आयातित विषादीयुक्त स्याउले भरिँदै बजार, स्वदेशी उत्पादनलाई बजार अभाव
जुम्ली स्याउको बजारीकरणमा सधै समस्या
जुम्ला– जुम्लाको अर्गानिक स्याउको बजारीकरणमा समस्या देखिएको छ । विगतका वर्ष जस्तै जुम्लाको स्याउले सहजै बजार पाउन सकेका छैनन् । यस वर्ष स्याउकै सिजनमा लामो समयसम्म कर्णाली राजमार्ग अवरुद्ध हुनु र राज्यले बजार सुनिश्चित नगर्दा जुम्ली किसान तथा व्यापारी मर्कामा परेका छन् । जुम्लाको स्याउ विशेषगरी तीजलाई मध्यनजर गरी निर्यात गरिन्छ । तर यसवर्ष जुम्लाको स्याउ तीजलाई लक्षित गर्न बाहिरी जिल्लामा पुग्न सकेन ।
जसका कारण केही समय ढिलो बजारमा पुगेको स्याउले उपयुक्त मूल्य पाउन नसकेको किसान बलबहादुर रोकाया बताउँछन् । उनी भन्छन्, ‘गत वर्ष गाडी स्याउ एकैचोटी बेचिन्थ्यो । अहिले किलो स्याउ बजार बजारमा लिएर बेच्नु पर्ने स्थिति छ । प्रतिकेजी ७०/८० रुपैयाँमा समेत बिक्री हुन मुस्किल छ । सडकको दुरावस्था उस्तै छ । नत सरकारले बजार सुनिश्चत गरेको छ । नत ढुवानीमा सहुलियत । किसानलाई सधै उत्पादनको बजारीकरणमा समस्या छ ।’
बलबहादुर रोकायाजस्तै जुम्लाका किसानले यस वर्ष स्याउको बजारीकरणमा समस्या देखिएको गुनासो पोखेका छन् । जुम्लाबाट यस वर्ष ४० करोड बराबरको स्याउ निर्यात हुने प्रक्षेपण गरिएको थियो । तर वर्षातका कारण लामो समय राजमार्ग अवरुद्ध भएर केही स्याउ कुहिनु र उपयुक्त मूल्य नपाउँदा अनुमान गरिएअनुसारको आर्थिक भित्रिने नभित्रिने एकिन छैन ।
कुल उत्पादन हुने १५ हजार मेट्रिकटन स्याउमध्ये १० हजार मेट्रिकटन निर्यात हुने र पाँच हजार मेट्रिकटन स्याउ जिल्लामै खपत हुने कृषि विकास कार्यालयको अनुमान छ । निर्यात भएको स्याउले बजार नपाएको गुनासोपछि जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्रबहादुर शाहीले संसद्मा स्वदेशी उत्पादनको बजारलाई सुनिश्चत गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले जुम्लाको स्याउले बजार नपाउने तर भारतबाट अर्बौंको विषादीयुक्त स्याउ आयात गर्ने भन्दै स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न माग गरे ।
उनले भने, ‘हरेक वर्ष भारतबाट ६ अर्ब बढीको विषादी मिलाइएको स्याउ आयात भइरहेको छ । नत नाका क्वारेन्टाइन जाँच भएको छ । त्यो स्याउले स्वास्थ्यमा प्रतिकूल असरसमेत पारिरहेको छ । विषादीयुक्त स्याउ सुपरमार्केटमा साढे तीन सय किलोमा बिक्री गर्ने ठूला व्यापारीले जुम्लाको स्याउ किन खरिद नगर्ने ?’ जुम्ली स्याउ ७० रुपैयाँ केजीमा समेत बिक्न गाह्रो भयो भन्दै किसान रोइरहेका छन् । कृषि मन्त्रालय र मन्त्रीले के हेरिहेका छन् ।
किसानको हितमा काम नगर्ने मन्त्रालय राखेर झण्डा हल्लाएर कुनै औचित्य नभएको सांसद शाहीले धारणा राखे । जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनसँंग जोडिएको स्याउको बजारीकरणमा सधै समस्या हुँदा किसानले श्रमअनुसारको अपेक्षित लाभ लिन सकेका छैनन् । यसैबीच विगत ६ वर्षको तथ्यांकलाई हेर्दा जुम्लामा चार लाख ५८ हजार मेट्रिकटन स्याउ उत्पादन भएकोमा तीन लाख ८० हजार मेट्रिकटन मात्रै निर्यात भएको छ भने ७८ मेट्रिकटन स्याउ घरमै थन्किएको हो ।
कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार २०७४ सालमा १८ सय मेट्रिकटन उत्पादन भएकोमा १५ मेट्रिकटन, २०७५ मा ३० मेट्रिकटन उत्पादन हुँदा २५ हजार मेट्रिकटन निर्यात भएको थियो । त्यस्तै, ०७६ सालमा ५० मेट्रिकटन उत्पादन भएकोमा ४० मेट्रिकटन स्याउमात्रै बजारमा गयो भने १० मेट्रिकटन स्याउ घरमै थन्कियो । केही खाए पनि, ठूलो मात्रमा खेर गयो । २०७७ सालमा एक सय मेट्रिकटन उत्पादन भए पनि ८० मेट्रिकटन मात्रै जुम्लाबाट निर्यात भएको थियो ।
२० मेट्रिकटन घरमै थन्कियो भने २०७८ सालमा ११० मेट्रिकटन स्याउ उत्पादन हुँदा ९० मेट्रिकटन र २०७९ सालमा १५० मेट्रिकटन उत्पादन भएकोमा १३० मेट्रिकटन स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । ६ वर्षमा स्याउ प्रतिकेजी ८० रुपैयाँदेखि २५० रुपैयाँ मूल्यसम्ममा बिक्री भएको कृषि विकासको तथ्यांकले देखाउँछ । ६ वर्षमा तीन लाख ८० हजार मेट्रिकटन स्याउ निर्यात हुँदा जुम्लामा कति आर्थिक भित्रियो भन्ने एकिन तथ्यांक कृषि विकास कार्यालयसँग छैन ।