कर्णालीका पाँच जिल्लामा छैन राष्ट्रिय प्रसारणलाइन «

कर्णालीका पाँच जिल्लामा छैन राष्ट्रिय प्रसारणलाइन

जुम्ला-आर्थिक सर्वेक्षणअनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत् पहुँचबाहिर छन् । कर्णालीका ७९ वटा स्थानीय तहमध्य अझै ४३ स्थानीय तहमा विद्युत् पहुँच छैन । जसले यहाँका अधिकांश सर्वसाधारण अँध्यारोमै जीवन जिउन बाध्य छन् । कर्णालीका १७ लाख ७० हजार नागरिकमध्य अझै ७३ प्रतिशत जति बत्तीविहीन छन् । कर्णालीमा ९ हजार मेगाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर साविक कर्णालीका ८० प्रतिशत नागरिक अँध्यारोमै दिन गुजारा गर्छन् ।
२०६४ सालदेखि ७४ सम्मको निर्वाचनमा चुनाव जित्ने नेताले साविक कर्णालीमा राष्ट्रिय प्रसारणलाइन जोड्ने आश्वान दिए । तर, कार्यान्वयन नहुँदा कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले साविक कर्णालीका कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारणलाइन पुग्न कम्तीमा दुई वर्ष लाग्ने जनाएको छ ।
प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख इन्जिनीयर सुरेन्द्र अग्रहरिले लाइन विस्तारका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको बताए । दैलेखसम्म राष्ट्रिय प्रसारणलाइन जोडिसकेको छ । तर आवश्यक साविक कर्णालीमा बढी छ । त्यसले चालू आर्थिक वर्षभित्रै जाजरकोट–डोल्पा, कालिकोट–जुम्ला र नाग्म–मुगु ३३ केभी राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने तयारीमा सरकार जुटको उनको भनाइ छ ।
कम्तीमा पनि पाँच जिल्लाका सदरमुकामसम्म आगामी दुई वर्षभित्र लाइन विस्तार गर्ने लक्ष्य छ । भौगोलिक जटिलता र सडकको पहुँच नहुँदा विद्युत् सामग्रीको ढुवानीमा समस्या रहेको छ । जसका कारण कर्णालीमा रहेको स्रोत परिचालन हुन सकेको छैन भने उद्योग कलकारखाना पनि लक्ष्यअनुसार स्थापना भएका छैनन् । साना लगानीका उद्योगले खासै आर्थिक विकासमा टेवा दिएका छैनन् ।
कर्णालीमा विद्युत् विस्तारका लागि वि.सं. २०७४ भदौ ११ मा सुर्खेतस्थित प्राधिकरणको क्षेत्रीय कार्यालय स्थापना भएको थियो । झण्डै दुई वर्षसम्म कर्मचारीविहीन रहेको यो कार्यालय हालै प्रादेशिक कार्यालयमा रूपान्तरण भएको हो । कार्यालय प्रमुख अग्रहरीका अनुसार कर्णालीमा विद्युत् लाइन विस्तारसम्बन्धी १३ वटा आयोजना रहे पनि जाजरकोट–डोल्पा ३३ केभी प्रसारण लाइनमात्रै यस कार्यालयअन्तर्गत सञ्चालित छ ।
बाँकी आयोजना प्राधिकरणको पाँच नम्बर डिभिजन कार्यालय नेपालगञ्जले हस्तान्तरण गरेको छैन । जसका कारण कामलाई अगाडि बढाउन नसकिएको उल्लेख गरे । प्राधिकरणको पाँच नम्बर कार्यालयले अबको एक महिनामै कर्णाली प्रदेश कार्यालयलाई आयोजना हस्तान्तरण गर्ने बताए पनि कुनै सुरसार छैन ।
यस्तै, विद्युत् लाइन विस्तारको ठेक्का पाएका कम्पनीको लापरवाहीका कारण कतिपय योजनामा तीव्रगतिले काम हुनसकेको छैन । ३३ केभी लाइन विस्तारअन्तर्गत सुर्खेत–बाबियाचौर र दुल्लु–कालिकोट खण्डको काम एउटै ठेकेदारले लिएका छन् । यी दुई आयोजनाको जिम्मा पाएको त्रिपुरेश्वर जय दुर्गेश जेभी काठमाडौँले सुर्खेत–बाबियाचौर तथा दुल्लु–कालिकोटको विद्युत् पोल गाडे पनि बाँकी काम पूरा गरेको छैन । डोल्पाका लागि पठाएको पोल र तारहरू पनि अलपत्र अबस्थामा रहेका छन् ।
ठेगेदारहरूको लापरवाहीसँगै भौगोलिक विकटताले गर्दा राष्ट्रिय प्रसारणलाइन विस्तारमा सरकारलाई सकस भएको छ । हाल कर्णालीका ७७ हजार घरधुरीमात्र विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । जबकी कर्णालीमा १७ लाख ७० हजार नागरिक छन् भने अझै अधिंकाश विद्युत् पहुँचमा छैनन् । तर ग्रामीण क्षेत्रमा भने लघुजलविद्युत् आयोजनाबाट गाउँमा बत्ती बाल्ने काम भइरहेको छ । सस्तो र २४ घण्टै बत्तिका लागि राष्ट्रिय प्रसारणलाइनको प्रतिक्षामा साविक कर्णालीवासी छन् । तर, दशकौं बितिसक्दा जडान नभएको राष्ट्रिय लाइन दुई वर्षमा जोडिने कुरामा विश्वस्त नरहेको मुगुका स्थानीय खड्क सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्