुधार भने हुन सकेको छैन ।
मैत्रीपूर्ण विद्यालय भवन बनेसंँगै विद्यालयमा बालबालिकाको पहुँच वृद्धि हुनेमा हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पना शाही विश्वस्त छिन् । पूर्वाधारसँंगै शिक्षकहरूको क्षमता विकासमा पनि जोड दिनुपर्ने उनको भनाइ छ ।